• १० मंसिर २०८१, सोमबार

कहिल्यै निभ्दैन ‘परालको आगो’

blog

कमल सुवेदी

सङ्गीतकार तथा गायिका शान्ति ठटालले दार्जिलिङ टक्सका संवाददातासित भन्नु भएको  थियो, ‘प्रताप सुब्बाको सान्निध्य नपाएको भए मलाई यो स्थान प्राप्त हुँदैनथ्यो ।’ हुन पनि हो शान्ति दिदीलाई उहाँले नै सर्वप्रथम नेपाली मौलिक सिनेमा ‘परालको आगो’मा सङ्गीतकारको दर्जा दिनु भएको थियो, जसका कारण शान्ति ठटालको आज पृथक् परिचय छ । ‘उडी जाऊँ भने म पन्छी होइन. ..’ जस्तो कालजयी गीत जन्माइन् शान्ति दिदीले । तर यसमा प्रताप सुब्बाको गतिलो साथ छ । उहाँको गत चैत २ गते निधन भयो । उहाँ नेपाली सिनेमाका रोलमोडेल निर्देशक हुनुहुन्छ । उहाँको जन्म दार्जिलिङको सुकियापोखरीमा भएको थियो ।

भारतमा रवीन्द्र सङ्गीतको बोलाबाला रहेको बेला थियो त्यो । साहित्य र कलाका क्षेत्रमा नौला नौला प्रयोगहरू त्यहाँ हुन्थे । सिनेमाका क्षेत्रमा सत्यजित रे, मृणाल सेन, ऋत्विक घटक आदिको उपस्थितिले आकाङ्क्षीहरूको ध्यान तानिरहेका थियो । यही बेला प्रताप सुब्बाले गुरुप्रसाद मैनालीको अमरकृति ‘परालको आगो’लाई सिनेमाकरण गरी कालिम्पोङबाट मौलिक सिनेमाको सिर्जना गर्नुभयो । हुन त यसअघि नै डी.बी. परियारको सत्प्रयासमा नेपाली सिनेमा ‘हरिश्चन्द्र’ बनिसकेको थियो । तर पूर्ण मौलिकताको हिसाबले आज पनि अत्यन्त श्रद्धाका साथ नाम लिइने ‘परालको आगो’का स्रष्टा सुब्बा सत्यजित रेको शैलीबाट प्रभावित हुनुहुन्थ्यो, जसले साहित्य र कलाका हरेक विधामा यथार्थताको पक्षपोषण गर्दथ्यो ।

‘परालको आगो’का नायक टङ्क शर्मा र नायिका बसुन्धरा भुसालले यस चलचित्रमा निःशुल्क काम गर्नुभएको थियो । विभिन्न सिनेमामा सानोतिनो भूमिकामा मात्र काम गरिरहनु भएकी वसुन्धराको क्षमताको ख्याल सुब्बाले पहिले नै गरिसक्नु भएको थियो । वसुन्धराको अभिनय आमा सिनेमामा सुब्बाले हेरिसक्नु भएको थियो । कालिम्पोङको पुदुङ बस्तीमा छायाङ्कन हुँदा क्यामरा अगाडि अभिनय गर्नु त परै जाओस् फोटो पनि खिचाउनु भएको थिएन टङ्क शर्माले । यस्तो अवस्थामा सुब्बाले टङ्कलाई खारेर अभिनयको रस निकाल्नु भएको थिए ।


‘परालको आगो’ सिनेमापछि ‘सपना कतिपय’, ‘बाँच्न चाहनेहरू’, ‘मसाल’, ‘चट्याङ’, ‘दिदी’, ‘भीष्मप्रतिज्ञा’ आदि सिनेमा बनाउनु भयो । तर पछिल्ला सिनेमामा भने उहाँ जम्न सक्नु भएन । ‘रातको प्रथम प्रहर’ जस्ता नाटकले भने उहाँ नाट्यप्रेमीहरू माझ भने परिचित बन्न पुग्नु भयो । नगेन्द्र थापाले गोपाल योञ्जनलाई नारायण गोपालसित मित लगाइदिएपछि जसरी नेपाली सुगम सङ्गीतले फड्को मा¥यो, त्यसैगरी प्रताप सुब्बाले दिव्य खालिङलाई नारायण गोपालको मित्र बनाइदिनु भयो । यस अर्थमा नेपाली सङ्गीतको इतिहासमा दोस्रो इनिङमा नारायण गोपाललाई स्रोतामा परिचित गराउन प्रताप सुब्बाको ठूलो योगदान रह्यो । ‘रातको प्रथम प्रहर’को नाट्यटोलीसँगै दिव्य नेपाल आउनु भएको थियो ।       

