• ७ मंसिर २०८१, शुक्रबार

'थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल'-रङ्गकर्मी श्रेष्ठ

blog

रङ्गकर्मी केदार श्रेष्ठ

काठमाडौं, चैत १२ गते । विसं २०६५ सालदेखि निरन्तर रुपमा रङ्गमञ्चसँग जोडिनुभएका रङ्गकर्मी केदार श्रेष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको कथा सुन्दै हुर्किनु भएकाे हाे । धाडिङको चैनपुर सुनखानीमा सामान्य परिवारमा जन्मिनुभएका रङ्गकर्मी केदार श्रेष्ठलाई सानैदेखि साहित्यमा धेरै रुचि थियो । उहाँको साहित्यिक यात्रा विद्यालयबाट नै सुरु भएको हो । 

सानैदेखि घर परिवारबाट टाढा रहेर हुर्केका श्रेष्ठ सम्झिनुहुन्छ “हाम्रो समयमा विद्यालयमा नाटक गर्ने चलन थिएन । कोठाभित्र हुने कार्यक्रम मात्रै हुने गर्थे । यसरी काठमाडौंबाट दशैं तिहार मनाउन घर जाँदा गाउँमा हुने रमाइलो सांस्कृतिक कार्यक्रममा बीचबीचमा म कमेडी गरेर दर्शहरुलाई हँसाउने गर्थें ।” 

यसबाहेक रङ्गकर्मी श्रेष्ठको कला यात्रा भने शैली थिएटरबाट सुरु भएको हो । बिना कुनै तालिम रङ्गकर्मीका रुपमा काम सुरु गर्नु भएका श्रेष्ठ थिएटर मलका निर्देशक र संयोजक पनि हुनुहुन्छ ।

“२०६४-६५ तिर रसियन कल्चर सेन्टरमा शैली थिएटरले साताको एक सो नाटक मञ्चन गर्ने गर्दथ्याे । शैलीको साप्ताहिक मञ्चनबाहेक गुरुकुलमा मात्र नियमित नाटक मञ्चन हुन्थ्यो । नाटक देखाउनका लागि अहिलेजस्तो धेरै नाटक घर पनि थिएन,” केदार सम्झिनुहुन्छ, “तर पहिलेको तुलनामा अहिले काठमाडौंमा धेरै नाटक घर खुलेका छन् । जति धेरै नाटक घर त्यति धेरै अभ्यास हुने । नाटक र रङ्गमञ्चलाई विभिन्न दृष्टिकोणबाट विचार विमर्श गर्ने वातावरण सिर्जना भएको जस्तो मलाई लाग्छ । ”

“थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल हो । आर्ट र अर्टिस्ट कहिले पनि सिद्ध हुँदैन । थिएटरले कलालाई गहिराइसम्म बुझ्न मद्दत गर्दछ ।” 

थिएटर एकदमै खर्चिलो कलाको माध्यम भएर त्यसैले यसमा सबै विषय कायम गर्नुपर्ने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “सामान्य भाषामा थिएटरलाई व्यवसाय, कला र सिक्ने थलो वा स्थानका रुपमा पनि लिन सकिन्छ । यो जीवन र जगतसँग जोडेर आउने कला हो । यसले जीवनलाई समाजतर्फ र समाजलाई जीवनतर्फ लाग्न उत्प्रेरित गर्छ ।” 

रङ्गमञ्चसँगै सिनेमामा समेत आफ्नो स्थान बनाउनु भएका रङ्गकर्मी श्रेष्ठ रङ्गमञ्च कलाकारको माध्यम हो भने सिनेमा निर्देशकको माध्यम भएको बताउनुहुन्छ । अहिले भने रङ्गकर्मी श्रेष्ठको ‘जुनुको जुत्ता’को नयाँ संस्करण ‘जुनुको रिबन’ आउने तयारीमा छ । जुनुको पाँचवटा फिल्म १० वर्षसम्म बनाउने उहाँको योजना छ । 

जुनु पाँच पर्ष हुँदा जुनुको जुत्ता फिल्म बनेको थियो । अहिले जुनु नौ वर्ष पुग्नुभयो । अर्थात् एउटै चरित्र र एउटै कलाकारको विभिन्न उमेर बढेसँगै कथा पनि बढ्दै जाने श्रेष्ठको अनुभव छ। त्यसैले १० वर्षपछि जुनु चरित्रसँग बनेका सबै फिल्महरु संयोजन हुने सम्भावना पनि धेरै रहेको उहाँले बताउनुभयो ।

यस्तै, समाज समृद्ध हुनका लागि कला साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको अनुभव छ । तर नेपालमा कला साहित्य र कलाकारलाई आर्थिक रुपमा टिकिरहन निकै गाह्रो छ । 

उहाँ भन्नुहुन्छ, “कलाकार आफैंले नाटकका लागि आफ्नो खर्च जुटाउनुपर्ने अवस्था छ । नेपालमा कलाकार  निर्देशक आफैं मिलेर काम गरेका छन् । सरकार र कुनै संघ सस्थाबाट नाटक र रङ्गमञ्चका लागि कुनै आर्थिक सहयोग पाइने अवस्था छैन ।” 

यसलगायत थिएटर मलमा आजसम्म २० वटाभन्दा बढी नाटक मञ्चन भएका छन् । तीमध्ये ८ भन्दा बढी नाटक थिएटर मल आफ्नै उत्पादन हो । थिएटर मलले कुनै निश्चित समय र तालिका तयार गरेर मात्रै नाटक मञ्चन गर्ने गरेको उहाँ बताउनुहुन्छ  ।

रङ्गकर्मी केदार श्रेष्ठसँग उहाँको कला यात्राको बारेमा गाेरखापत्र अनलाइनकर्मी सनम महर्जनले तयार गर्नुभएकाे भिडियो संवाद :


भिडियो : मनोजरत्न शाही र केशब गुरुङ