काठमाडौँ, फागुन २८ गते । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेको छ । देशका १५ जिल्लामा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान थियो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हात्तीपाइलेको औषधि खुवाउने अवधि पाँच दिन थपिएको जानकारी दिनुभयो । उहाँले ती जिल्लामा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने बताउनुभयो ।
डा. दासका अनुसार मोरङ, महोत्तरी, झापा, धनुषा, सर्लाही, रसुवा, रौतहट, बारा, कपिलवस्तु, पर्वत, बागलुङ, लमजुङ, कैलाली, बाँके र दाङ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थललगायतमा केन्द्र स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ । डा. दासले औषधि तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिक स्थलमा खुवाइने भन्दै दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्ने बताउनुभयो ।