• ११ मंसिर २०८१, मङ्गलबार

बाँकेमा अन्तर्राष्ट्रिय फुटबल हुँदै

blog

प्रतियोगिता बारे जानकारी गराउँदै आयोजक । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, चैत १ गते । बाँकेमा अहिलेसम्मकै ठुलो राशिको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा ‘प्रथम कोहलपुर गोल्डकप–२०७९’ सञ्चालन हुने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खेल तालिका, मिति र पुरस्कार राशि सार्वजनिक गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. २ स्थित तेह्र बिघामा रहेको खुल्ला मैदानमा गोल्डकप हुन लागेको हो । गोल्डकप सञ्चालनका लागि ८० लाख रुपियाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि कोहलपुर नगरपालिकाले १० लाख रुपियाँ सहयोग गरेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहनु भएका आचार्यले गोल्डकप सञ्चालनको दौरानमा अझै केही समस्या परिआएको खण्डमा रकम थप गर्न सकिने समेत बताउनुभयो ।

नेपाल, भारत र क्यामरुनका जम्मा ८ वटा टिमको सहभागिता रहने गोल्डकपको प्रथम पुरस्कार राशि ७ लाख, दोस्रो पुरस्कार राशि ३ लाख पचास हजार रहेको छ । साथै गोल्डकपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार रुपियाँ प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो ।