मामाघर आएको छु । नुहाउन उति मन लागेको छैन । जाडो जो छ ।
‘आज त अवश्य नुहाउँछु’ भन्दै हिम्मत जुटाउँछु ।
बाथरूममा को गयो ? हेर्छु जेठा मामा ! जेठामामा निस्किएपछि गंजीकट्टु बोकेर उठ्छु । जेठामामाका हातमा साबुन पनि निस्किन्छ । बाथरूममा चियाउँछु– छैन साबुन ! बाहिर निस्किन्छु ।
‘साबुन ?’ भन्न सक्दिनँ । अलमल्ल पर्छु ।
यसै अलमलमा देख्छु– छिर्दै हुनुहुन्छ माइलामामा बाथरूममा । उहाँका हातमा साबुनकेस पनि छिर्दैछ ।
फेरि, माइलामामा निस्किनुहुन्छ । उहाँसित साबुन पनि निस्किन्छ ।
फेरि, अलमलमा पर्छु । भन्न सक्दिनँ– म नुहाउँछु, मलाई साबुन...?
फेरि, साइँलामामा, फेरि काइँलामामा र फेरि कान्छामामा । पालैपालो बाथरूममा ।
म नुहाउनलाई गंजीकट्टु बोकेर अलमल्ल ! अलपत्र !
मन खिन्न हुन्छ । धेरैदिन बस्दिनँ मामाघर ।
धेरैपछि, झण्डै १० वर्षपछि मामाघर फर्किन्छु ।
जेठामामा कराउनुहुन्छ– भाञ्जा, नुहाउने भए साबुन यहाँ छ, लिएर जाऊ !
माइलामामा त्यसैगरी बोल्नुहुन्छ– भाञ्जा, साबुन, सेम्पु केले नुहाउने, यहाँ छ है चिन्ता नगर ।
साइँलामामा भन्नुहुन्छ– भाञ्जा, धेरैपछि मामाघर आएका छौ, केही चाहिन्छ भने भन है । नुहाउनलाई त जाडोमा पियर्स राम्रो । मसित छ, लैजाऊ ।
काइँलामामा, कान्छामामा त्यसैगरी कराउनुहुन्छ– साबुन यहाँ छ, साबुन यहाँ छ...।
बस्दैजाँदा थाहा पाउँछु– उतिबेला सगोलमा बसेका मामाहरू अहिले सबै छुट्टिका छन्, बेग्लाबेग्लै छन...।