• ७ वैशाख २०८१, शुक्रबार

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौं, चैत ७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनु भएको छ। महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो। 

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई मान्य नहुने चेतावनी दिनुभएको हो। 

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उहाँको भनाइ छ। 

महामन्त्री थापाले राजनीतिक दललाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुङ्गोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटक पटक दोहोर्‍याउनुभयो। 

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने उहाँले बताउनुभयो। महामन्त्री थापाले भन्नुभयो, ‘‘शान्ति प्रक्रियाको खासगरी सङ्क्रमणकालीन न्यायसँग जोडिएको केही विषय छन्। जुन विषयको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ। शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दल, चाहे हिजो हामीसँगै रहेको नेकपा (एमाले) वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामूहिक जिम्मेवारी हो। सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउँदै गर्दाखेरी हामीले द्वन्द्वबाट पीडित भएकाको भावनालाई सम्मान गर्न सकेनौँ भने कतिपय अन्तर्राष्ट्रिय कानुनसँग जोडिएका विषय छन्। हामीले मिलेर एक ठाउँमा काम गर्नुपर्नेछ। यो पक्ष, त्यो पक्ष नभनी काम गर्नु पर्नेछ। सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउँदै गर्दाखेरी हामीले गिरिजाप्रसाद कोइरालालाई सम्मान गरेका हुन्छौँ। यसमा कांग्रेसले अग्रसरता लिनुपर्छ।’’

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दाबीसमेत गर्नुभयो।  महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनुभयो।