विनय कर्ण
कल्याणपुर (सप्तरी) मङ्सिर १ गते । करिब तीन वर्ष अघि कञ्चनरुप नगरपालिका वडा नम्बर ७ धरमपुरकी संजिता साह र रुपनी गाउँपालिका ३ मकरी टोलका इन्जिनियर सन्देश साहको फेसबुकमा भेट भयो ।
फेसबुककै माध्यमबाट सुरु भएको दुबैबिको प्रेम सम्बन्ध अन्ततः कानुनी रुपले विवाहको रुपमा परिणत हुन पुग्यो ।
पेसाले विद्यालय नर्स रहेकी संजिता र इन्जिनियर सन्देश २०८१ जेठ ९ गते पर्सा जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह गर्नुभयो । तर विवाह गरेको १३ महिनामै दुबैजना बिचको वैवाहिक सम्बन्ध बिग्रिएर अदालतसम्म पुग्यो ।
आफ्नो घरपरिवारलाई जानकारी नगराएरै अदालतमा विवाह गर्नु भएका उहाँहरुको सम्बन्ध बिग्रिदा अभिभावक पनि विवादमा तानिनु भएको छ भने दुबैले एक अर्काबाट पीडित भएको दाबी गर्दै न्यायका लागि अदालत पुगेका हुन् ।
संजितासँग अलग हुनपाउँ भनी २०८२ असार ३ मा सन्देशले पर्सा जिल्ला अदालतमा अंश मुद्दा दायर गर्नुभएको छ भने सन्देशसँगै उहाँकै घरमा बस्छु भनेर संजिताले पनि घरेलुहिंसाको मुद्दा सप्तरी जिल्ला अदालतमा दायर गर्नुभयो ।
अदालतले २०८१ असार २३ गते संजितालाई घरमा बस्न, खान दिनु, कुटपिट नगर्नु र शिष्ट र सभ्य व्यवहार गर्नभन्दै पति सन्देश, ससुरा शिक्षक धर्मदेव साह र सासु किरणको नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गर्यो ।
अदालतको आदेशपछि पनि घरमा बस्न नदिएको, घर गएको बेला परिवारजनबाट कुटपिट समेत भएको संजिताले बताउनुभयो । उहाँले यहाँका समाजका मानिहरुले साथ दिएपछि ससुराको घरमा प्रवेश गरेको, तर मेरो पतिलाई म बाट टाढा राखि सम्बन्धविच्छेद गराउन ससुरा धर्मदेवसहितका परिवारजन लागिपरेको अरोप समेत लगाउनुभयो ।
“अदालतमा विवाह भइसकेपछि एकवर्ष घरपरिवारबिच विवाहको कुरा चल्यो, दुबैतर्फबाट केटाकेटी हेर्ने काम पनि भयो, तर त्यसपछि ससुराबुवाले १० तोला सुन, १५ लाख रुपियाँ र चारचक्का गाडी दाईजो मागेपछि सम्बन्ध बिग्रिएको हो’’ संजिताले भन्नुभयो ।
संजिताका ससुरा धर्मदेव साहले आफुले कुनै किसिमको दाईजो नमागेको बताउनुभयो । घरपरिवारलाई थाहै नदिई अदालतमा दुबैजनाले विवाह गरेको र पछि आएर के कारण उहाँहरुको सम्बन्ध बिग्रिएकोबारे आफुलाई थाहा नभएको जानकारी दिनुभयो । “दाईजो मागेको कुरा गलत हो, घरपरिवारलाई छलेर दुबैजना विवाह गरे अनि अहिले आएर हामीलाई बदनाम गरिदैछ’’ साहले भन्नुभयो, “छोराले बुहारीलाई राख्न चाहेमा आफुलाई कुनै आपत्ती छैन ।’’
सासु किरण साहले छोराले नै बुहारीलाई राख्न नचाहेको अवस्थामा आफुले घरमा कसरी राख्ने बताउनुभयो । संजिताका पति सन्देशले आफू कानुन अनुसार नै अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।