• १३ वैशाख २०८१, बिहिबार

लगानी भित्र्याउन ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’

blog

काठमाडौँ, चैत ४ गते । नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी गर्न नयाँ अभियान सुरु गरेका छन् । ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ नाम दिएर सुरु गरिएको उक्त अभियानले विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिबाट पुँजी जम्मा गरेर नेपालमा लगानी गर्ने भएको हो । 

अभियानको नेतृत्व दिनुभएका नेपाली मूलका अस्ट्रेलियन नागरिक ज्ञारी (ज्ञानेन्द्र) कार्कीले विदेशी नागरिक भइसकेका नेपालीको ज्ञान, सीप, पुँजी र पेसागत दक्षता नेपालको विकासमा उपयोग गर्न यस्तो अभियान सुरु गरिएको जानकारी दिनुभयो । “यो अभियान गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)भन्दा फरक र त्यससँग असम्बन्धित हो । विदेशी नागरिक भइसकेका नेपालीबाट सानोसानो पुँजीलाई जम्मा गरेर त्यसलाई नेपालमा लगानीका रूपमा ल्याउन यो अभियानले पुलको काम गर्छ,” उहाँले भन्नुभयो ।

विदेशी नागरिकता प्राप्त गरे पनि नेपालको विकास र प्रगतिको चाहना हुने भएकाले यस्तो अभियान सुरु गरिएको कार्कीले प्रस्ट पार्नुभयो । नेपालमा स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न अभियानले प्रारम्भिक रूपमा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशमा जस्तै नेपालमा पनि स्मार्ट सिटीको अवधारणाअनुसार विभिन्न क्षेत्र छुट्याएर आवास क्षेत्र, अस्पताल, पार्किङ बनाउन सक्ने सम्भावना छ,” उहाँले भन्नुभयो । 

एनआरएनएको नाममा ठूला परियोजनामा केही व्यक्तिले मात्र लगानी गर्ने र मुनाफा लगिरहेको अवस्थालाई परिवर्तन गरेर नेपालको विकास चाहने यो अभियानमा जोडिएको कार्कीको भनाइ छ । “विगतमा यहाँ शक्तिको प्रयोग गरेर ठूला परियोजनामा सीमित गैरआवासीय नेपालीले मात्र लगानी गरेर फाइदा लिने प्रवृत्तिलाई अभियानले बदल्न चाहन्छ,” उहाँले भन्नुभयो । यसरी सङ्कलन गरिने पुँजीबाट नेपाल भित्र्याउन नेपाल राष्ट्र बैङ्कले स्पष्ट व्यवस्था गरिदिनुपर्ने कार्कीले बताउनुभयो । “परियोजनामा लगानी गर्ने स्पष्ट मापदण्ड र लगानीको सुरक्षा भयो भने यो अभियानले त्यस्तो पैसा नेपाल ल्याउन सक्छ,” उहाँले भन्नुभयो । त्यसरी लगानी गरेको रकमको मुनाफा लैजान दिने वा त्यसलाई पुनर्लगानी गर्नुपर्ने विषय पनि स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ । 

विदेशमा पनि कर तिरेकै रकम नेपाल ल्याउने हुनाले यहाँ हुने लगानीमा कर छुट भए धेरै रकम ल्याउन सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । “हाम्रो अभियानमा राजनीतिक हस्तक्षेप भयो भने लगानी आउन सक्दैन । प्रक्रिया सहज बनाएर लगानी ल्याउन दिने हो भने १० वर्षमा कोही पनि नेपाली बाहिर जानु नपर्ने वातावरण बनाउन सकिन्छ,” उहाँले भन्नुभयो । 

विपे्रषण र दातृ निकायको सहयोगबाट मात्र मुलुकको आर्थिक प्रगति सम्भव नभएकाले अहिलेको सङ्कटपूर्ण अवस्थामा एनआरएनलाई जोड्नु नै सबैभन्दा महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

नेपाली विद्यार्थीलाई निःशुल्क सीप

कार्कीले आफ्नै नेतृत्वमा अस्टे«लिया पढ्न गएका नेपाली विद्यार्थीलाई त्यहाँ उपयोगी हुने सीप सिकाउने अभियान पनि सुरु गर्नुभएको छ । ‘सारथी फाउन्डेसन’ नाम दिइएको उक्त अभियानले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आईटी, रेस्टुराँलगायतका क्षेत्रमा उपयोगी हुने सीप सिकाउने उहाँले जानकारी दिनुभयो । छोटो समयका त्यस्तो तालिमबाट विद्यार्थीले अस्टे«ेलियामा राम्रो जागिर पाउने अवसर खुल्ने उहाँले बताउनुभयो । यो तालिम लिन विद्यार्थीले कुनै शुल्क तिर्नु नपर्ने उहाँले स्पष्ट पार्नुभयो । 

त्यस्तै उहाँले स्टार्टअप व्यवसायमा पनि लगानी गरिदिने सुविधा उपलब्ध गराउनुभएको छ । त्यस्ता स्टार्टअपको सोचअनुसार न्यूनतम ५० हजार डलर रुपियाँसम्म लगानी गरिरहेको उहाँले जानकारी दिनुभयो । व्यवसाय सञ्चालन गर्दा आवश्यकताअनुसार लगानी पनि थप्दै जाने उहाँले बताउनुभयो । 

अस्टे«लियामा पचास अर्बको कम्पनी

रङ्गेलीमा जन्मनुभएका कार्कीले विगत १४ वर्षको अस्ट्रेलिया बसाइमा ५० अर्ब रुपियाँको ‘भ्यालु’ भएका विभिन्न कम्पनी सञ्चालन र त्यसको नेतृत्व प्रदान गर्नुभएको छ । काठमाडौँमा लामो समय मेडिकल व्यवसाय गर्नुभएका कार्कीले १४ वर्षअघि अस्टे«लियामा गएर व्यवसायबाटै त्यहाँको बसाइ सुरु गर्नुभएको थियो । श्रीमती शक्तिदा बानियाँको सहयोगमा उहाँले अस्ट्रेलियामा रियल स्टेटसँग सम्बन्धित विभिन्न आधा दर्जन कम्पनी सञ्चालन गर्नुभएको छ । 

उहाँको नेतृत्वमा सिड्नीमा मेट्रो प्रोजेक्ट डेलभपमेन्ट्स गु्रप, मेट्रो होम पार्टनर्स, ल्याभिस कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट, अन्नपूर्ण रेसिडेन्सियल, एक्सपर्ट स्टेट एजेन्ट्सलगायतका कम्पनी सञ्चालनमा छन् । यी कम्पनीले रियल स्टेटसँग सम्बन्धित सम्पूर्ण किसिमका सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।