• ११ मंसिर २०८१, मङ्गलबार

कठोर हुन्छ सत्य

blog

जङ्गबहादुर राणा (कुँवर) २९ वर्षको उमेरमा प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यसपछि उनका परिवारका सदस्य, नातागोता एवं प्रियजनले विभिन्न पद पाए । कोतपर्व भनिएको हत्याकाण्डमा आफ्ना प्रमुख विरोधीलाई मारेर सर्वशक्तिमान बनेका जङ्गबहादुरको आत्मवृत्तान्त लेख्ने उनका छोरा पद्मजङ्गले जङ्गबहादुरको कालखण्डको सजीव चित्रण गरेका छन् । जङ्गबहादुरले गरेका कर्मको विश्लेषण गर्दै केही इतिहासकारले सही र गलत कर्मका कारण कुनै व्यक्ति इतिहासको पात्र बन्न सक्छ भनेका छन् ।

ऐन, कानुन तथा संविधान बन्नुभन्दा हजारौँ वर्षपहिले पनि हाम्रा पुर्खा काइदा–कानुन, सच्चरित्र र कर्तव्य (धर्म) पथमै थिए । सही र गलतको व्याख्या धर्मशास्त्रमै थियो । प्राचीन ग्रन्थ पढेर त्यसका आधारमा कुवेरको पुष्पक विमान बनेको बुझेपछि धादिङका अच्युतानन्दले विमान बनाएको बालकृष्ण समले ‘मेरो कविताको आराधन’ र स्वामी प्रपन्नाचार्यले ‘वेदमा के छ ?’ भन्ने ग्रन्थमा लेखेका छन् । महर्षि भारद्वाज लिखित ‘बृहद् विमानशास्त्र’ राइट बन्धुले विमान बनाउनुभन्दा हजारौँ सालपहिले लेखिएको थियो । यसबाट पुष्टि हुन्छ, हाम्रा प्राचीन धर्मग्रन्थ राजनीति, राजधर्म, राष्ट्रधर्म, ज्ञान–विज्ञान, दर्शन, साहित्यलगायत सबै विषयका स्रोत थिए । 

नेपालका विश्वविद्यालयले मेकियाभेलीको शैलीमा पाठ्यक्रम बनाउँदा मौलिक परम्परा तथा हजारौँ वर्षअघिका ज्ञानहरूका बारेमा चासो राखेनन् । उत्ताउलो, आधारहीन र टापटिपे जीवनशैलीमा रमाउने आजका कैयन् युवालाई त नेपाली इतिहास, साहित्य, परम्परा र संस्कृतिको सामान्य ज्ञानसमेत छैन । कलेजबाट प्राप्त ‘नलेज’ जागिर खाने मेलो मात्र भएको हुँदा सही र गलत छुट्याउने विवेक हराइरहेको अवस्था छ ।

धादिङको चरङ्गेफेदी अचानेका पण्डित अच्युतानन्दनले प्रोत्साहन दिँदै पिता श्री ३ वीरलाई सबै कुरा जाहेर गरेपछि अच्युतानन्दले दस हजार रुपियाँ बकस त पाए तर ऋण तिर्दा सबै खर्च सकियो । उनले हार खाएनन्, आविष्कारमा लागे । गेहेन्द्रले तोप र मेसिन गन बनाउँदा उनलाई मद्दत गर्ने मुसे थापाहरू राज्यको कोपभाजनमा परेका थिए । सही र गलत छुट्याउन सक्ने समाज भइदिएको भए ती वैज्ञानिकले दुःख पाउने थिएनन् । 

ऋग्वेदमा मानिस उड्न र समुद्रमा कुनै साधनले पारिसम्म पुग्न सक्ने उल्लेख छ । सात हजार वर्षपहिले नै हिमालदेखि कन्याकुमारीसम्मको आर्य सभ्यतामा आकाशमा उड्ने विमान थिए भन्ने भारतीय विद्वान्ले दाबी गरेका छन् । भारतीय विज्ञान सम्मेलन (सन् २०१५)मा त्यसबारे चर्चा भएको थियो । वैज्ञानिकको तर्क थियो, “आधुनिक विज्ञान–प्रविधिको स्रोत, जरो वा उद्गम खोज्न प्राचीन युगमा पुग्नैपर्छ । तब मात्र सही र गलत बुझ्न सजिलो हुन्छ ।”

