• १२ वैशाख २०८१, बुधबार

घामसँग शरीरको सामीप्य

blog

जीवनपानी 

पञ्चतत्त्वद्वारा निर्मित एक विचित्रको सजीव यौगिक हो– मानव शरीर । यो निकै रहस्यमय रसायनहरूको महाभण्डार र ईश्वरको प्रयोगशाला हो, नित्य नैसर्गिक जीवन प्रक्रियाहरूको निष्काम कर्मथलो हो, महाब्रह्माण्डको सारांश हो । अनि जीवतìवलाई आफ्नो सङ्गीतमय अभिव्यक्तिका लागि सारङ्गी हो । ईश्वरको यो महान् आविष्कारलाई जतन गर्नु र योमार्फत जीवनको यथार्थता जान्नु मानवको कर्तव्यसहितको उद्देश्य हो । शरीरको ख्याल गर्नु स्वधर्म हो । स्वधर्म शरीरलाई सत्यसँग परिचय गराउने सत्गुरु हो । अर्थात् शरीररूपी रथलाई सही मार्गमा हिँडाउने रथी हो ।

इन्द्रिय कर्म र मनको नियन्त्रक हो । अर्थात् बुद्धि र विवेक हो । यसर्थ स्वस्थ शरीरका लागि जानेर कर्म गर्नु हाम्रो कर्तव्य हो । यस्तो कर्तव्य गर्नु महायज्ञ बराबरको धर्म हो । अतः यसका लागि शरीरलाई चाहिने पौष्टिक तत्त्वका विषयमा हामीलाई ज्ञान हुनु र तदनुसार व्यवहारमा कार्यान्वयन गर्नु जरुरी छ । भिटामिन–डी शरीरका लागि यस्तै एक अत्यावश्यक पौष्टिक तìव हो । यसको महìवका विषयमा विज्ञानले बताउनुभन्दा धेरै पहिले नै हाम्रो वैदिक विज्ञानले बताइसकेको छ । यो लेख यही विषयमा केन्द्रित हुनेछ ।

सर्वप्रथम रोगमा सूक्ष्म कीटाणुको भूमिका पत्ता लगाउने वैज्ञानिक हुन्– लुई पाश्चर । त्यसपछि नै हो, वैज्ञानिकमा कीटाणुका कारण रोग लाग्छ भन्ने विश्वासको विकास भएको । बेरीबेरी रोगका कारण भारतमा सन् १८९० को सुरुतिर मानिसमा र सन् १८९६ मा कुखुराका चल्लामा महामारी फैलियो तर वैज्ञानिकले यो रोगको कारण पत्ता लगाउने क्रममा बेरीबेरी कुनै कीटाणुका कारण नभएर खानामा पौष्टिक तìवको अभाव हुनाले भएको प्रमाण फेला पारे ।

यस विषयको आविष्कार गर्ने श्रेय डच वैज्ञानिक क्रिश्चियन इजम्यान र अमेरिकी वैज्ञानिक फ्रेडरिक हप्किन्सलाई जान्छ । यो उनीहरूले आजभन्दा ११५ वर्षअघि सन् १९०६ मा पत्ता लगाएका थिए । यसरी शरीरका लागि खानामा पौष्टिक तìव अत्यावश्यक भएको तथ्य चाल पाइन्छ । वैज्ञानिक भन्छन्– पौष्टिक तìव ठूलो बैङ्कमा बचत गरेको सम्पत्तिजस्तै हो, यसले ब्याजका रूपमा राम्रो स्वास्थ्य बनाउँछ । यसैले असल खानाको छनोट गर्नु भनेको शरीरको स्वास्थ्य र दीर्घायुका लागि उत्तम लगानी हो । स्वधर्म भनेकै यही हो । 

असल खानामा शरीरको वृद्धि, विकास र सम्पूर्ण जीवन प्रक्रिया सञ्चालनका लागि आवश्यक पौष्टिक तìव प्रशस्त मात्रामा पाइन्छ, जसलाई भिटामिन भनिन्छ । भिटामिनमा रहेको पौष्टिक तत्वको नाम हो– एमिनो एसिड । यसैलाई वैज्ञानिकले जीवनका लागि नभई नहुने तत्व भनेका छन् ।

