• ११ मंसिर २०८१, मङ्गलबार

सिर्जनशील नागरिक बनाउने शिक्षा

blog

अहिले कक्षा १० का विद्यार्थी बिहानदेखि बेलुकीसम्म भ्याइ नभ्याइ कक्षा लिइरहेका छन् । कतै भने स्कुलले एसईईको तयारीमा रहेका विद्यार्थीलाई बिदा पनि दिइसकेको छ । विद्यार्थी मात्रै होइन, विद्यार्थीसँगै अभिभावक, शिक्षक, स्कुल व्यवस्थापन पक्षसमेत अति नै व्यस्त देखिन्छन् । पढ्नका लागि भन्दै बिहान ६ बजे स्कुल पुगिसक्ने विद्यार्थीका लागि बिहानको खाजा अनि त्यसपछिको खानाको व्यवस्था गर्न स्कुल नजिक, टाढा बस्ने सबै अभिभावकले पनि त्यति नै सङ्घर्ष गर्नु परेको छ वर्षभरि । 

स्कुलकै क्यान्टिनमा खाजा, खाना खाने विद्यार्थीका लागि अभिभावकले महँगो शुल्क तिर्नु परेको छ । क्यान्टिन खर्च, बस भाडा, बिहानको ट्युसन शुल्क, दिउँसोको फिस, कापी, किताब, गेस पेपर, प्रश्नपत्रका सेट तथा बेलाबेलामा भइरहने परीक्षाको छुट्टै शुल्कले अभिभावकको ढाड सेकिने गरेको छ । सरकारका अनुसार कक्षा १० सम्म निःशुल्क भनिए पनि सामुदायिक स्कुलको पढाइको गुणस्तर राम्रो नहुने भन्दै अभिभावकले निजी स्कुलमा भर्ना गर्दा महँगो शुल्क तिर्नु परिरहेको छ । विद्यार्थीबाट उठ्ने शुल्ककै भरमा स्कुल चलाउनुपर्ने, शिक्षक, कर्मचारीलाई अहिलेको महँगी धान्ने तलब सुविधा दिनुपर्ने, विद्यार्थीलाई अरू स्कुलभन्दा बढी सुविधा, गुणस्तरीय शिक्षा दिन पनि निजी स्कुलले महँगो शुल्क लिनैपर्ने एक प्रकारको बाध्यता छ कतिपय निजी स्कुललाई ।

नर्सदेखि लिएर अनुशासन सिकाउने, काउन्सिलिङ टिचर, छुट्टै गेम टिचर, म्युजिक, डान्स टिचर, योग, तेक्वान्डो टिचर, लाइबे्ररियन, हस्तलेखन टिचर गरेर कोर्सका किताब पढाउनेबाहेक पनि अन्य थुप्रै शिक्षक निजी स्कुलले राखेका हुन्छन् । सकेसम्म विद्यार्थीको चौतर्फी विकासका लागि हरसम्भव प्रयास गरेको देखिन्छ कैयौँ निजी स्कुलमा । सामुदायिक स्कुललाई यस्तो बाध्यता छैन, न त यस्ता प्रतिस्पर्धामा कुनै रुचि नै छजस्तो देखिन्छ । विषय शिक्षक पाउन त विद्यार्थीलाई सकस हुन्छ । यसकारण कतिपय सामुदायिक स्कुलको एसईईको परीक्षाफल शून्य नै आउने गरेकोसमेत हामीले देख्दै आएका छौँ यद्यपि कतिपय सहरमा रहेका सामुदायिक स्कुल निजीभन्दा पनि अब्बल छन् । सबैले चाहने हो भने सामुदायिक स्कुलको गुणस्तरमा सुधार ल्याउन धेरै गाह्रो छैन । 

एसईईलाई हाउगुजी बनाइएकै कारण सामुदायिक विद्यालयमा समेत ट्युसन पढ्ने फेसन सुरु भइसकेको छ । गत वर्ष हाम्रै एक जना नातेदार अछामको दुर्गम गाउँबाट एसईईकै लागि भन्दै ट्युसन पढ्न थोरै विकसित, नगरपालिकाले सदरमुकाम बनाएको कमलबजारमा डेरा गरेर बस्न थाले । गाउँबाट एकैचोटि बजार आएर बस्दा उनलाई धेरै नौलो लाग्यो । साथीहरूको लहलहैमा घर छोडेर टाढा बसेका उनी चुरोट, गुट्काका अम्मली भए । सहरका विद्यार्थीजस्तो उनको हातमा फोन थिएन र पास हुने गरी पढ्न सके । 

