• ११ मंसिर २०८१, मङ्गलबार

जनचेतना जगाउन बहुभाषा शिक्षा

blog

आज ‘२१ मार्च’ अन्तर्राष्ट्रिय मातृभाषा दिवस। संयुक्त राष्ट्रसङ्घले विश्वका राष्ट्र समुदायलाई उपलब्ध गराएको एउटा महत्वपूर्ण अवसर हो। यस दिवसका अवसरमा विश्वभरिका मानिसले आ–आफ्नो मातृ भाषाको महत्व र अपनत्वका बारेमा विचार विमर्श गर्न पाउँछन्। अनि सबै मातृ भाषाको संरक्षण तथा संवद्र्धन गर्ने योजना बनाउन, तिनका बारेमा छलफल गर्न र अनुभवको आदान–प्रदान गर्न विभिन्न भाषा समूहका मानिस एकताबद्ध हुन सक्छन्। यस वर्ष संयुक्त राष्ट्रसङ्घले यो अन्तर्राष्ट्रिय भाषा दिवसको विषय ‘बहुभाषी शिक्षा : शिक्षामा आमूल परिवर्तनको आवश्यकता’ भन्ने निकै महत्वपूर्ण विषय तय गरेको थियो। यस सम्बन्धमा विभिन्न शिक्षाशास्त्री, भाषा वैज्ञानिक र समाजशास्त्रीका अध्ययन प्नि प्रकाशमा आएका छन्। तिनको निष्कर्ष के छ भने अहिले पनि विश्वमा करिब ४० प्रतिशत विद्यार्थीले आफ्नो मातृभाषाभन्दा फरक भाषामा शिक्षा लिनुपर्ने बाध्यात्मक स्थिति रहेको छ। यसै कुरालाई ध्यानमा राखेर बहुभाषा शिक्षाको आवश्यकता महसुस गरिएको पनि हो। आजको विज्ञान र प्रविधिको उच्च विकासले यो बहुभाषी पद्धतिलाई कार्यान्वयन गर्नमा पनि सहज बनाइदिने स्थिति रहेको छ।

राष्ट्रसङ्घको स्पष्ट के सोचाइ रहेको देखिन्छ भने बहुभाषी शिक्षा प्रणाली अपनाउँदा हामीले शिक्षाको क्षेत्रमा आफ्नो यो लक्ष्य पूरा गर्ने मात्र होइन, यसका अतिरिक्त यस प्रणालीले समावेशिता र शतत् विकास प्रक्रियालाई पनि अघि बढाउन ठूलो मद्दत मिल्छ। युनेस्कोले आफ्ना विभिन्न योजनाको माध्यमले बालबच्चालाई उनीहरूका मातृ भाषामा प्राथमिक शिक्षा दिने वकालत गर्दै आएको पनि छ। शिक्षाशास्त्रीका अनुसार प्राथमिक शिक्षा मातृ भाषामा दिइएपछि नै विद्यार्थीलाई अन्य भाषामा पनि ज्ञान हासिल गर्न पनि सहज हुन्छ। यसो गर्दा सहजतापूर्वक शिक्षाको नयाँ सोपान चढ्न सकिने र आफूले प्राप्त गरेको शिक्षा र आफ्नो परिवेशबीच सामञ्जस्यता पनि कायम गर्न सकिने हुन्छ। यसले परस्परमा एकत्वको भाावना पनि जगाउँछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता प्रवद्र्धन गर्न पनि सहयोग पुग्छ।

अहिलेसम्म पनि विश्व मानव समुदायमा धेरै ठूलो सङ्ख्यामा शिक्षाको ज्योति राम्रोसँग पुग्न सकिरहेको छैन। खासगरी प्राचीन मूलवासी र आदिवासी समुदायका मानिस मुख्य रूपमा यस्तो स्थितिबाट विश्वमा गुज्रिरहेका छन्। ती समूह र समुदायसम्म शिक्षाको ज्योति पु-याउन यो बहुभाषा भाषी शैक्षिक प्रविधि महत्वपूर्ण र परिणामदायी साबित हुनसक्ने देखिन्छ। यसबाट सानो समूहहरूको भाषा बचाउनका लागि पनि सहयोग मिल्छ। आज बहुभाषा शिक्षा समयको यस्तो माग हो, जसले एकसाथ विभिन्न महत्वपूर्ण लक्ष्यलाई पूरा गर्न मद्दत पुग्न सक्छ। राष्ट्रसङ्घले यस दिशामा चिन्तन गर्न सङ्केत दिन्छ कि हामीले यस्तो सोचाइ लिनु या राख्नु हुँदैन कि कुनै एउटा भाषा विशेषले नै साराका सारा ज्ञान प्रदान गर्न मद्दत गर्छ र त्यो विशेष भाषामा सम्पूर्ण ज्ञानको भण्डार छ। यस्तो जड सोचाइबाट बाहिर निस्कन सक्नु आजको एउटा अर्को आवश्यकता हो। विश्वमा कतिपय अङ्ग्रेजी मातृ भाषा नभएका देशले अङ्ग्रेजी भाषालाई नै सारा ज्ञानको पर्याय र भण्डार मान्नेहरू छन्। त्यसले गर्दा उपेक्षाको सिकार स्थानीय मातृभाषा हुने गरेका र हुँदै आएका छन्।