अब बुझौँ, वैज्ञानिकले यो पौष्टिक तत्वको नाम किन भिटामिन राखे त भन्ने विषयमा । ल्याटिन शब्दमा यस्तो अर्थ दिने तत्वलाई भाइटल एमाइन्स् भनिन्छ । यिनै दुइटा शब्दलाई मिलाएर वैज्ञानिकले यो तत्वलाई भिटामाइन्स्को नाम दिए तर सबै भिटामिनमा एमिनो एसिड नहुने भएकाले कासिमिर फङ्कले यसको नाम भिटामिन मात्र राखे । भिटामिन शब्द भिटा र एमाइन दुई ल्याटिन शब्द मिलेर बनेको हो, जहाँ भिटाको अर्थ हो– जीवन र एमाइनको अर्थ हो– शरीरमा पाइने एक महत्वपूर्ण यौगिक । यिनीहरूका धेरै प्रकार हुन्छन् । तिनीहरूमध्ये एक महत्वपूर्ण भिटामिन हो– भिटामिन–डी, जसमा एमिनो एसिड हुँदैन । यो भिटामिनको रासायनिक नाम क्याल्सिफेरोल हो ।

भिटामिन–डी मानिसको शरीरका लागि एक अनौठो र अत्यावश्यक पौष्टिक तìव हो । बोसोसँग घुलनशील यस तìवले मानिसको मेटाबोलिज्म अर्थात् शरीरलाई शक्ति दिने रासायनिक प्रक्रिया (अन्तर्दहन)मा प्रवेश गरेपछि क्याल्सियम र फस्फेटजस्ता तìवलाई शोषण गरी हड्डी, दाँत र मांसपेशीलाई खनिजयुक्त बनाउन सहयोग गर्छ । यसको कमी भयो भने शरीरले कम क्याल्सियम शोषण गर्छ । शरीरमा हड्डीहरू क्याल्सियमका स्रोत हुन् । यदि शरीरमा क्याल्सियम कम भयो भने तिनै हड्डीहरूबाट क्याल्सियम रगतमा आउन थाल्छ । फलतः शरीरका हड्डीहरू कमजोर हुन थाल्छन् ।

यसरी क्याल्सियम र हड्डीसँगको परस्पर सम्बन्धमा रहेको यो भिटामिन शरीरका अधिकांश अङ्गका लागि पनि अति महìवपूर्ण भएको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । यसको अभावमा शरीरमा अनेकौँ शारीरिक समस्या देखा पर्न सक्छन् । यसलाई एक सय वर्षअघि सन् १९२२ मा एडवर्ड मेलानबीले पत्ता लगाएका हुन् तर हाम्रो ज्ञान–विज्ञानका सर्जक महान् ऋषिमुनिहरूले वेदमार्फत यस भिटामिनको महìवलाई हजारौँ वर्ष पहिल्यै भरपूर प्रयोगमा ल्याइसकेका थिए र आफ्ना शिष्यलाई पनि यसको फाइदा लिन लगाएर उनीहरूलाई निरोगी बन्न सिकाइसकेका थिए । यो गुरुशिष्य परम्परा आज पनि हिन्दु सभ्यतामा प्रचलनमा रहिआएको छ । 

भिटामिन–डीलाई वैज्ञानिकले अचेल ‘सनसाइन भिटामिन’ पनि भन्न थालेका छन् । किनकि उनीहरूले यो भिटामिनको मुख्य स्रोत सन् १९२२ देखियता सूर्यलाई मान्न थालेका छन् । अतः उनीहरूले ठट्यौलो पारामा भन्ने गरेका केही उदाहरण हेरौँ–

  घाममा नबसेर किन शीतलमा ?

 घामसँग नलजाऊ, कपडा खोलेर बस !

 शरीरले भिटामिन डीलाई खोज्दै छ ।

 भित्र नखोज छैन, बाहिर घाममा जाऊ । 

वैज्ञानिकहरू सूर्यको महìव बल्ल बुझ्दै छन् । यो कुरा हाम्रो हिन्दु संस्कृतिमा प्राचीनकालमै जानकारीमा थियोे । यही जानकारीका कारण हिन्दु संस्कृतिमा सूर्यलाई सूर्यदेवका रूपमा पूजा गर्ने, अघ्र्य दिने आदि गरिन्छ ।

