• १३ मंसिर २०८१, बिहिबार

दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

blog

अस्थायी प्रहरी पोष्टमा आयोजना गरिएको कार्यक्रम । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, चैत १० गते । कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अपराधिक घटनालाई न्यूनीकरण गर्न प्रहरी पोष्टको स्थापना गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो । 

शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयलेसमेत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका अपाराधिक क्रियाकलापमा नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुने उहाँको विश्वास छ ।

पोष्टलाई आवश्यक पर्ने भौतिक पूर्वधारलगायतको सहयोग नगरले गर्ने प्रमुख पौडेलले बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानीय नागरिकको सहयोग मिल्दै गएपछि प्रहरीको मनोबल उच्च रहने बताउनुभयो । हरेक सूचना नागरिकलाई जानकारी हुने भएकाले अापराधिक क्रियाकलापदेखि समाजका विकृति, विसङ्गति सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै, बढ्दो अापराधिक क्रियाकलाप र स्थानीयको मागलाई दृष्टिगत गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर बस्नेतले बताउनुभयो । शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा थप मद्दत पुग्ने उहाँको भनाइ छ । जिल्लामा भएका दरबन्दीलाई नै परिचालन गरि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पोष्टको स्थापना गरिएको प्रमुख बस्नेतले बताउनुभयो । 

पोष्ट स्थापना भएपछि धेरै खुशी लागेको वडा नं. ८ का वडाध्यक्ष शिवकुमार पाण्डेयले बताउनुभयो । प्रहरी बिना जिउ धन, समाजमा शान्ति स्थापना हुन नसक्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष इन्द्रमणि कुर्मी, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष किरणमान बज्राचार्य, स्थानीय समाजसेवीलगायतको सहभागिता थियो ।