विजयकुमार साह
ढल्केवर, चैत २ गते । धनुषाको सबैला नगरपालिका –१२ रघुनाथपुरमा स्कुल भ्यानको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । रघुनाथपुरमा सञ्चालित इन्टरनेशनल बोर्डिङ स्कुल भ्यानको ठक्करबाट सबैला नगरपालिका–१३ किरतपुरका अनिल यादवको तीन वर्षीय छोरा अभिराज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।
बिहीबार बिहान १० बजे विद्यार्थी लिन गइरहेको अवस्थामा प्रदेश–२–०२–००१ च ००८४ नम्बरको स्कुल भ्यानले रघुनाथपुर चोकमा ती बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
बालकलाई ठक्कर दिने स्कुल भ्यान इलाका प्रहरी कार्यालय सबैलामा राखिएको छ भने बालकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।