सन्तोष सुवेदी
कास्की, फागुन २९ गते । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ।
समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
फागुन २५ गते अखिल क्रान्तिकारीसहित अखिल क्रान्तिकारी (विप्लव), अखिल क्रान्तिकारी (बहुमत) र अखिल (छैटौँ) समूहले क्याम्पसमा क्याम्पस प्रशासनसमक्ष त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र प्रकाशित नामावली सच्याई पुनः प्रकाशन गर्नुपर्ने भनी दुईबुँदे माग राख्दै समितिको कार्यालयमा तालाबन्दी गरेका थिए।
देशकै बढी विद्यार्थी मतदाता रहेको पीएनसीमा विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता हुन सकेको छैन। शनिबार बिहान ११ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको थियो।
विद्यार्थीको विरोधले बिहीबारदेखि लागेको ताला शनिबारसम्म नखुलेपछि उम्मेदवारी दर्ता अनिश्चित बनेको हो। तालाबन्दी गरेका चार विद्यार्थी समूहमध्ये अखिल क्रान्तिकारीले शनिबार निर्वाचन प्रक्रिया अघि बढाउने र आफ्नो मागका आधारमा छानबिन पनि गर्दै जाने भन्दै ताला खोलेको थियो तर बाँकी तीन समूहले माग पूरा नहुँदासम्म ताला नखोल्ने भन्दै पुनः ताला लगाएपछि प्रक्रिया प्रभावित भएको थियो।
विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियार र अखिल छैटौँका विवेक अधिकारीले विज्ञप्ति जारी गर्दै व्यक्तिगत विवरण उपलब्ध गराउने पक्षलाई कारबाही गर्नुपर्ने, त्रिविमार्फत तलबभत्ता खाने शिक्षक, प्राध्यापक र कर्मचारीले भोट हाल्न नपाउने र सङ्गठन दर्ताका दिन दर्ता भएका विद्यार्थी सङ्गठनको नाम जस्ताको तस्तै प्रकाशित गर्नुपर्ने माग गरेका छन्।
नेपाल विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस कमिटी सभापति गौरव बरालले नेविसङ्घ चुनाव हुनैपर्छ भनेर अडान लिएर बसेको र ताला लगाउने कार्य निन्दनीय रहेको बताउनुभयो। अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले तालाबन्दीका सम्बन्धमा अनुसन्धान प्रक्रियासँगै निर्वाचन प्रक्रिया पनि अघि बढ्नुपर्ने बताउनुभयो। अन्य सङ्गठनले क्याम्पस परिसरमा प्रहरी ल्याउने विषय मान्दैनाँ भनेपछि प्रशासनले खुट्टा कमाएको उहाँले आरोप लगाउनुभयो।
स्ववियु निर्वाचन हुने क्याम्पसहरू वन विज्ञान, क्याम्पस र जनप्रिय क्याम्पसमा पनि विवादका कारण उम्मेदवारी दर्ता भएन। वन विज्ञान अध्ययन संस्थानमा नेविसङ्घ र अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी मतदाता नामावली विवादका कारण ताला लगाएको छ।