• ११ मंसिर २०८१, मङ्गलबार

श्रद्धाञ्जली कृष्णाको कञ्चन कण्ठलाई

blog

सञ्चारकर्मी कृष्णा ताम्राकारलाई धेरैले सुरिलो, छन्द मिलेको, जादुमय, कर्णप्रिय र बेजोड स्वरकी धनी भने। उनको आवाज वा स्वरमा मिठास भएको भनी प्रशंसा गरे, कालजयी र बिर्सन नसकिने सशक्त आवाजको संज्ञा दिए। उनको आवाजलाई कसैले स्वर्णिम भने त कसैले आवाजको दुनियाँमा आफ्नो बोलीले एकछत्र राज गरेको जनाए। 

उनलाई थोरैले मात्र दुर्गानाथ शर्मा, प्रवीण गिरी र कमल प्रधानसँग तुलना गर्दै स्पष्ट वाचन, शुद्ध उच्चारण गर्ने, विशुद्ध स्वरकी धनी भने। उनी आफैँले पनि आफ्नो समयमा तीर्थ भण्डारीलगायतले मात्र शुद्ध उच्चारण गरेको बताएकी थिइन्। हो, नेवार समुदायकी भए पनि शुद्ध नेपालीमा समाचार भन्नु उनका लागि चुनौती थियो। बनेपाका ठाकुरदास र सानुनानी श्रेष्ठकी छोरी कृष्णा १० वर्षको उमेरसम्म नेपाली भाषा बुझ्दिनथिइन् र बोल्दैनथिइन् पनि।

भारतमा हिन्दी भाषा पढेकी उनी रेडियो नेपालमा मिठो र सशक्त आवाजमा शुद्ध नेपाली भाषाका समाचार वाचक बनिन्। उनको निधनपछि उनको आवाजको मात्र बढी प्रशंसा गरियो तर उनले अवलम्बन गरेको नेपाली भाषाको शुद्धताको प्रसङ्ग भने कमैले ल्याए। केही समयअघि आफ्नो सम्मानमा आयोजित कार्यक्रममा उनले भनेकी थिइन्, “मैले रेडियोमा शुद्ध पढेँ, एकदमै शुद्ध पढेँ, ह्रस्व–दीर्घ, श, ष, स लाई छुट्टाछुट्टै मिलाएर पढेँ। अहिलेका न्युजरिडरमा म त्यो हैसियत चाहिँ कसैको पनि देख्दिनँ।” 

नेपाली भाषाको महत्ताबारे चर्चा गर्दै रेडियोकर्मी ताम्राकारले नेपाली भाषा राम्ररी बोल्न सके त्यसको इज्जत बढ्नेमा जोड दिइन्। उनले रुँदै भनिन्, “मैले शुद्ध बोलेर इज्जत बढाएँ, मैले नेपालीको इज्जतचाहिँ राखेँ।” यति गर्वसाथ आफू शुद्ध वाचक भएको र आफूले नेपाली भाषाको सम्मान गरेको भनी बोल्न–लेख्न सक्ने पत्रकार अहिले नेपालमा को होला र ? बरु उनलाई रेडियो नेपालमा अवकाशपछि पनि नयाँ पुस्तालाई सिकाउन बोलाइयो तर कसैले सिक्न खोजेजस्तो नलागेको उनको अनुभव रह्यो। 

“त्यहाँ कसैले एक शब्द सिकेजस्तो लागेन, बरु मलाई पो सिकाउलान् जस्तो गरे। ... राम्रो समाचार पढ्नेमध्ये एक–दुई टीभीमा भेटेकी छु। ह्रस्व–दीर्घको त कुरै छाडौँ। कीर्तिपुर भन्नुपर्ने तर कीरतिपुर भन्ने बढी छन्। नीति र नितिको त फरक अर्थ लाग्छ नि ?” (स्वरकी खानी कृष्णा ताम्राकार, उहिलेको पत्रकारिता (अनुभवको सँगालो), (आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेश, नेपाल, २०७९ असार) भाषा विज्ञान भएकाले त्यसको सूत्रअनुसार चल्नुपर्ने उनी बताउँथिन्।

‘बाह्रखरी डटकम’लाई दिएको अन्तर्वार्तामा ताम्राकारले तत्कालीन समाचार प्रमुख भोग्यप्रसाद शाहको सम्पादन कलाको खुलेर प्रशंसा गरेकी छन्। शाहले लेखेको समाचार वा रेडियो स्क्रिप्टमा एउटा दफा वा अनुच्छेदमा एक शब्द पनि नदोहोरिने गरेकोमा ताम्राकार आश्चर्य नै मान्थिन्। उनी भन्थिन्, “ही इज रियल्ली गुड। मैले मेरो जीवनकालमा उहाँजस्तो राम्रो समाचार र रेडियो स्क्रिप्ट लेख्ने पत्रकार आजसम्म देखेकी छैन।” 

