• १० मंसिर २०८१, सोमबार

एक बुँद बुद्धि

blog

पृथ्वी, सूर्य, तारागणको सामूहिक स्वरूपलाई ब्रह्माण्ड (युनिभर्स) भनिन्छ । यसको निमार्ण कसरी भयो भन्ने विषय पनि रहस्यमय छ । यसको आजसम्म प्रमाणित यथार्थ मानव दिमागले भेटेको छैन । तर मानिस यति धेरै जिज्ञासु छ कि उसले ब्रह्माण्डको रहस्य पत्ता लगाउनका लागि अनेक प्रयास प्रत्येक दिन गरिरहेको छ । ब्रह्माण्डका बारेमा अनेक अनुत्तरित प्रश्न छन् । यीमध्ये दुई प्रश्न धेरै सोधिन्छन् । पहिलो हो, ब्रह्माण्डको निर्माण कसरी भयो ? दोस्रो, यो सीमित छ कि असीमित छ ? 

ब्रह्माण्डका बारेमा जान्न किन जरुरी छ भने प्रत्येक मानिस पृथ्वीको अंश भएकाले ब्रह्माण्डको पनि एक अंश हो । त्यसैले मानिसमा ब्रह्माण्डको खोजी गर्नु आफ्नो उत्पत्तिको स्रोत खोज्नु बराबर महŒवपूर्ण हुन्छ । ब्रह्माण्डका दुईवटा गुणका बारेमा हामी सबैलाई जानकारी छ । पहिलो हो, ब्रह्माण्डका दीप्त पिण्ड तातो आगोका डल्ला हुन् । पृथ्वीमा जीवित मानिस तथा पशुपन्छीको जीवन पनि तातोबिना सम्भव छैन । त्यसैले तातोपन, मानिस र ब्रह्माण्डको एउटा समानता हो । अर्को ब्रह्माण्डमा चिसा पिण्ड छन् । जस्तै– पृथ्वीलगायतका ग्रहहरू । मानिस पनि मृत्युपछि चिसो हुन्छ । उसको शरीरबाट तापक्रम हट्दै जान्छ । तातोपनको उपस्थिति र चिसोपन मानिस र ब्रह्माण्डलाई जोड्ने प्रमुख आधार हो । 

ब्रह्माण्ड निर्जीव र मानव सजीव हो र पनि यी दुईबीच सिधा सम्बन्ध छ । यो कुनै आश्चर्यको विषय होइन किनकि हरेक सजीव तŒव निर्जीवको सहाराबिना बाँच्न सक्दैन । उदाहरणका लागि माटो, मल र पानी सबै निर्जीव हुन् तर पनि यी तीन निर्जीवबिना करेलो, काँक्रो र कर्कलो आदि फल्न, फुल्न सक्दैन । यसैगरी समग्र ब्रह्माण्डबिना मानिसको पनि अस्तित्व रहन सक्दैन ।

त्यसैले ब्रह्माण्डका अनेक अज्ञात विशेषताहरूका बारेमा जानकारी पाउन जरुरी छ, जसले मानिसलाई थप क्षमतावान् बनाउन सकियोस् र विभिन्न प्रकारका रोगको उपचार प्राप्त गर्न सजिलो होस् । 

अहिलेसम्मका तर्क 

प्रायः सबै धर्मका पुराणमा ब्रह्माण्डको उत्पत्ति भगवान्को शक्तिबाट भएको भनिएको छ । भगवान् भने पनि अरू नाम दिए पनि कुनै विशेष शक्तिले ब्रह्माण्ड बनाएको हो । त्यसैगरी पृथ्वीको उत्पत्ति हुनुभन्दा अघि यहाँ ठूलो सागर रहेको र मधुकैटभ नामक राक्षसलाई भगवान्ले मारेपछि ती राक्षसको हाडबाट ढुङ्गा, छालाबाट माटो गरी विभिन्न अङ्गबाट अनेक प्राकृतिक तŒव जस्तै– हिमाल, पहाड, वनजङ्गल बनेको भनिएको छ । यो तर्कअनुसार पृथ्वी र ब्रह्माण्ड दुवै भगवान्को शक्तिबाट बनेको हो । 

आधुनिक विज्ञानको दृष्टिमा ब्रह्माण्डको उत्पत्ति महाविस्फोट (बिगब्याङ) बाट भएको हो । कुनै सानो पिण्डमा विशाल विस्फोट भएर आजको यो विशाल ब्रह्माण्ड बन्यो भन्ने मान्यता अहिले सबैभन्दा सर्वमान्य देखिएको छ । यो सिद्धान्तअनुसार २० अर्ब वर्षपहिला ब्रह्माण्डको उत्पत्ति भएको मानिन्छ । यसबाट करोडाँै तारा, ग्यालेक्सी आदि बन्यो भनिएको छ । 

धार्मिक मतको तुलनामा महाविस्फोटको सिद्धान्त बढी वस्तुनिष्ठ र सत्यको नजिक देखिए पनि आजभन्दा हजारौँ वर्षअघि लेखिएको धर्मपुराणको मत पनि कम सान्दर्भिक थिएन । ब्रह्माण्डको निर्माण कुनै न कुनै शक्तिबाट भएको हो भन्ने कुरामा धर्मगुरु र खगोलविद्हरू सहमत छन् ।  

