• २९ मङ्सिर २०८२, सोमबार

गोलभेँडामा कलमीको बढी आकर्षण

blog

बाबुराम कार्की 

वराहक्षेत्र, मङ्सिर २९ गते । तरकारी उत्पादक किसानले तरकारीबालीमा कलमी प्रविधिबाट तयार गरिएका बेर्ना लगाउन थालेका छन् । तरकारी खेतीमा माटो, रोग र किराबाट नोक्सानी बेहोर्दै आएका तरकारी किसानले कलमी बिरुवा लगाउन थालेका हुन् ।  

पछिल्लो समय बढ्दै गएको माटोबाट सर्ने रोगका कारण उत्पादनमा कमी हुँदा किसानले भारतबाट कलमी गरिएको गोलभेँडाका बिरुवा ल्याएर रोप्न थालेका छन् । सुनसरीको श्रीलङ्का टापुका व्यावसायिक किसानले भारतबाट गोलभेँडाको कलमी बिरुवा ल्याएर खेती गर्दै आएका छन् । 

भारतबाट ३२ रुपियाँ प्रतिगोटा बैगुनको बिरुवामा (ग्राफ्टिङ) कलमी गरेको गोलभेँडाको बिरुवा ल्याएर एक बिघामा रोपेको टापुका कृषक अर्जुन चन्द्रवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतमा ग्राफ्टिङ प्रविधिको प्रयोग गरेर किसानले राम्रो आम्दानी लिइरहेका छन् । उत्पादन बढाउन रोग सहन सक्ने बिरुवा भएकाले कलमी बिरुवा भारतबाटै मगाएर रोप्दै आएका छौँ ।”  

कलमी प्रविधिबाट निकालिएको गोलभेँडाको बिरुवामा रोग सहन सक्ने र जराजन्य रोग नलाग्ने हुँदा बढी उत्पादन लिन सकिन्छ । फल दिने तरकारीमा एउटा जातको जार र अर्कोको डाँठ काटेर जोड्ने कलमी विधिबाट जराको भागमा भेन्टाको बिरुवा हुने र जराभन्दा माथिको भागमा गोलभेँडाको बिरुवा जोडेर तयार गरिने ग्राफ्टिङ प्रविधिले रोग सहन सक्ने र उत्पादन पनि बढी दिने हुँदा किसानको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । 

तरकारी बालीमा हुने अत्यधिक विषादीको प्रयोगले माटोको स्वास्थ्यमा असर पुगेर रोगको प्रकोप बढ्दै जादा बिरुवा मर्ने, उत्पादनमा कमी आउने जस्ता समस्या देखा पर्ने गरेको छ । कलमी प्रविधिले जरादेखि नै बिरुवालाई बलियो र रोग सहन सक्ने बनाउने हुँदा बाली राम्रो फस्टाउने र कलमी बिरुवाको जरा धेरै फैलिने हुँदा लामो समयसम्म उत्पादन दिने बताइन्छ । 

गोलभेँडा खेतीमा लाग्ने रोगकिराबाट जोगिन कलमी प्रविधिमा किसानको आकर्षण हुन थालेको टापुका अगुवा कृषक अनिल चन्द्रवंशी बताउनुहुन्छ । टापुका किसानलाई ग्राफ्टिङ प्रविधिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान नहँुदा भारतबाट कलमी बिरुवा ल्याएर टापुमा व्यावसायिक रूपमै किसानले गोलभेँडा खेती गर्दै आएका छन् । टापुमा बिजुली विस्तार भएसँगै पाँच वर्षदेखि सप्तकोशी नदी उकास क्षेत्रमा रहेका टापुवासीले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । 

नदी उकास क्षेत्रमा रहेको टापुमा बलौटे माटो भएकाले मल र सिँचाइको राम्रो प्रबन्ध मिलाउन सके गोलभेँडा खेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषक सत्य चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक कृषकले बढीमा पाँच बिघादेखि घटीमा १० कट्ठासम्म गोलभेँडा खेती गर्दै आएका छन् ।