• १ मंसिर २०८२, सोमबार

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेमा धेरै जसो प्रहरी अधिकारीहरू रहेका छन् । 

लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्ध प्रदर्शनका लागि जेनजीका प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको हो । यद्यपि प्रदर्शनमा जेनजीसँगै विभिन्न उमेरका प्रदर्शनकारीको सहभागिता छ । 

गत वर्ष अक्टोबरदेखि सत्तामा रहनुभएका राष्ट्रपति सेनबामको सुरक्षा नीतिमाथि हालैका धेरै चर्चित हत्याकाण्डपछि निरन्तर आलोचना हुँदै आएको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले प्रदर्शन धेरै घण्टासम्म शान्तिपूर्ण रूपमा अघि बढेको तर केही व्यक्तिले हिंसात्मक गतिविधि सुरु गरेपछि झडप सुरु भएको जानकारी दिनुभयो ।

भाजक्वेजका अनुसार सय जना प्रहरी अधिकारी घाइते भएका छन् । तीमध्ये ४० जनालाई प्राथमिक उपचारपछि अस्पताल सार्न आवश्यक परेको थियो । साथै २० जना प्रदर्शनकारी पनि घाइते भएको पुष्टि गरिएको छ । सुरक्षा अधिकारीहरूले विभिन्न आरोपमा २० जनालाई पव्रmाउ गरेका छन् ।  धेरै प्रदर्शनकारीले ब्यानर बोकेका थिए । मारिएका मिचोआकान राज्यको उरुपानका मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै उहाँको तस्बिरसहितको टोपी लगाएका थिए । मन्जो लागुऔषध तस्करी गर्ने समूहविरुद्ध कडा अभियान चलाउने नेताका रूपमा चर्चित हुनुहुन्थ्यो । 

राष्ट्रपति सेनबामले यो सरकारविरुद्ध विदेशबाट प्रेरित गरिएको आन्दोलन भएको दाबी गर्नुभएको छ । प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास र राष्ट्रपति कार्यालय र अगाडि जम्मा भई प्रदर्शन गर्दा हिंसा भड्किएको हो । सुरक्षाकर्मीले भवन जोगाउन प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास तथा आगो निभाउने उपकरण प्रयोग गरेका थिए । 

नेपालमा जेनजी आन्दोलनले सरकार परिवर्तन गरेसँगै इन्डोनेसिया, मोरक्को, पेरु, माडागास्कर, केन्या, फिलिपिन्स र पूर्वीटिमोरमा पनि यो आन्दोलन जारी छ ।