सन् १९६९ तिरको कुरा हो, नीर शाह ‘परिवर्तन’ सिनेमामार्फत सिनेयात्रामा लाग्नु भयो ।  यो सिनेमा प्रताप सुब्बाले पनि हेर्नु भएको रहेछ । यसै क्रममा बङ्गाली निर्माता रतनलाल मोथेमार्फत प्रताप सुब्बासित शाहको परिचय हुन पुग्यो । प्रताप आफ्नो वृत्तचित्र ‘पन्नीब्वाई’ अर्थात् सइस केटो निर्माण गर्ने योजनामा हुनुहुन्थ्यो । दार्जिलिङको चौरस्तादेखि अन्य ठाउँहरूमा पर्यटकलाई घोडामा चढाइ दृश्यावलोकन गराउने पेशा लिएको एउटा घोडचढी केटाको जीवनचर्यामाथि बनाएको यो वृत्तचित्रको पन्नीब्वाईमा नीर शाहले खेल्नु पाउनु भयो । यस अर्थमा नीर शाह प्रताप सुब्बालाई ‘गडफादर’ नै मान्नु हुन्छ । सिनेमाको प्रविधिबारे सुब्बाले शाहलाई धेरै कुरा सिकाउनु भएको सम्झँदा शाह आज पनि भावुक बन्नु हुन्छ । शाह आफ्नो पढाइ सकेपछि नेपाल आउनु भयो तर सुब्बा उतै रहनु भयो । जब चालिसको दशकमा सुब्बा नेपाल आउनु भयो शाहले उहाँको सिनेमा ‘भीष्म प्रतिज्ञा’मा काम गर्नु भयो । सुब्बाकै अर्काे सिनेमा ‘दिदी’मा पनि काम गर्न चाहनु हुन्थ्यो शाह तर आफू विदेश जानु परेकाले सहभागी हुन नसकेकामा आज पनि थक्थकाउनु हुन्छ । ‘परालको आगो’बाट नै प्रभावित भएर शाहले वासुदेव बनाउनु भएको हो ।

आफ्ना भारतीय सेनामा कार्यरत बाबुबाट भने सुब्बाले कलाको क्षेत्रमा लाग्न प्रोत्साहन नपाएकै हो । सुरुमा गीत गाउन मन पराउनु हुन्थ्यो सुब्बा । छोराले गीत गाएको सुनेर बाबु उहाँलाई गीताङ्गे भन्नु हुन्थ्यो भने नाटकमा लाग्दा नौटङ्की । तर समय सधैँ सिधारेखामा हिँड्दैन भनेझैँ दार्जिलिङको सरकारी कलेजमा अध्ययनको क्रममा पुगेपछि उहाँको सान्निध्य साहित्यकार र कलाकारसित हुन पुग्यो । उहाँ नाटकसित जोडिनु भयो र क्रमशः सिनेकर्ममा लाग्नु भयो । ‘पन्नीब्वाई’ बनाउने विचार आएपछि उहाँ आफ्नी आमासित नौ सय रुपियाँ लिएर कलकत्ता गएको सम्झना गर्दा पछिसम्म पनि भावुक बन्नु हुन्थ्यो ।    

