• १३ मंसिर २०८१, बिहिबार

अस्पतालमा बिरामीको चाप कम

blog

चरीकोट समाचारदाता

चरीकोट, चैत ११ गते । दोलखा सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलगाईं स्मृति अस्पतालले शुल्क लिन थालेपछि बिरामीको चाप घट्न थालेको छ। 

अस्पतालले आर्थिक सङ्कट देखाउँदै गत माघ १ देखि सबै रोगका बिरामीलाई अनिवार्य टिकटलगायत सेवामा शुल्क लगाएपछि बिरामीको चाप घटेको हो। टिकटलगायतका अन्य सेवासमेत निःशुल्क हुँदा दैनिक करिब १५० जनाको हाराहारीका बिरामी उपचार गर्न आउने गरेका थिए। अहिले शुल्क निर्धारणपछि दैनिक ७० देखि ८० जना उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। 

यसअघि औषधि उपचारलगायत बिरामी र कुरुवालाई समेत निःशुल्क खानाको व्यवस्था गरिएको थियो। अस्पतालले सञ्चालन र करारका कर्मचारीलाई तलब दिन सबै सेवामा शुल्क लिन थालेको बताएको छ। निःशुल्क हुँदा सामान्यदेखि जटिल शल्यक्रिया पनि यस अस्पतालमै हुँदै आएको थियो। अहिले अस्पतालले शुल्क लिन थालेपछि बिरामीहरू नजिकैको निजी अस्पतालमा जान थालेका छन्।

पशुपति चौलागाईं स्मृति अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा नामाङ्कन गरे पनि सरकारले सेवासुविधा दिन सकेको छैन। पर्याप्त पूर्वाधार अभावका कारण डायलासिस मेसिन त्यत्तिकै थन्केको अस्पतालका प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठले बताउनुभयो। आर्थिक रूपमा बोझ थपिँदै जान थालेपछि अस्पतालले निःशुल्क सेवा हटाएर सशुल्क बनाएको उहाँले बताउनुभयो। जिल्लाका स्थानीय तहले आर्थिक सहयोग गर्न थालेपछि आर्थिक समस्या केही समाधान भएको श्रेष्ठले बताउनुभयो। 

अस्पतालको आम्दानीको स्रोत भनेको खाजाघर र निजी फार्मेसीमार्फत उठ्ने घरभाडा मात्र थियो। अब निजी फार्मेसी पनि हटाएर १५ गतेबाट अस्पतालले नै फार्मेसी चलाउने डा. श्रेष्ठले बताउनुभयो। अस्पतालमा कार्यरत आधा कर्मचारीको तलब प्रदेश सरकारबाट आउने गरेको र आधाको तलब अस्पतालले आन्तरिक स्रोतबाट दिइरहेको छ। अस्पतालमा हाल ७२ कर्मचारी कार्यरत रहेकामध्ये  प्रदेश सरकार, सङ्घीय सरकार र नगरपालिकाबाट स्थायी र करार गरी ३७ जनाको तलब पठाइएको छ। बाँकी ३५ जनाको अस्पतालले आन्तरिक स्रोतबाटै तलब खुवाइरहेको अस्पतालले जनाएको छ।   

विदेशी लगानीको एउटा गैरसरकारी संस्थाले सात वर्षअघि विशेषज्ञसहित निःशुल्क सेवा दिने गरी १० वर्षका लागि अस्पतालको व्यवस्थापन जिम्मा लिएकोमा गत वर्ष उसले बीचैमा हात झिकेको थियो।