आउनुस् अब एकैछिन सनातन संस्कृतिको प्राचीनतम् ग्रन्थ ऋग्वेदका पाना पल्टाऊँ र हेरौँ– सुक्त–१२५ को पहिलो श्लोक । यस श्लोकमा भिटामिन–डीको सूर्यसँगको निकटतम सम्बन्ध यसरी बताइएको छ– 

प्राता रत्नं प्रातरित्वा दधाति तं चिकित्वान्प्रतिगृह्या नि घत्ते ।

तेन प्रजां वर्धयमान आयू रायस्पोषेण सचेत सुवीरः ।।

अर्थात् प्रातःकालीन सूर्यदेवले मनुष्यलगायत आफ्ना सन्तानलाई रत्न अर्थात् स्वस्थवर्धक पोषणतìव प्रदान गर्छन् र उनीहरूलाई जागृत र सहासी बनाउँछन् । सचेत मनुष्य यस तìवसँग परिचित हुन्छन्, यसर्थ उनीहरू सूर्योदय हुनुअघि नै उठेर सूर्यका किरणबाट आउने ती प्राणतìवलाई ग्रहण गरेर सन्तान सुख र दीर्घायुसहित धनसम्पत्ति र स्वस्थ जीवन प्राप्त गर्दछन् ।

यहाँ भनिएको रत्नको आलङ्कारिक अर्थले त्यही भिटामिन–डी अर्थात् प्राणतìवलाई बुझाउँछ । यो पौष्टिक तìवको अभावमा यस्ता समस्या देखिन सक्छ–

 बालबालिकाका हातखुट्टा बाङ्गिने समस्या (रिकेट्स) हुन सक्छ ।

 विभिन्न किसिमका सङ्क्रामक रोग लाग्न सक्छ ।

 गर्भवती महिलामा यसको कमीले गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

  गम्भीर प्रकृतिका हड्डीसम्बन्धी रोगहरू जस्तै– अस्टिओमलेसिया र अस्टिओपरोसिस लाग्न सक्छ ।

 मुटु र रक्तनलीसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मधुमेह, निश्चित प्रकारको क्यान्सर र सङ्क्रामक रोगको जोखिम बढाउँछ । 

यस्ता समस्याबाट बच्न र बचाउन चिकित्सकले निःशुल्क रूपमा सूर्योदयदेखि सूर्यास्तसम्म पाइने घाममा दिनमा कम्तीमा १५÷२० मिनेट बस्ने सल्लाह दिन्छन् । यसर्थ हिन्दु संस्कृतिमा नवजात शिशु र शिशुकी आमालाई घाममा राखेर तोरीको तेलले मालिस गर्ने परम्परा रहेको मान्न सकिन्छ । यसको मुख्य उद्देश्य नै शिशु र शिशुकी आमाको शरीरमा भिटामिन–डी उत्पादन गराएर उनीहरूलाई स्वस्थ राख्नु थियो । डा. विलियम डेभिसले भिटामिन–डीलाई भिटामिन नभएर हर्मोन भनेका छन् । जब सूर्यको किरणले शरीरको छालामा छुन्छ, तब यसले भिटामिन–डीलाई हर्मोन डी थ्रीमा बदल्छ र शरीरलाई स्वस्थ बनाइराख्न सकरात्मक भूमिका निर्वाह गर्छ ।

यो भिटामिन सूर्यको किरणबाहेक माछाको कलेजो, दूध, सुन्तलाको रस, अण्डाको पहेँलो भाग, च्याउ, दही, बदाम इत्यादि खानाबाट पनि प्राप्त गर्न सकिन्छ । हरितकणविहीन च्याउ यस्तो वनस्पति हो, जसले सूर्यको किरणको उपस्थितिमा मानिसको शरीरले जस्तै आफैँ भिटामिन–डी बनाउँछ । अतः च्याउ खाँदा हाम्रो शरीरले भिटामिन–डी प्राप्त गर्छ । जङ्गली च्याउ सूर्यसँग बढी सम्पर्कमा रहने हुँदा यसमा भिटामिन–डीको मात्रा अत्यधिक हुन्छ । त्यसैले यो च्याउ खाँदा शरीरमा रगतको गति तीव्र हुन्छ र हृदयाघात अथवा मस्तिष्कघातका कारण पनि बन्न सक्छ । कसैकसैको ज्यानै पनि जाने जोखिम हुन्छ ।   

