• ११ मंसिर २०८१, मङ्गलबार

आयुषको ह्याट्रिकमा घरेलु टोली सेमिफाइनलमा

blog

अविनाश चौधरी

धनगढी, चैत १४ गते। आयुष श्रेष्ठको ह्याट्रिक सहयोगमा आयोजक सुदूरपश्चिम-११ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।  

धनगढी रङ्गशालामा आज भएको क्वार्टर फाइनल खेलमा नेपाल पुलिस क्बललाई ४-० गोल अन्तरको लज्जास्पद हार चखाउँदै घरेलु टोली सेमिफाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमको रवाफिलो जितमा श्रेष्ठले ह्याट्रिक पूरा गर्नुभयो। उहाँले पहिलो हाफको ३० औं र दोस्रो हाफको ५१ औं, ६३ औं मिनेटमा गोल गर्नुभयो। उहाँ प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो। 

सुदूरपश्चिमले अग्रता भने स्वामी हार्दिकको गोलबाट लिएको थियो। उहाँले खेल सुरु भएको पाँच मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाउनु भएको थियो। खेलमा नेपाल पुलिसले थुप्रै अवसर पाए पनि गोल गर्न नसक्दा लज्जास्पद हार व्यहोर्‍यो। सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अब थ्रीस्टारको सामना गर्नेछ। 

चैत १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले २१ लाख  रुपियाँ र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।