• १५ वैशाख २०८१, शनिबार

परीक्षणमै साझाका ३७ वटा विद्युतीय बस

blog

चार्जिङ् स्टेसन नबन्दा सञ्चालनमा चुनौती 

काठमाडौँ, चैत्र ९ गते । साझा यातायातले चीनबाट ल्याएका ३७ वटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन् । साझा यातायातले खरिद गरेका उक्त बसहरूको यान्त्रिक परीक्षण गर्ने क्रम जारी रहेकाले परीक्षण सकिएपछि मात्र सञ्चालनमा आउने साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । 

उहाँका अनुसार खरिद गरिएका ४० वटामध्ये तीन वटा अहिले गुडिरेहेका छन् । बाँकी ३७ वटा भने परीक्षणकै क्रममा छन् । उहाँले भन्नुभयो, “हामीले खरिद गरेको विद्युतीय बसहरू ४० वटा हो । अहिले तीन वटाको यान्त्रिक परीक्षण गरेर गुडिरहेका छन् । बाँकीको यान्त्रिक परीक्षण जारी  छ ।”

चीनबाट ल्याइएका विद्युतीय बसहरू सरकारको प्राविधिक टोलीले नै चेक गर्ने गरेको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र  यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्राविधिक टोलीले चेकजाँच गर्दै आएको छ । 

तर प्राविधिक चेकजाँचको रिपोर्ट सकारात्मक आए पनि विद्युतीय बस सञ्चालन गर्न भने साझालाई चुनौती छ । साझा यातायातले प्रतिबस डेढ करोड पर्ने गरी खरिद ४० वटा बस खरिद गरेको थियो । पाण्डेयका अनुसार विद्युतीय बसका लागि चार्जिङ् स्टेसन पर्याप्त नभएका कारण बसहरू सञ्चालन गर्न नै समस्या हुने देखिएको छ । चार्जिङ स्टेसनका लागि जग्गा खोज्ने कार्य जारी छ । अहिलेसम्म नभेटिएकाले जग्गा प्राप्तिको लागि कठिनाइ भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “चार्जिङ् स्टेसन निर्माणका लागि जग्गाको अभाव छ । जग्गा खोज्ने क्रम जारी छ । सरकारलाई जग्गा व्यवस्थापनका लागि आग्रह गरेका छौँ ।”निजीलाई बनाइएका अन्य चार्जिङ् स्टेसनबाट साझाका बसहरू चार्जिङ् नहुने भएकाले पनि साझालाई थप समस्या भएको छ । 

महानिर्देशक पाण्डेयले भन्नुभयो,“निजी कम्पनीले राखेका चार्जिङ स्टेसनमा अहिले ल्याइएका साझाका विद्युतीय बसहरू चार्जिङ् हुँदैनन् । यस कारण पनि छुट्टै चार्जिङ् स्टेसनको आवश्यकता परेको छ ।”उहाँका अनुसार चीनबाट ल्याइएको यी बसहरूको पाँच वर्षसम्म मर्मत पनि  निर्माता कम्पनीले नै गर्ने सम्झौता भएको छ ।नेपालमा ल्याइएका बसहरू परीक्षणपश्चात् दर्ता गरी रूप प्राप्त भएपछि मात्र सञ्चालनमा ल्याउने तयारी रहेको उहाँको भनाइ छ । 

तीन बसका लागि दुई चार्जिङ् स्टेसन 

हाल साझा यातायातका सञ्चालनमा रहेका तीन विद्युतीय बसका लागि दुई वटा मात्र चार्जिङ् स्टेसन छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिदिएको  साझाको पुलचोक र बल्खु क्षेत्रमा रहेको चार्जिङ् स्टेसनबाट बसहरू चार्जिङ् गरिएको पाण्डेयको भनाइ छ । 

दुई वटा बसका लागि एउटा चार्जिङ स्टेसन हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, दुई वटा विद्युतीय साझा बसका लागि एउटा चार्जिङ् स्टेसनको आवश्यकता पर्ने हो । तर अहिले तीन वटाका लागि दुई वटा छन् । पछि विद्युतीय बसहरू बढेपछि कहाँ चार्ज गर्ने भन्ने समस्या हुन्छ । 

विद्युत् प्राधिकरण भन्छ, विद्युत् उपलब्ध गराउँछौँ 

 नेपाल विद्युत् प्राधिकरणले चार्जिङ् स्टेसन निर्माणका लागि आवश्यक मात्रामा विद्युत् उपलब्ध गराउने जनाएको छ । अहिले काठमाडौँ उपत्यकामा निजी कम्पनीले स्थापना गरेका स्टेसनहरूमा आवश्यक मात्रामा ट्रान्सफर्मरको व्यवस्था गरिदिएको  प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार उपत्यकाभर विभिन्न ठाउँमा ५२ वटा चार्जिङ् स्टेसनमा विद्युतीय लाइन उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरणले देशभर नै चार्जिङ् स्टेसनका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोही अनुरूप काठमाडौँ उपत्यकामा ५१ वटा स्थानमा विद्युतीय पहुँच पुर्‍याएका छौँ ।” 

साझा यातायातले पनि ठाउँ छनौट गरेर विद्युतीय लाइनका लागि आग्रह गरे  उपलब्ध गराइने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।