संस्कृतमा आइतबारलाई रविबार वा भानुबार पनि भनिन्छ । रवि र भानु सूर्यका पर्यायवाची शब्द हुन् । यसर्थ आइतबारलाई भगवान् सूर्यको दिन भनेर भनिन्छ । यसैले हिन्दु संस्कृतिमा आइतबार सूर्यलाई पूजा गर्ने चलनको पछाडि पनि हाम्रो शरीरमा भिटामिन–डी आपूर्तिका लागि नै हो ।

यस दिन सूर्यको व्रत बस्नेहरूले पूरै दिन शरीरमा रातो वस्त्र पहिरिएर घिउ, तेल र नुन नखाई ‘ॐ सूर्याय नमः’ मन्त्र जप गर्दै सूर्यलाई अघ्र्य दिन्छन् । त्यसो त हिन्दु संस्कृतिमा ‘सूर्य नमस्कार’को प्रचलन पनि वैदिककालदेखि नै चल्दै आएको छ । यस विधिमा उदाउँदो सूर्यलाई उतैतिर फर्किएर तामाको अम्खोराबाट हरेक दिन नै जल चढाएर नमस्कार गरिन्छ । ऋग्वेदका अनुसार भिटामिन–डी निर्माणका लागि बिहानीको घाम सबैभन्दा उत्तम मानिन्छ । विज्ञानको अनुसन्धानले पनि भिटामिन–डीका लागि सकेसम्म बिहानीको घामलाई प्रयोगमा ल्याउन सल्लाह दिन्छ ।

सूर्य आराधनाको वैदिक तथा पौराणिक आकर्षणको अर्को पर्व हो– छठ; जुन नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मानिसले अस्ताउँदो र उदाउँदो सूर्यलाई निम्न १२ मन्त्रोच्चारण गर्दै अघ्र्य दिएर धुमधामसँग मनाउँछन् –

ॐ सूर्यनारायणाय नमः

ॐ भास्कराय नमः

ॐ रवये नमः  

ॐ मित्राय नमः 

ॐ भानवे नमः  

ॐ खगाय नमः 

ॐ मरिचचाय नमः

ॐ आदित्याय नमः

ॐ सावित्रे नमः

ॐ आर्काय नमः

ॐ हिरण्यगर्भाय नमः

ॐ पुष्णे नमः

यो पर्वको उद्देश्य पनि सूर्यका किरणमार्फत हाम्रो शरीरमा भिटामिन–डी प्रशस्त उपलब्ध गराउनु हो । शरीरलाई स्वस्थ, दीर्घायु र समृद्ध तुल्याउनुका साथै सौर्यशक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाका लागि सकेसम्म बढीभन्दा बढी प्रयोगमा ल्याउनु हो ।सूर्य र शरीरको निकटतम सम्बन्धलाई बुझेका थिए, हाम्रा ऋषि महर्षिले । अतः उनीहरूले सूर्यसँगका धेरै अवधारणालाई धार्मिक विधिअनुसार वेद, उपनिषद्, पुराणहरूमार्फत हिन्दु संस्कृतिमा भिœयाएका छन् । हिन्दु संस्कृतिमा अनेकौँ लाभदायक कुरा दूधमा घिउसरि लुकेर रहेका छन्, जसलाई विज्ञानले भर्खरै ‘क’बाट बुझ्दै छ । बिस्तारै प्रयोग र अनुसन्धानबाट पत्ता लगाउँदै छ ।

अचेल चिकित्सा विज्ञानले शरीरका विभिन्न रोगलाई सूर्यका किरणमार्फत उपचार गर्न सुरु गरेको छ । यस विधिलाई उनीहरूले ‘हेलियोथेरापी’को नाम दिएका छन् । विगत केही दशकयता यो भिटामिनको अभावले अस्थिपञ्जर प्रणालीबाहेक अन्यत्र पनि महत्वपूर्ण काम गर्दछ भन्ने जानकारी वैज्ञानिकहरूको अध्ययनबाट थाहा हुन आएको छ । अन्तमा वैदिक संस्कृति र सभ्यता एउटा निश्चित समुदायका लागि मात्र नभएर सम्पूर्ण जगत्का लागि हो । यसको ज्ञान र प्रयोगले सारा जगत्को कल्याण गर्नेछ । यो ज्ञान, विज्ञान, अध्यात्म, दर्शन, चिकित्सालगायतका अनेकौँ महìवपूर्ण तìवहरूको विशाल भण्डार हो ।