आज त त्यसमाथि साम्राज्यवादी भूमण्डलीकरणको प्रक्रियामा साना भाषा भाषिकामाथिको खतरा अझ बढी र लगातार रूपमा बढ्न गएको छ। वास्तवमा भाषा यसरी खतरामा पर्न जानु विश्वमा सांस्कृतिक विविधता खतरामा पर्नु हो। हरेक भाषाभाषिकामा असङ्ख्य स्मृतिहरू र ज्ञानका महत्वपूर्ण परम्परा रहेका हुन्छन्। यसरी भाषा मर्नु, मारिनु ज्ञानको लोप हुनु हो र संस्कति तथा ज्ञान परम्पराको अन्त्य हुनु पनि हो। जुन पुर्खाहरूले त्यस भाषा विशेषको श्रुति, स्मृति र ज्ञान परम्परालाई पुस्ता–पुस्तासम्म हजारौँ वर्षदेखि संरक्षित गरेको र अघि बढाउँदै आएका थिए। यस्ता स्मृति, ज्ञान परम्परा, सोच विचार गर्ने र अभिव्यक्तिका अनौठा तरिका सुन्दर र अझ राम्रो भविष्य सुनिश्चित तुल्याउनका निम्ति अत्यन्तै मूल्यवान संसाधन हुन्। अनि प्रकारान्तरले भाषाका प्रति राम्रोसँग संवेदनशील भएर हामीले भावी पुस्तालाई अझ सन्दर र राम्रो भविष्य सुनिश्चित तुल्याइदिन सक्छौँ। घुलमिल गर्ने, एकले अर्कोलाई बुझ्ने र साझा भावना पैदा गर्ने यो कम महत्वपूर्ण साधन होइन।

विभिन्न भाषा वैज्ञानिकका अध्ययनबाट निस्केको के तथ्य अत्यन्तै चिन्ताजनक छ भने हरेक दुई हप्तामा विश्वबाट आज एउटा भाषा आफ्नो पूरै सांस्कृतिक तथा बौद्धिक विरासतसँग लोप या नष्ट हुने गरेको छ। विश्वभरिका छ हजारभन्दा पनि बढी भाषामध्येमा शिक्षा प्रणालीमा केही सय भाषालाई मात्र स्थान मिल्न सकेको छ। अनि आजको डिजिटलको क्षेत्रमा त सयभन्दा पनि कम भाषाको मात्र उपयोग हुन पाउँछ। बहुभाषा शिक्षा पद्धति अवलम्बन गरिँदा हामीलाई भाषा लोप हुने, संस्कृति हराउने र मानव सभ्यता नै हराउने यस बढ्दो सङ्कटबाट बचाउन ठूलो मद्दत मिल्न सक्छ। विश्वका विभिन्न देशमा शिक्षाका क्षेत्रमा प्रविधिको प्रवेश आजको हाम्रो समयको ठोस सत्य हो। कोभिडको काल खण्डमा प्रविधिमाथिको हाम्रो निर्भरता अझ बढ्न पुगेको थियो। महामारीको समयमा यो प्रविधिको उपयोगलाई पनि बहुभाषिकतालाई जोड्नुपर्ने स्थिति छ। के सुखद लाग्दछ भने स–साना भाषा भाषिका भएका समूहरूले पनि आजभोलि आफ्नो भाषा तथा साहित्यको संरक्षण गर्नका लागि सूचना प्रविधिलाई प्रयोग गर्ने गरिरहेका छन्। सबैजसो अध्ययन अनुसन्धानले यस सम्बन्धमा स्पष्ट पनि पारिसकेका विषय प्रकाशमा आइसकेका छन् कि भाषालाई वर्चस्वको साटो बहुभाषिकताको मन्त्र केवल भाषा र तिनको ज्ञान परम्परालाई बचाउन मात्र उपयोगी रहेको होइन यसका अतिरिक्त सारा संसारलाई अझ सुन्दर र अझ राम्रो बनाउनका लागि पनि यसले सार्थक भूमिका खेल्न सक्छ।

हुन पनि जन्मेपछि आमाको काखदेखि नै सिक्ने सिकाइने भाषा, सोच्ने र सपना देख्ने भाषा अनि मनोदशा अभिव्यक्त गर्ने र बुझ्ने भाषालाई मातृ भाषा भनिन्छ। त्यसैले कुनै पनि मातृ भाषाको महìव र गरिमा अत्यन्तै ठूलो छ। मातृ भाषा कुनै ठूलो कुनै सानो हुँदैन। यो मानव सभ्यताको महत्वपूर्ण उपज हो। त्यसैले यसको शतत संरक्षण, संवद्र्धन र शतत विकासको आवश्यकता परेको हो।

लेखक प्रगतिशील बुद्धिजीवी हुनुहुन्छ।