हजारौँ वर्षपहिले ब्रह्माण्ड कुनै शक्तिबाट बनेको कुरालाई परिकल्पना गर्नु पनि सामान्य विषय होइन । यसले के देखाउँछ भने विश्वको सबभन्दा ठूलो प्रयोगशाला मानिसको दिमाग, उसको अनुभव र उसको सोच्ने शक्ति हो । आज प्रयोगमा आएका अनेक प्रयोगशाला र त्यसका औजारहरू मानिसको टाउकोबाट जन्मेका हुन् । जहाजदेखि इन्टरनेट जन्माउन मानिसले अनेक प्रसवपीडा सहेको छ । त्यसैले मानिस आधुनिकताको जनक हो भने शक्ति ब्रह्माण्डको जनक हो परन्तु पत्ता लगाउनुपर्ने अनेक कुरामध्ये ब्रह्माण्डको खोजका अनेक विषयवस्तु अझै बाँकी छन् । 

मानिसको टाउकोले नै विश्व ब्रह्माण्डको विशालकाय आकृतिको परिकल्पना गरेको छ । यो ब्रह्माण्ड दुई ट्रिलियन ग्यालेक्सी (तारामण्डल) भएको अनुमान गरिएको छ र यसको परिधि र परिमाणसमेत वैज्ञानिकले परिकल्पना गरेका छन् ।

यो परिकल्पनाका आधारमा हेर्ने हो भने ब्रह्माण्ड जतिसुकै विशालकाय भए पनि यसको सीमा छ अर्थात् ब्रह्माण्ड सीमित छ । यो तथ्यलाई धर्मपुराणमा पनि लेखिएकै छ । यहाँसम्म आइपुग्दा एउटा सत्य के हो भने ब्रह्माण्ड जतिसुकै ठूलो भए पनि त्यो सीमित छ । 

अर्कोतर्फबाट सोच्ने हो भने ब्रह्माण्ड असीमित पनि हुन सक्छ किनकि महाविस्फोट एक पटक मात्र हुन्छ र भएको हो भन्ने के आधार छ ? यो ब्रह्माण्डको कुनै कुनामा अहिले पनि निरन्तर भइरहेको पो छ कि । महाविस्फोट अहिले पनि भइरहेको छ र आजको एक करोड वर्षपछि पनि हुँदै जान्छ भने ब्रह्माण्ड असीमित हुन्छ । 

जसरी मानिसको शरीर मरे पनि आत्मा असीमित छ भन्ने परिकल्पना गीतामा गरिएको छ, त्यसैगरी ब्रह्माण्ड असीमित छ भने पृथ्वी पनि असीमित हुन सक्छ अर्थात् अर्को पृथ्वी हुन सक्छ । हामीजस्तै कोही अर्को ब्रह्माण्डको पृथ्वीमा जन्म लिँदै पो छ कि ।

जिज्ञासाको सीमा छैन । आश्चर्यको पनि सीमा छैन परन्तु शाश्वत सत्य के हो भने यो ब्रह्माण्डमा अहिलेसम्म प्राप्त जानकारीअनुसार मानिसको दिमागजस्तो असीमित अर्को कुनै वस्तु छैन किनकि यसले ब्रह्माण्डको असीमितताको बारेमा अनुमान लगाउन सकेको छ र आजकल वैज्ञानिकले प्रकाशवर्षजस्तो विशाल मापनको परिकल्पना र अणुभित्रको ज्यादै सूक्ष्म इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनजस्तो सूक्ष्माती सूक्ष्म तŒव पत्ता लगाउने क्षमतालाई हेर्दा मानव दिमाग ज्यादै नै असीमित छ । ब्रह्माण्डकै उत्पत्ति र भोलुम पत्ता लगाएर दायरा बढाउने दिमाग असीमित क्षमतावान् तŒव हो । 

यो क्षमता सबैमा छ तर कसैले यसको प्रयोग व्यापक रूपमा गर्न सक्छ, कसैले सक्दैन । दिमागलाई जसले गतिशील बनाउँछ उसले जीवनमा केही न केही प्राप्त गर्छ । लेन्सको एकाग्रताले पानीमा आगो बालेझँै दिमागको एकाग्रताले कुनै क्षेत्रमा सफलताको आगो लगाउन सक्छ किनकि यसको शक्ति असीमित छ । आजभन्दा हजारौँ वर्षअघि यस्तो श्लोक लेखिएको थियो–

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पुर्णमुदच्यते

पूर्णष्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।। ....ईशावक्योपनिषद 

यस श्लोकको अर्थ ज्यादै व्यापक छ; जसको शाब्दिक अर्थमा बुझ्ने हो भने पूर्णबाट पूर्णको सिर्जना हुन्छ । पूर्णबाट पूर्ण घटाउने हो भने शेष पनि पूर्ण नै रहन्छ । ईशावक्योपनिषद्मा यो श्लोक पढेपछि यसका अनेक अर्थ निकालियो । कसैले यस उपनिषद्का लेखकलाई पागलसम्म भन्न भ्याएका थिए तर आधुनिक विज्ञानको सबैभन्दा मूल सूत्र नै यही श्लोकबाट बनाइएको छ । त्यो सूत्र हो– शक्ति (इनर्जी) ।  शक्तिलाई न उत्पन्न गर्न सकिन्छ न त नष्ट । केवल एक रूपबाट अर्को रूपमा परिणत मात्र गर्न सकिन्छ । गहिरिएर हेर्ने भने विज्ञानको यो सूत्र र ईशावक्योपनिषद्को त्यो माथि उल्लिखित श्लोकबीच के फरक छ त ?

फरक केवल यत्ति छ– पहिलोमा भनियो मात्र प्रमाणित गरिएन । अहिलेको सूत्रलाई प्रमाणित गरियो । यो लेखको मूल आशय नै यत्ति हो । हामीभित्र ब्रह्माण्डभन्दा पनि असीमित क्षमताको दिमाग छ । त्यसलाई प्रयोग गर्न सिकौँ । अरबियन उखानमा भनिएको छ, 

‘तिमी समुद्रको एक बँुद होइनौ, बरु तिम्रो एक बुँद बुद्धिमा सम्पूर्ण समुद्र छ ।’