सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, फागुन ३० गते । सिन्धुली जिल्लामा स्थानीय तहले गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचको सुविधा दिन थालेका छन्।
मातृशिशु सुरक्षाका लागि गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचसहित विभिन्न सुविधा उपलब्ध गराउन थालेको स्थानीय तहले जनाएका छन्। पालिकाले गर्भवतीलाई गाउँमा स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएपछि स्वास्थ्य संस्था खोज्दै जिल्ला सदरमुकाम र सहरी क्षेत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
मरिण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मधुसूदन लाखे गर्भवतीको स्वास्थ्य जाँचका लागि पालिकाका नौवटा स्वास्थ्य संस्था र तीनवटा बर्थिङ सेन्टरमा सुविधा उपलब्ध गराएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “प्रोटोकलअनुसार स्वास्थ्य जाँच गराई बर्थिङ सेन्टरमा आई सुत्केरी हुने गर्भवतीलाई सुत्केरी भएपछि गाउँपालिकाले प्रोत्साहनबापत यातायात खर्चबापत एकमुष्ट दुई हजार रुपियाँ उपलब्ध गराउने र संस्थामा आउन तथा घरसम्म जान एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउन थालेको छ।” उहाँका अनुसार पालिकाले २० वर्ष पूरा भएर विवाह गरी गर्भवती भई प्रोटोकलअनुसार स्वास्थ्य जाँच गरी छोरी जन्माउनेलाई पोषण खर्च भनेर यो वर्षदेखि पाँच हजार रुपियाँ दिन सुरु गरेको छ।
त्यस्तै गोलन्जोर गाउँपालिकाकाले पनि सातवटा स्वास्थ्य चौकी, तीनवटा बर्थिङ सेन्टर र पाँच वटा सामुदायिक स्वास्थ्य एकाइमा गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको जनाएको छ।
स्वास्थ्य शाखा संयोजक वीरेन्द्र साहले भन्नुभयो, “हरेक वडामा गाउँघर क्लिनिक पनि ठाउँअनुसार महिनामा तीनदेखि चार दिन सञ्चालन हुन्छ। त्यहाँ पनि त्यो सुविधा उपलब्ध गराएका छौँ। त्योबाहेक सुत्केरी हुन बर्थिङ सेन्टरमा जान एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ।”
सुनकोशी गाउँपालिकाले पनि पालिकामा रहेका पाँचवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र चारवटा सामुदायिक स्वास्थ्य एकाइमा गर्भवतीको स्वास्थ्य जाँचको सुविधा मिलाएको जनाएको छ।
त्यसबाहेक गर्भावस्था थाहा भएदेखि सुत्केरी भएसम्म निःशुल्क क्याल्सियम उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ओमप्रकाश झाले बताउनुभयो। उहाँले भन्नुभयो, “पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकी रेफरको अवस्था आयो भने रेफर गरेको नजिकको अस्पताललाई आधार मानी एकतर्फी एम्बुलेन्स सेवा निःशुल्क गर्ने निर्णय गाउँपालिकाले भर्खरै गरेको छ।”