• १३ मंसिर २०८१, बिहिबार

स्ववियु निर्वाचनमा मिश्रित परिणाम

blog

लुम्बिनी ब्युरो

लुम्बिनी, चैत ७ गते । लुम्बिनी प्रदेशका विभिन्न क्याम्पस तथा कलेजमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम सार्वजनिक भएका छन्। 

तानसेन समाचारदाताका अनुसार पाल्पाका चार क्याम्पसमा कतै निर्वाचनमार्फत त कतै सर्वसम्मतबाट स्ववियु पदाधिकारी चयन भएका छन्। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रूपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ। 

यस क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको हो। सर्वपक्षीय स्ववियुमा नेविसङ्घका कृष्ण अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ।

यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा अखिल (क्रान्तिकारी)का ताराबहादुर रायमाझी निर्वाचित हुनुभएको छ। सहसचिवमा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उमेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल निर्वाचित हुनुभएको छ। 

रामपुरस्थित शहीद बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसङ्घका ल्याकत अली निर्वाचित हुनुभएको छ। नेविसङ्घ र क्रान्तिकारीको संयुक्त प्यानलबाट अली निर्वाचित हुनुभएको हो। 

पाल्पाको पूर्वखोलास्थित उद्धबुद्ध कलेजमा अनेरास्ववियुको प्यानल नै निर्विरोध विजयी भएको छ। उद्धबुद्ध कलेजको अध्यक्षमा अनेरास्ववियुका केशव पङ्गेनी निर्वाचित हुनुभएको छ। यस्तै तानसेनको दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुकै सरोज अधिकारी निर्वाचित हुनुभएको छ। 

भैरहवा समाचारदाताका अनुसार रुपन्देहीमा स्ववियु निर्वाचन भएको छवटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसङ्घले बराबरी सङ्ख्यामा जितेका छन्। यहाँको १२ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता भए पनि छवटामा विवादका कारण रोकिएको छ।

नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। 

सियारी– ४, छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाको रामापुरस्थित शहीद नारायण पोखरेल क्याम्पस र शुद्धोधनको  फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारू क्याम्पसमा नेविसङ्घका उम्मेदवार विजयी भएका हुन्।

यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दुर्गाबहादुर एमसी निर्वाचित हुनुभएको छ। देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। 

कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप शर्मा विजयी हुनुभएको छ। हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी सङ्घ र लोकतान्त्रिक विद्यार्थी सङ्घको संयुक्त प्यानल बनेको थियो। 

लीलाधर घिमिरे छपिया जनता कलेजको स्ववियु अध्यक्षमा नेविसङ्घका अभिषेककुमार यादव र यज्ञोदय दूधनाथ क्याम्पसमा महेश चौधरी विजयी हुनुभएको छ। शहीद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसङ्घकै मनोज बेल्बासे विजयी हुनुभएको छ। यहाँ नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल विप्लव र अखिल समाजवादीसँग मिलेर चुनाव लडेका हुन्। 

अब निर्वाचन हुन बाँकी रहेका छवटा क्याम्पसमध्ये भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा कृषि  क्याम्पसमा यही ८ गते निर्वाचनको मिति तोकिएको छ। लुम्बिनी वाणिज्य क्याम्पस, राममणि क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा भने निर्वाचन टुङ्गो लागेको छैन।

प्युठान समाचारदाताका अनुसार यस जिल्लाका पाँचवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्वसम्मत चयन भएको छ। जिल्लाभित्र रहेका पाँच विद्यार्थी सङ्गठनले गरेको सहमतिअनुसार सबै क्याम्पसमा सर्वसम्मत गरिएको हो। नवनिर्वाचित स्ववियुका पदाधिकारी र सदस्यले सोमबार क्याम्पसबाट प्रमाणपत्र प्राप्त गरेका छन्। स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला, झिमरुक क्याम्पस बाग्दुला, प्युठान क्याम्पस खलङ्गा, अमर क्याम्पस भिङ्गृ र गौमुखी क्याम्पस मच्छीमा नवनिर्वाचित पदाधिकारीलाई क्याम्पस प्रशासनले बधाई दिएको छ।

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अनेरास्ववियु, झिमरुक बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी), प्युठान क्याम्पस र अमर क्याम्पसमा नेविसङ्घ र गौमुखी क्याम्पसमा अखिल (छैटौँ)को नेतृत्वमा सर्वसम्मत गरिएको अनेरास्ववियु प्युठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिनुभयो। 

परासी समाचारदाताका अनुसार अनेरास्ववियु नेतृत्वको प्यानल दुई क्याम्पसमा र एउटा क्याम्पसमा सीके राउत नेतृत्वको जनमत पार्टी नजिकको विद्यार्थी सङ्गठन विजयी भएका छन्। पश्चिम नवलपरासीको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा कामेश पासी र बर्दघाटस्थित चिसापानी क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष किरण बस्याल नेतृत्वको संयुक्त प्यानलले निर्वाचन जितेको छ।

त्यस्तै सदरमुकाम परासीको पाल्ही बहुमुखी क्याप्पसमा सीके राउतको जनमत पार्टी नजिकको जनमत विद्यार्थी सङ्घको अध्यक्ष बृजनन्दन कुर्मीको प्यानल निर्वाचित भएको छ।

दिव्यज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट किरण बस्यालको नेतृत्वमा अखिल क्रान्तिकारी बहुमत), अखिल (क्रान्तिकारी)लगायतको संयुक्त बाम गठबन्धन विजयी भएको छ।