भाइबहिनीहरू, किताबी ज्ञान सँगसँगै हामीहरूलाई बाहिरी ज्ञानको पनि उत्तिकै महत्व हुन्छ । किताबमा पढेका विषयहरू अभ्यासमा गर्न सकिए थप ज्ञानको वृद्धि हुनेगर्छ । अजभोलि हामीले पढेका विषय वास्तविकमा पनि देख्न सजिलो र सम्भव छ । हामीहरूका लागि घुम्न र सिक्न जरुरी छ । त्यसैले तपाईंहरू धेरै ठाउँ घुम्नु भएको छ । तीमध्ये एभिएसन म्युजियम नघुम्ने विद्यार्थीहरू झन् कमै हुनुहुन्छ होला ।
तपाईंहरू सबै जना घुम्नुभएको र घुम्न बाँकी भाइबहिनीहरूका लागि एभिएसनका बारेमा यो सन्देशमूलक जानकारी हुनसक्छ ।
तीनकुने हुँदै सिनामङ्गलतर्फ अगाडि बढेपछि बायाँपट्टि हामीले ठूलो प्लेन देख्छौँ जसमा लेखिएको छ ‘एभिएसन म्युजियम’। एभिएसन भन्ने बित्तिकै हामी सबै जनाले बुझ्छौँ कि यो प्लेन हो । सात करोडको लगानीमा काठमाडौँको सिनामङ्गलमा विश्वकै फरक हवाई उड्डयन सङ्ग्रहालय अर्थात् ‘एभिएसन म्युजियम’ आठ हजार वर्ग फिट जग्गामा उक्त म्युजियम बनाइएको हो । यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्बाइ १९७ फिट र उचाइ ५६ फिट छ ।
भाइबहिनीहरू तपाईंहरूलाई थाहा छ इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याउनुभएको यो म्युजियम विश्वकै फरक र अनौठो छ ।म्युजियममा भएको यो ठूलो प्लेन टर्किस एयरको एयरबस–३३० हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन सङ्ग्रहालयमा राखिएको छैन । ४४० जना यात्रु क्षमताको यो वाइड बडी विमान विश्वकै आधुनिक विमान हो । दिनहुँ सय जनाभन्दा बढी विद्यार्थी एभिएसन म्युजियम अवलोकनका लागि आउने गर्छन् । अरू दिनको तुलनामा शनिबारको दिन धेरै मानिस एभिएसन पुग्नुहुन्छ । प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने यो सङ्ग्रहालय अवलोकनका लागि टिकट दर २५० रुपियाँ र विद्यार्थी परिचयपत्र हुनेहरूका लागि ५० प्रतिशत छुट र कक्षा १ सम्म र त्योभन्दा साना विद्यार्थीहरूलाई त्यसमा पनि ५० प्रतिशत छुट गरेर ७५ रुपियाँ मात्रै लाग्ने व्यवस्थासमेत गरिएको छ ।
विद्यार्थी भाइबहिनीहरूलाई एभिएसनसम्बन्धी जानकारी दिने उद्देश्यले यो सञ्चालनमा ल्याइएको हो । जहाजका बारेमा र यसको इतिहासका बारेमा विद्यार्थीहरूले जानकारी लिन सक्छन् । बच्चाहरूका लागि एभिएसनले छिटै भारतबाट ऊँट ल्याउने तयारीमा छ । एभिएसन म्युजिएमभित्र सबै किसिमका मोडल जहाजहरूको इतिहासबारे जानकार हुनुका साथै एभिएसन पार्कमा बच्चाहरूका लागि निःशुल्क प्ले ग्राउन्ड स्टेसनको व्यवस्था गरिएको छ । म्युजियमभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका ३५० भन्दा बढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक युद्धक विमान, सयौँ व्यापारिक एयरलाइन्सका विमान, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्विरेल हेलिकोप्टर आदिबारे कैयौँ ज्ञानवद्र्धक जानकारी हामीले त्यहाँ उपलब्ध गर्न सक्छौँ भाइबहिनीहरू ।प्ले ग्राउन्ड स्टेसनमा ठूलो झुला राखिएको छ जसमा बच्चाहरू मजाले रमाउन सकिन्छ ।
यीलगायत भाइबहिनीहरू पार्कभित्र तपाईंहरूलाई उपयुक्त विज्ञान प्रदर्शनीको व्यवस्था गरिएको छ । जसमा विभिन्न थरीका ज्ञानमूलक परीक्षणहरू प्रशिक्षणमा राखिएको छ । यस्तै एभिएसनमा ठूलो चौर छ जहाँ भाइबहिनीहरू सबै जना आरामसँग खेल्ने, रमाइलो गर्ने, बसेर खाजा खाने र साथीहरूसँग विभिन्न आउटडोर खेलहरू खेल्न सकिन्छ । त्यसबाहेक म्युजियमभित्र आफ्नो इच्छाअनुसारको खाजासमेत किनेर खान पाइन्छ, खाजा पसलको पनि व्यवस्था छ ।
करिब २५ अर्ब ६४ करोड रुपियाँ पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउन्डेड भएको थियो ।
सो विमानलाई उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गरेर सङ्ग्रहालय बनाएको हो । त्यसैगरी भाइबहिनीहरू यस सङ्ग्रहालयभित्र एभिएसनको इतिहास, नेपालका महìवपूर्ण प्राकृतिक सम्पदा, धार्मिकस्थलका तस्बिर समेटिएको एरियल फोटोग्राफी ९ आकाशबाट खिचेका तस्बिरको मजा लिन सकिन्छ ।
भाइबहिनीहरू तपाईंहरूमध्ये कति जनाको आकाशमा उड्ने चाहना होला, पाइलट बन्ने सपना होला । सानैदेखि आफ्नो ठाउँमा भएको उपयुक्त ज्ञान र जानकारीले भविष्यमा अझै थप मद्दत गर्नेछ । भाइबहिनीहरू प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने यो सङ्ग्रहालय अवलोकनका लागि जाँदा रमाइलोसँगै ज्ञान पनि हासिल गर्न सकिन्छ ।