विजयकुमार साह
ढल्केबर, चैत ६ गते । धनुषामा चैते धानमा किसानको आकर्षण बढ्दै गएको छ । वर्षे धानभन्दा धेरै फल्ने, तुलनात्मक रुपमा रोग र कीरा कम लाग्ने भएकाले यहाँका किसानमा चैते धान उत्पादनतर्फ रुचि बढ्दै गएको हो ।
चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपालि दोब्बर क्षेत्रफलमा चैते धान रोपिने अनुमान गरिएको छ। अघिल्लो वर्ष १८ देखि २० हेक्टर क्षेत्रफलमा धैते धान रोपिएको थियो ।
यसपालि २५ देखि ३० हेक्टर क्षेत्रफलमा चैते धान रोपिने स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । यस क्षेत्रमा सिँचाइ सुविधा र वर्षा भएकाले पनि यहाँका किसान धैते धान रोप्न उत्साहित देखिएको छ । रातु नदीबाट कुलोमार्फत यहाँका किसान चैते धान रोपाइँ गरिरहेका छन् । सिँचाईको प्रयाप्त सुविधा नभए पनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत तुसलीस्थित चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपाइँ भइरहेको उहाँले जानकारी दिनुभयो ।
अर्का किसान सुरेश कार्कीले यस क्षेत्रमा विगतको भन्दा अहिले चैते धान रोप्ने किसानको सङ्ख्या र क्षेत्रफल पनि बढेको बताउनुभयो । बर्खे धानभन्दा चैते धान कैयौं गुणा राम्रो भएको किसानको आकर्षण बढ्दै गएको उहाँले भन्नुभयो ।
मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले यस नगरपालिकामा यसवर्ष चैते धानमा वृद्धि हुने बताउनुभयो । सिँचाइको उपयुक्त व्यवस्था तथा किसानलाई अनुदानमा धानको बीउ समयमा उपलब्ध गराएकाले गत वर्षको तुलनामा यसवर्ष चैते धान उत्पादनमा वृद्धि हुने उहाँले जानकारी दिनुभयो । चैते धान खेती विस्तार गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातकोे बीउ उपलब्ध गराएको छ ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लामा चैत धान खेतीका लागि बाहुनमारा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यस अतिरिक्त क्षीरेश्वरनाथ नगरपालिकाको पर्वता, धनुषाधाम नगरपालिकाको किसानपुरलगायत सिँचाई सुविधा भएको दक्षिणी क्षेत्रमा पनि चैते धान खेती हुने गरिएको जानकारी दिनुभयो ।
कतिपय स्थानमा चैते धान रोपाइँ भइरहेको र रोप्ने समय अझै बाँकी रहेकोले जिल्लामा कति हेक्टरमा चैते धान रोपियो भन्ने आधिकारिक रूपमा ठ्याक्कै भन्न नसकिने कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताउनुभयो । यसबाहेक गएको वर्षभन्दा यसपटक चैते धान खेती हुने क्षेत्रफल बढ्ने उहाँकाे भनाइ छ ।