• १० मंसिर २०८१, सोमबार

अधुरै रहेको गणेशको त्यो चित्र

blog

भित्र कोठामा आफ्ना बुवाका प्रिय वस्तुहरूलाई संरक्षण गरेर राखिएको हेर्दा कुनै जुहारीले हीराका टुक्राहरूको चमकलाई जोगाउन संरक्षण गरेको होजस्तो लाग्छ । भित्र पस्नेबित्तिकै दाहिने छेउमा टेबुल छ । टेबुलमा ऐना छ । ऐनाको छेउमा स्केच गर्ने केही कागजका टुक्रा छन् । दक्षिणपूर्व कुनामा आधा बनेको गणेशको चित्र छ । त्यसको छेउमा रङका प्यालेट र ब्रसहरू छन् । 

जब कोही यस कोठाभित्र छिर्दछ, उसले छुट्टै किसिमको अनुभूति गर्छ । एउटा कलाकारको कर्मथलो, उहाँको धामगमनपश्चात् पनि दुरुस्त, यथास्थितिमा छ । यहाँभित्र प्रवेश गर्दा एउटा छुट्टै खालको वातावरण मिल्छ । हरेक बिहान ३ बजे उठेर आफ्नो नित्यकर्म गर्न रुचाउने मनुजबाबु मिश्रको दक्षता चित्रकलामा मात्र थिएन; उहाँ लेखन र वाद्यवादनमा समेत दक्खल राख्नुहुन्थ्यो । उहाँ करिब ३० वर्ष घरबाट बाहिर निस्कनुभएन । यो समय उहाँको दिनचर्या आफ्नै घरको चौघेरामा बित्यो । उहाँको काम गर्ने थलोको एउटा कुनामा मादल अझै झुन्डिरहेको छ । अर्को छेउमा बाँसुरीले त्यो श्वास खोजिरहेको र भुइँमा रहेको हार्मोनियमका तालहरूले मनुजबाबुका औंँलाहरूलाई खोजिरहेका भान हुन्छन् । तबला सारथिविहीन भएको छ । त्यो तबला आफैँ बज्दैन, बजाउने र त्यसलाई बुझ्ने कसले ? बाहिर उहाँले पाल्नुभएका चराचुरुङ्गीले पनि उहाँलाई बोलाइरहेका हुन सक्छन् । 

मनुजबाबु आफ्ना आवश्यकताका सरसामानहरू सकेसम्म प्राङ्गारिक तरिकाबाट जोहो गर्न मन पराउनुहुन्थ्यो । उहाँका एस्ट्रेहरू पनि बाँसका अग्ला, ढक्कन भएका र त्यसमा केही कुँदिएका हुन्थे । त्यसलाई हेर्दा उहाँ कति जाँगरिलो कलाकार हुनुहुँदो रहेछ भन्ने लाग्छ । एस्ट्रेलाई पनि बडो कलात्मक तरिकाले सिँगार्न सक्ने कस्तो शिल्पी !

कोठाको दाहिने भागमा रहेको टेबुलमा दुईवटा ऐना अझै छन् र बीचमा छ स्केच बुक । ती दुई ऐनामा देखिने आफ्नो अनुहारलाई स्केच बुकमा उतार्नु उहाँको दैनिकी सुरुवातको पहिलो खुड्किलो हुन्थ्यो । त्यस टेबुलमा रहेका रङहरू, आफ्नै बारीमा रोपिएका निगालाबाट बनेको कलम, त्यसलाई चाहिने मसी अझै टेबुलका आसपास छन् । बडो जीवन्त तरिकाले तिनीहरूले आफ्नो ठाउँ जमाइरहेका छन् । तिनको मर्म बुझ्ने र तिनलाई आत्मसात् गर्दै अगाडि बढ्ने अर्को पुस्ताको कलाकार रोशन मिश्र त्यहीँ हुनुहुन्थ्यो । त्यसैले ती सबै चिज जोगिएर बसे । अब यिनलाई कालजयी एवं जीवन्त बनाउन रोशन मिश्र सङ्ग्रहालयको कल्पनामा लागिरहनुभएको छ ।  

कोठाभित्रको घडीले ४ बजेको समय देखाइरहेको छ र त्यो टिकटिकाउन बन्द भएको छ । त्यो घडी मनुजबाबुले प्रयोग गर्नुहुन्थ्यो । सायद मिश्रको सखारै ३ बजे उठ्ने दैनिकी त्यस दिन नरोकिएको भए त्यो घडीले दम पाउँथ्यो र निरन्तर आफ्नो गति पछ्याउँथ्यो । तर मनुजबाबु मिश्रको ८३औँ जन्मदिनको करिब १० दिन अघिदेखि त्यो घडीले दम पाएन । मानौँ एउटा माछा पानीविहीन भयो । त्यही दिनदेखि उसको गति रोकियो । घडीको गति मात्र रोकिएन, नेपाली कलाजगत्ले एक मूर्धन्य कलाकारको साथ गुमायो ।