‘रातको प्रथम प्रहर’ काठमाडौँमा मञ्चन हुँदा नीर शाहले एकमुष्ट १० वटा टिकट किनेर लग्नु भएको र यो टिकटमा तत्कालीन नेपालका राजारानीसहित राजपरिवार नाटक हेर्न आएको क्षणलाई जीवनको अन्तसम्म पनि उहाँ रोमाञ्चक क्षण मान्नु हुन्थ्यो । पश्चिम बङ्गाल सरकारको पर्यटन विभागबाट आर्थिक सहयोग लिएर पनि ‘पन्नीब्वाई’ बनाउन उहाँलाई एक वर्ष लागेको थियो । यसपछि ‘देउरालीको माया’ वृत्तचित्र बनाउनु भएपछि उहाँ कथानक चलचित्र ‘परालको आगो’ बनाउनु भएको हो । बङ्गाली छायाकार सुनील चक्रवर्तीको हुट्हुटीमा हातमा पन्ध्र हजार लिएर यो चलचित्र उहाँले बनाउनु भएको हो । पछि पश्चिम बङ्गाल सरकारबाट डेढ लाख रुपियाँ अनुदान लिएर उहाँले त्यसको बिट मार्नु भएको थियो ।

नेपाली माटो र नेपाली संस्कृतिप्रति हुरुक्क हुने स्वभावले उहाँलाई ‘परालको आगो’ बनाउने जाँगर चल्यो । हुन पनि हो उहाँले स्कुलको पाठ्यक्रममा ‘परालको आगो’ कथा पढिसक्नु भएको थियो । उहाँले सिक्किमबाट ‘मसाल’ बनाउनु भयो, जो त्यहाँको पहिलो नेपाली सिनेमा थियो । यसै सिनेमामार्फत डेनी डेन्जोक्पा र सुनील थापालाई उहाँले नेपाली सिनेमामा भित्र्याउनु भएको हो । यति मात्र होइन उदितनारायण झालाई नेपाली सिनेमाको गायनमा भित्र्याउने पनि उहाँ नै हुनुहुन्छ । ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ सिनेमा  दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनको कोपभाजनमा प¥यो । ज्योति बसुको सरकारबाट अनुदान लिएको निहुँमा उहाँको सिनेमालाई गोर्खाल्यान्ड आन्दोलनका कार्यकर्ताहरूले चल्न दिएनन् । यस्तो दुर्दान्त क्षण पनि प्रताप सुब्बाले भोग्नु प¥यो । यस्ता थुप्रै मन कुँडिने कर्म भोग्नु परेपछि उहाँ दार्जिलिङ छोडेर काठमाडौँ प्रवेश गर्नु भयो र  नीर शाहमार्फत टेलिसिनेमा निर्माणमा जोडिन पुग्नु भयो ।

लागूऔषधी प्रयोगकर्ताहरूको कथामा अधारित ‘बन्द पर्दाभित्र’ सिनेमा भिडियो प्रविधिमा बनाएपछि उहाँले आफ्नै कथामा ‘चट्याङ’ सिनेमा बनाउनु भयो । निर्मातालाई सिनेकर्मीहरूले मुर्गा बनाउँछन् भनिन्छ तर यस विपरीत सुब्बा निर्मातालाई बीउ छर्ने कर्मी मान्नु हुन्थ्यो, जसका कारण नै सिनेमा बन्दछ । यसैले उहाँले जति निर्मातासित काम गर्नु भयो तिनलाई उहाँले आर्थिक रूपमा जोगाउन मद्दत गर्नु भयो । यस मानेमा पनि उहाँ अन्य निर्देशकभन्दा फरक हुनुहुन्छ । झण्डै आधा दशकदेखि विभिन्न रोगले थलिनु भएका सुब्बा सिनेमाप्रति चासो राख्न कहिल्यै छाड्नु भएन । आफ्नै निर्देशनमा बनेको सिनेमा ‘बाँच्न चाहनेहरू’मा अभिनेत्री रहनु भएकी पुण्यप्रभादेवी लोहारसित वैवाहिक बन्धनमा बाँधिनु भएका प्रताप सुब्बा भारतको सिलिगुडीमा आफ्ना उत्तरार्धका दिनहरू बिताउनु भयो । हुरुर्र बलेर झ्याप्पै निभ्ने प्रतीकका रुपमा चिनिन्छ परालको आगोलाई तर सुब्बाको परालको आगो जुग जुग निभ्ने छैन ।