• १३ वैशाख २०८१, बिहिबार

पर्खालले बढाइदियो मित्रताको दूरी

blog

टीकापुर समाचारदाता

टीकापुर, चैत ७ गते । भौतिक विकास सधैँ र सबैका लागि उपयोगी नहुन पनि सक्छ भन्ने भनाइ कैलालीको जानकी गाउँपालिका–१, दुर्गौलीका मोहनप्रसाद उपाध्याय र देवबहादुर चौधरीमा लागू भएको छ। उहाँहरू उपाध्याय र चौधरी बाल्यकालका साथी हुनुहुन्छ। पछिल्लो २० वर्ष झन् नजिक हुनुभएको छ। दुवै जनाको दुर्गौली बजारमा वा पतञ्जली विद्यास्थलीमा नियमित भेट हुन्थ्यो तर उहाँहरूको कुराकानी र भेटघाटलाई बाधा पुग्ने गरेर ढल र पर्खाल गर्दा उहाँहरूको भेटघाट हुन सकिरहेको छैन। 

उहाँहरूबीच सधैँ नेपालको राजनीति, संस्कृति, शिक्षा र साहित्यका विषयमा घण्टौँ कुरा हुन्थ्यो। दुवै जनाको दैनिकजस्तै हुने भेट एक वर्षयता ढल र पर्खालले बिथोलिदिएको छ।

आजकाल उपाध्याय कहिलेकाहीँ चौधरीको घरनजिकै जानुहुन्छ– चौधरी बाहिर निस्कनुहुन्छ। दुवै जना उभिएर केही घण्टा कुराकानी गर्नुहुन्छ र आआफ्नो घर फर्किनुहुन्छ तर एकअर्काको समीप भएर कुराकानी गर्न नपाउनुभएका कारण चौधरीको घर अगाडि नै लम्की–खक्रौला सडकले नाली बनाएको छ, त्यसैले उहाँहरूको आवतजावतमा अवरोध भएको छ। लामो समय नाली खनेर छोडे, त्यसपछि किनारमा पर्खाल र ढल बनाएका छन्। 

३० महिनाभित्र १० किलोमिटर बाटो बनाउन ४० करोड ९९ लाख रुपियाँमा ठेक्का लिएको एपेक्स–खड्का–कृष्ण जेभीले ३० महिनामा ३० प्रतिशत मात्र काम सकेर अझै एक वर्षको म्याद थपाएको छ। भेट हुँदा नेपाल हिन्दी साहित्य, बदलिँदो राजनीति र संस्कृतिका कुरा गरेर नथाक्ने उपाध्याय र चौधरी एकै ठाउँमा उभिएर कुराकानी गर्ने दिनको प्रतीक्षामा हुनुहुन्छ।

चौधरी र उपाध्याय दुवै जना अङ्कोयलाजिङ स्पोन्डालिटिजबाट पीडित हुनुहुन्छ। दुवै जनाको मेरुदण्ड र खुट्टा नखुम्चिने भएकाले वाकरको सहायताले हिँड्नुहुन्छ। उपाध्यायले दुर्गौलीमै पतञ्जली विद्यास्थली खोन्नुभएको छ, यसअघि उहाँ गैरसरकारी क्षेत्रमा काम गर्नुहुन्थ्यो।

समाजशास्त्रका स्नातकोत्तर देवबहादुर व्यापार गर्नुहुन्थ्यो र शारीरिक समस्या भएपछि घरमै हुनुहुन्छ। दुवै जनाको घरको दूरी ४०० मिटरजति छ तर वाकरको सहायताले हिँडदा आफूहरूलाई ४५ मिनेटजति लाग्ने गरेको उपाध्याय बताउनुहुन्छ। हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनार मूलबाटोसँग जोडिएका बाटाहरू आवश्यकतानुसार १० देखि १५ मिटरसम्म पक्की बन्ने भएकाले माटो पटानी गरी सबैले सहज रूपमा हिँडन सक्ने बनाउनु निर्माण कम्पनीको दायित्व भएको बताउनुहुन्छ।