कलिला बालिबालिका एकैचोटि आमाबुवाभन्दा टाढा बस्नुपर्दा खर्च त हुने नै भयो, उनीहरू बिग्रेलान्, कुलतमा फस्छन् कि भन्ने डर पनि त्यत्तिकै हुन्छ । शिक्षकले बिहानदेखि बेलुकीसम्म पढाए पनि, अभिभावकले जति नै दुःख गरे पनि कतिपय विद्यार्थीलाई एसईई फलामको ढोकासरह नै हुने गरेको छ । विद्यार्थीलाई बिहानदेखि बेलुकीसम्म पढ मात्रैभन्दा पनि उनीहरू झनै अल्छी हुने गरेका छन् । बरु समय मिलाएर उनीहरूलाई आफ्नो लुगा धुने, कोठा सफा गर्ने, पसलबाट सामान किनेर ल्याउनेजस्ता काम पनि गर्न दिइयो भने केही सिक्छन् पनि र पढ्नका लागि ताजा अनुभव गर्छन् पनि ।

वर्ष दिनभरि आठवटा कक्षा पढेर परीक्षामा शून्य अङ्क ल्याउने विद्यार्थीसमेत छन् । यस्ता विद्यार्थीले कहिल्यै पनि कक्षामा ध्यान दिएर पढेनन्, न त शिक्षकलाई सुने नै । स्कुलमा रमाइलो गर्न, खेल्न, साथीसँग गफ गर्न, कतिपय त लभ गर्न मात्रै स्कुल गएका पनि देखिए । जब एसईई परीक्षा आउँछ, यस्ता विद्यार्थीले के गर्लान् भन्ने चिन्ता यस्ता विद्यार्थीलाई पढाउने शिक्षक, अभिभावक, स्कुल सबैलाई हुन्छ । त्यसकारण कतिपय स्कुलले यस्ता विद्यार्थीका लागि परीक्षा केन्द्रमा सिट मिलाएको पनि सुनिन्छ । 

गत वर्ष मेरै छोरीले एसईई दिएकी थिई । उभन्दा पछिल्लो सिटमा पर्ने विद्यार्थीले केही नलेखेको भन्दै त्यहाँका निरीक्षकले बाङ्गो परेर बसी साथीलाई पनि देखाऊ है भनेको उनले सुनाइन् । आफूले लेख्न भ्याएको थिएन, एकाउन्ट विषयको टेबल बनाउँदै धेरै समय लाग्यो, कक्षा निरीक्षकले परीक्षा हलमा आफूले नलेखी साथीलाई पनि देखाऊ भन्न मिल्छ ? उनले घरमा आएर मसँग प्रश्न गरिन् । कक्षामा हल्ला गरेर बस्ने, पढ्नेलाई पनि पढ्न नदिने विद्यार्थीले त फेल हुनुपर्छ, चोरेर पास भएर पनि के गर्छन् ? उनले थप्दै गइन् । उनका अनुसार एक जना केही पनि नजान्ने विद्यार्थी पहँुचकै आधारमा प्रथम हुने विद्यार्थीको बेन्चमा चोर्नकै लागि सिट परिवर्तन गरेर सिम्बोल नम्बरको ख्यालै नगरी बसेको देख्दा आफूहरू स्तब्ध भएको उनले सुनाइन् ।

साँच्चिकै एसईई परेका परीक्षा केन्द्रहरूमा विद्यार्थीको परीक्षा लिँदा विद्यार्थीले अरूबाट वा चिट कत्ति पनि नचोरून् भन्नेतर्फ सबैको ध्यान हुनुपर्छ । परीक्षा केन्द्रहरूमा परीक्षा दिने बेलामा हल्ला नहोस् तर दायाँबायाँ हेरेर लेख्छ भने लेखोस् भन्ने गरेको पनि सुनिन्छ । विद्यार्थीले परीक्षा हलमा गएर सजिलै साथीको कपीबाट सार्न पाउँछन्, आफूले चाहेअनुसारको चिट चोर्न पाउँछन् भने उसले कक्षामा, घरमा, ट्युसनमा कतै पनि ध्यान दिएर पढ्दैन । फलस्वरूप चोरेर पास गर्दा उसलाई राम्रोसँग नेपाली किताब पढ्नसमेत आउँदैन । कतिपय सामान्य विषयको समेत ज्ञान हँुदैन । यस्ता विद्यार्थीको ध्यान कक्षामा को निरीक्षक पर्छ, आफ्नो सिट कता पर्छ, साथी जान्ने छ कि छैन भन्ने मात्र हुन्छ । कतिपयले समयमा ध्यान दिएर पढ्न नसक्दा आफूसँगैका साथी अगाडि बढेको थाहा पाउँदा पछि गएर डिप्रेसनमा जाने, कुलतमा फस्ने, चोरीडकैती गर्नेजस्ता नराम्रा क्रियाकलापमा फसेर जीवन बर्बादसमेत गरेका छन् । 

कक्षामा शिक्षकले पढाइरहँदा पनि विद्यार्थीले लुकिछिपी चुइगम चबाउने, बेन्चहरूमा टाँसिदिने, जङ्कफुड खाएका प्लास्टिक, कागज कसैले थाहा नपाउने गरी बेन्चमुनि फालिदिनेसमेत गरेको भेटिन्छ । आफू बस्ने ठाउँ जहिले पनि सफा हुनुपर्छ । फोहोर भएको खण्डमा रोग लाग्न सक्छन् । फोहोर ठाउँमा दिनभरि आठ घण्टी बसेर पढ्न मन लाग्दैन । केही दिनअघि कक्षा ८ मा पढ्ने एक जना विद्यार्थीको बेन्चमुनि यस्तै कागज थिए । 

आफू बस्ने ठाउँ फोहोर पार्नु हुँदैन । फोहोर भएको खण्डमा सफा गर्नुपर्छ, जापानका स्कुलमा सरसफाइको काम गर्ने मानिस राखिएको हुँदैन । विद्यार्थी स्वयंले आफूले गरेको फोहोर सफा पार्नुपर्छ । तिमीहरूले पनि कक्षामा उत्पन्न फोहोरलाई कोठाको कुनामा राखेको फोहोर राख्ने भाँडोमा फाल्न सक्छौ भनेर सम्झाउँदै थिएँ । एक जना विद्यार्थीले हत्तपत्त उठेर “के यसरी सफा गरेपछि हामीले पनि तलब पाउँछौँ” भनेर प्रश्न गरे । भुइँमा फोहोर फालेको देखेपछि कक्षा ८ मा पढ्ने विद्यार्थीले फोहोर डस्टबिनमा फाल्नुपर्छ भन्ने कहिले थाहा पाउँछौँ भनेर प्रश्न गर्दा एक जना विद्यार्थीले बिहे गरेपछि मात्रै भन्ने जवाफ दिए ।

अर्की एक जना छात्रालाई डस्टबिन बाहिर फोहोर फालेको देखेपछि एक जना शिक्षिकाले उठाएर डस्टबिनभित्र फाल्न लगाउनुभएछ । ती छात्राले आफूलाई शिक्षिकाले फोहोर उठाउन लगाइन् भनेर घरमा कुरा लगाइछिन् । अर्को दिन अभिभावक किन आफ्नो छोरीलाई फोहोर उठाउन लगाएको भन्दै स्कुलमा आए । घरमा विद्यार्थीका सबै काम आफैँ गरिदिने, उनीहरूलाई साना, अति आवश्यक कुरासमेत नसिकाउनाले उनीहरू स्कुलमा आफैँले भुइँमा फाल्दै हिँडेको कागज उठाउन पनि मान्दैनन् भने पढेर ठूलो मान्छे बन्ने, आमाबुवाका दुःख कम गर्ने, देशको सेवा गर्नेजस्ता कुरा यस्ता विद्यार्थीले सोच्नसमेत सक्दैनन् । विद्यार्थी सधैँ मेहनति, सिर्जनशील, ज्ञानी र गुणी हुनु जरुरी हुन्छ । यस्ता विद्यार्थीले पछि गएर जीवनमा कहिल्यै दुःख खेप्नु पर्दैन ।

२०२८ सालमा बनेको शिक्षा ऐनले अहिले २०७९ सम्मै काम गरिरहेको छ । पछिल्लो ५० वर्षको बीचमा संसारमा थुप्रै परिवर्तन आए । स्पेस साइन्स, मेडिकल साइन्स, आईसीटी आदिमा चामत्कारिक प्रगति भए । हाम्रै देशमा पनि कैयौँचोटि सरकार ढले, नयाँ सरकार बने, राजा हटे, दशवर्षे जनआन्दोलन भयो, धेरै प्रधानमन्त्री फेरिए, शिक्षामन्त्रीसमेत कैयौँ जना भए तर शिक्षा, जसले देशको मुहार नै परिवर्तन गर्न सक्थ्यो त्यो भने जहीँको त्यहीँ रह्यो । 

समयअनुसार परिवर्तन हुन सकेन । फलस्वरूप देशका बौद्धिक, शिक्षित युवा विदेशतिर नफर्किने गरी पलायन भए । देशमा शिक्षाको अवस्था अहिले पनि ५० वर्षअघिकै छ । यसकारण शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको छ । सीप विकाससँगै विद्यार्थीलाई नैतिकवान् बनाउने शिक्षाको खाँचो छ । मोटा, मोटा किताबका ठूलाठूला साध्य कण्ठ गरेर कक्षा पास गर्नुभन्दा थोरै तर जीवनोपयोगी सीप सिक्ने, असल  र इमानदार नागरिक बनाउने शिक्षा अबको आवश्यकता हो ।

लेखक शिक्षिका हुनुहुन्छ ।