एक जना समाचार वाचकले दुर्घटनाको लाइभ गर्दा ‘यो उत्सवमा’ भन्ने शब्दावली प्रयोग गरेका थिए। पछि बुझ्दा उनलाई उत्सव शब्दको अर्थ नै थाहा नभएको टेलिभिजनकर्मी निमा काफ्ले बताउँछिन्। उनले भनिन्, “त्यो त दुर्घटना थियो। दुर्घटना उत्सव त हैन नि! यो शब्दको ज्ञानको अभावको परिणाम थियो।” 

साञ्चारिक नेपाली भाषाको लेख्य र कथ्य शुद्धाशुद्धीबारे धेरै व्याकरणविद् र भाषाशास्त्रीले धेरै लेखिसकेका छन्, बोलिसकेका छन्। नेपाली भाषाको शुद्धतामा निकै संवेदनशील तीनमध्येका पत्रकार केदार शर्मा शब्द सम्पादनमा नेपाली मिडिया चुकेको बताउँछन्। छानिएका सामग्रीको सम्पादनमा निकै कमजोरी देखिने जनाउँदै उनी प्रवाहमा कमजोरी, पुनरुक्ति, खुकुलोपना, शब्दहरूको अनुपयुक्त र गलत (कहिलेकाहीँ) प्रयोग जताततै भेटिने गरेकामा असन्तुष्टि पोख्छन्। उनी भन्छन्, “पत्रकारको समग्र लेखनमा पनि ठूलो कमजोरी देखिन्छ। लाग्छ, भाषिक क्षमता बढाउनुपर्छ भन्नेबारेमा सम्पादक र रिपोर्टरबीच कुरै हुँदैन। 

पत्रिकाको भाषिक नीतिका बारेमा वा कुन शब्द कसरी लेख्नेजस्ता विषयमा न्युज रूममा छलफलै हुँदैन। (नेपाल) प्रज्ञा प्रतिष्ठानको बलमिचाइँको प्रतिकारस्वरूप २०६९ सालमा भएको ‘ललितपुर घोषणापत्र’मा हस्ताक्षर गर्ने सम्पादकहरूकै पत्रिकामा सहिद वा सहर लेखिनु भनेको ठट्टाको कुरा होइन। कमसे कम सम्पादकहरूले त आफ्नो हस्ताक्षरको मर्यादा गर्नुपर्छ।” भाषामा हेल्चेक्य्राइँ गरेको देख्दा पाठकका रूपमा आफ्नोसमेत अपमान गरेजस्तो लाग्ने शर्मा अनुभूति गर्छन्। 

प्रायः हामी जस्तो उच्चारण गर्छाैं वा बोल्छौँ, त्यसरी नै लेख्छौँ पनि। यसैले मौखिक भाषामा अशुद्धि आएमा लिखित भाषामा पनि त्यो दोष आउँछ। शब्दका हिज्जेको अशुद्धताबाट नै हाम्रो उच्चारण अशुद्ध हुन्छ। यसैले शुद्ध उच्चारणको ठूलो महत्व छ, जसले भाषाको स्वरूप निखार ल्याउँछ। 

भाषा अझ नेपाली भाषाको लिखित र मौखिक प्रयोगमा शुद्धताको कुरा गर्नेहरू अहिले अल्पमतमा परिसकेका छन्। मुख्य भाव वा मूल कुरो प्रचारप्रसार गर्ने नाममा त्यस्ता व्यक्तिले शुद्धतालाई तिलाञ्जली दिएर आफू त बिग्रिन्छन् नै, आगामी पुस्तालाई पनि बिगार्छन्। पछिल्लो पुस्ताले सिक्ने त अघिल्लाबाट नै हो। 

शुद्ध उच्चारणका अभावमा मौखिक भाषा अस्वाभाविक एवं प्रभावहीन हुन्छ। भाषाका कुरा ल्याउँदा कसैले सुनेनन् भन्दैमा पण्डित वा समझदारहरूले आफ्नो कर्तव्य त बिर्सन मिल्दैन। ताम्राकारलाई सच्चा श्रद्धाञ्जली दिने हो भने मौखिक होस् वा लिखित रूप– नेपाली भाषाबारे व्यापक बहस गरेर मुलुकभर मानक नेपाली भाषाको प्रयोग गर्नका लागि अभियान नै चलाउन अब ढिला गरिनुहुन्न। 

लेखक राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक हुनुहुन्छ।