आपूmले प्रयोग गरिरहेको कुनै सामान फुट्यो भने मानिसहरूले त्यसलाई फालिदिन्छन् तर मनुजबाबुले त्यस्तो कहिल्यै गर्नुभएन । उहाँले त्यसको कलात्मक तरिकाबाट सदुपयोग गर्नुभयो । उहाँको मूर्तिकला तथा चित्रकलामा देखिने मौलिकता आजकलका नयाँ कलाकारमा पनि पाउन सकिन्छ । सायद उहाँबाट प्रभावित भएर हुनसक्छ । कैयौँ वर्ष पुरानो टेबुल, कुर्सी र कागजका पानामा लेखिएका ती अक्षरहरू अझै पनि मनुजबाबु मिश्रका घरभित्र रहेको त्यो कोठामा सुरक्षित ढङ्गबाट सङ्गृहीत छन् । त्यसलाई सकेसम्म बिग्रन नदिने प्रण मिश्रका छोरा रोशनले गर्नुभएको छ । 

बुवाका करिब साना, ठूला र स्केच गरेर करिब पाँचदेखि छ हजार जति काम अझै सङ्गृहीत छन् । मिश्र म्युजियमको चर्चासँगै कतिपय विदेशीले किनेका चित्रहरू पनि यदाकदा रोशन मिश्रलाई फिर्ता आउने गर्छ । उहाँको चर्चित मोनालिसाको तस्बिर त्यसैगरी फिर्ता आएको हो । जसले जति मूल्यमा किनेर लगेको थियो रोशनले त्यति नै मूल्यमा त्यो फिर्ता पाउनुभयो । 

मनुजबाबुका २०/२५ वटा स्केच बुक अझै सुरक्षित छन् । उहाँका कति स्केचहरू व्यक्तिका घरघरमा पुगेका पनि हुन सक्छन् । स्केच बुक हेर्दै जाने क्रममा एउटा स्केच अधुरो छाडिएको रहेछ । सायद त्यो उहाँको अधुरो अन्तिम स्केच हुनुपर्छ । त्यसपछाडिका पानाहरू खाली छन् । रोशन मिश्र भन्नुहुन्छ, “बुवाले प्रत्येक जन्मदिनमा आफ्नो स्केच गर्नुहुन्थ्यो । ८३औँ जन्मदिनको स्केचचाहिँ उहाँले आफ्नो जन्मदिनभन्दा केही अघि गर्नुभएको थियो । तिथिका हिसाबले ८३औँ जन्मदिनको १० दिनअघि उहाँले भौतिक शरीर छाड्नुभयो ।” मनुजबाबुका पुराना स्केच बुकहरू अवलोकन गर्दा उहाँका हरेक जन्मदिनमा बन्ने स्केचको छेउमा जन्मदिन उल्लेख गरिएको रहेछ । 

डा. तारानाथ शर्मा, सिद्धिचरण श्रेष्ठ, कुलचन्द्र गौतम, माधवप्रसाद घिमिरे, भूपी शेरचन, लैनसिंह बाङ्देल, नारायणगोपाललगायत धेरै मूर्धन्य स्रष्टाहरूको पोट्रेट मिश्रका स्केचबुकमा जीवन्त भएर बसेका छन् । मिश्र जहिले पनि ‘लाइभ पोट्रेट’ गर्नुहुन्थ्यो । त्यहाँको ठेगाना, मिति र जसको पोट्रेट गरेको हो उसको हस्ताक्षर पनि सँगै लिएर राख्नुहुन्थ्यो, जसलाई आज उहाँका कान्छा छोरा रोशन मिश्रले सुरक्षित राखिरहनुभएको छ ।   

मनुजबाबु मिश्रले बङ्गलादेशको ढाका विश्वविद्यालयमा कलाको अध्ययन गर्नुभयो । त्यति बेला जैनुल आवेदिनको प्रभाव उहाँमा परेको हुनसक्छ । त्यसैले उहाँका कतिपय पेन्टिङ सिरिजहरूमा त्यताको प्रभाव भेटिन्छ । धेरै दुःख र कष्टसँग आफ्नो जीवनलाई सहज बनाउँदै कला क्षेत्रको विकासका लागि जीवन समर्पित गर्नुभएका मनुजबाबु मिश्रका बुवा ज्योतिषशास्त्री हुनुहुन्थ्यो । उहाँले ज्योतिषका विषयमा लेख्नुभएका हस्तलिखित सामग्रीहरू अझै सुरक्षित छन् । 

मनुजबाबु मिश्रले कला सिर्जनाका साथै ‘कलाको विश्व इतिहास नामक’ पुस्तक नेपालीमा लेख्नुभयो । यसले कलाका विद्यार्थीलाई सन्दर्भसामग्रीका रूपमा ठूलो लाभ भएको छ । उहाँले सङ्कलन गरेर सुरक्षित राख्नुभएका हस्तीहाडका सानासाना टुक्राहरूलाई कलात्मक तरिकाले जोडेर काठमा प्रतिस्थापन गरिएको टेबल बढो कलात्मक छ । त्यसलाई कसरी र कुन स्थान दिनुपर्छ भन्ने कुरा एउटा राम्रो कलाकारलाई बढी ज्ञान हुनु स्वाभाविक हो । रोशन मिश्र सम्झनुहुन्छ, “सानो छँदा कतिपय कलात्मक काठका टेबल र कुर्सीहरू भाँचिए भनेर हामीले आगो बालेर तापेका थियौँ ।” 

मनुजबाबु आपूmले कलेजमा पढेका, उहाँले पढाउँदा लेख्नुभएको लेखोट तथा पत्रपत्रिकामा प्रकाशित सामग्रीहरू मिश्रका कोठामा रहेका बाकसहरूमा सुरक्षित छन् । तिनीहरूले पढ्ने मानिस खोजिरहेका छन् । एउटा अध्येताको पर्खाइमा ती सामग्री बाटो हेरिरहेका छन् । मनुजबाबुले देश, विदेश भ्रमण गर्दा प्रयोग गर्ने सुटकेस त्यहाँ सुरक्षित छ । प्राचीन इतिहास र संस्कृतिमा स्नातकोत्तर गर्नुभएका उहाँलाई ऐतिहासिक तथा प्राचीन वस्तुहरूको राम्रो ज्ञान थियो । त्यही भएर प्राचीन वस्तुहरूको महत्व उहाँले बुझ्नुभयो र सङ्गृहीत गर्नुभयो । 

मनुजबाबुको कार्यकक्षको अवलोकन गर्दा उहाँका चित्रकलामा देखिने डमरु, पानी खाने बोतललगायत अन्य विषय उहाँको वरिपरिबाटै आएका हुन् भन्ने भान हुन्छ । उहाँले सङ्कलन गर्नुभएको र प्रयोगका लागि राख्नुभएका जति पनि विषयवस्तु छन्, ती आज पनि कालजयी र यथार्थ धरातलमै सङ्गृहीत भएर बसेका छन् । सुजन चित्रकारले कलेजका दिनमा बनाउनुभएको मूर्ति पनि यहाँ सुरक्षित छ । कोठाबाट बाहिर कलाकार नवीन नाल्बोले बनाएको मिश्रको क्यारिकेचरको चित्रले त्यहाँ छुट्टै स्थान बनाउन सफल भएको छ । घरको परिसरमा पालिएका चराचुरुङ्गी, कलाकार अरनिकोको छुट्टै कल्पनामा बनाइएको मूर्ति हेर्दा मिश्र कस्ता खालका कलाकार हुन् भन्ने कुरा बुझ्न मद्दत पुग्छ ।  “बुवा यति क्रिएटिभ हुनुहुन्थ्यो र यति धेरै सरप्राइज दिनुहुन्थ्यो, त्यसको लेखाजोखा नै छैन । पुरानो घरको बाथरुममा राख्ने ऐनाको पछाडि एउटा कागज राखिएको रहेछ । त्यो ऐना मैले फाल्दा पनि फालिनँ । किन हो थाहा छैन । पछि एक दिन त्यो ऐनाको पछाडि हेर्दा एउटा बोर्ड भेटँे । त्यहाँ रवीन्द्र दाइको पोट्रेट थियो; जुन मेरा लागि सरप्राइज नै थियो,” रोशनले सुनाउनुभयो । 

एक प्रसङ्गमा रोशनले भन्नुभयो, “गणेश कामको शुभारम्भ हो तर बुवाको अन्तिम चरणको अधुरो काम नै गणेश बन्न पुग्यो, जुन अब कहिल्यै पूर्ण हुँदैन ।”