आर्यभट्टले इसाको पाँचौँ शताब्दीमा खगोलशास्त्र रचना गरेपछि संसारले धेरै कुरा थाहा पायो । पूर्वी गोलार्धमा व्याप्त 

ज्ञान–विज्ञानको सुवास युरोपसम्म फैलियो । पश्चिमी राष्ट्रका विद्वान्–विदुषी ज्ञान खोज्दा हिमाली क्षेत्रसम्म आएको जर्मन लेखक होल्गर केस्र्टनले लेखेका छन् । उनले जिसस क्राइस्टले भारतमा बसेर प्राचीन धर्म र सदाचारको शिक्षा लिएको कुरा ‘जिसस लिभ्ड इन इन्डिया’ ग्रन्थमा उल्लेख छ । मिर्जा गुलाम अहमदले सन् १८९९ मा श्रीनगर (कास्मिर)मा फ्राइस्टको समाधि रहेको उल्लेख गरेका छन् ।

शिक्षाको प्रमाणपत्र लिएकालाई हामी शिक्षित भन्छौँ । ब्रिटेनमा ‘एडुकेटेड’, अमेरिकामा ‘एजुकेटेड’ भन्छन् । विद्वान्–विदुषी हुन औपचारिक शिक्षाको प्रमाणपत्र आवश्यक हुँदैन । बुद्ध, जनक, शङ्कराचार्य, महावीर, द्रोणाचार्य, च्यवन, वाल्मीकि र विश्वामित्र कसैसँग डिग्री थिएन । गुरु पद्मसम्भवले ध्यान, जप, साधना र स्वअध्ययनबाट ज्ञान प्राप्त गरेर लाखौँ मानिसलाई सही र 

गलत सिकाए । हाम्रा पुर्खाले कुनै पनि ज्ञान पश्चिमी गोलाद्र्धबाट सापटी लिएनन् ।

आधुनिक भाषामा मेडिकल साइन्स भनिएको आयुर्विज्ञानबारे आयुर्वेदमा सबै उल्लेख छ । नब्बे किलोग्राम होस् वा पचास किलोग्राम तौलको शरीर, दुवैलाई आधुनिक चिकित्सकले एकै खालको औषधि दिए पनि आयुर्वेदले उमेर, स्पन्दन, हावापानी, शारीरिक तौल आदि विचार गरेर मात्र औषधि सेवन गर्ने अनुमति दिन्छ । इन्जिनियरिङ, कृषि, नाचगान, खेलकुद, वास्तुशास्त्र, गृहनिर्माण कला, हतियार उत्पादन र चलाउने विधि, युद्धकला, सेनाको संरचना, विदेशनीति, राजनीति, कूटनीति, जासुसी कलालगायत सबै विद्यामा पारङ्गत बनाउने ज्ञान दिन्थे, पुर्खाले । तसर्थ अहिलेको शिक्षा मात्र गतिलो हो भन्ने भ्रमबाट मुक्त हुन प्राग्ऐतिहासिक कालदेखिको ज्ञान–विज्ञान र विद्वत् परम्पराको अध्ययन गर्नुपर्छ ।

इमानदारी, उत्साह, अनुशासन, संचेतना, उदात्त चरित्र, अठोट, आशा, कठोर परिश्रम गर्ने आदत र परोपकारको भावना भएका मानिसलाई समाजले उत्कृष्ट भनेको छ । अर्बौं रुपियाँको सम्पत्ति भए पनि दया, क्षमा, करुणा र सद्विचारले धेरै मानिस दरिद्र हुन्छन् । उनीहरू सही र गलतबीच अन्तर छुट्याउन सक्दैनन् । आफ्ना कुरा मात्र सही र अरूका गलत भन्ने अहङ्कारले धेरैलाई अभिमानी बनाएको पाइन्छ ।

प्रसिद्ध साहित्यकार मार्क ट्वेनको कथन मानवीय र घतलाग्दो छ, “साँच्चै महान् मानिसले अरूलाई पनि महान् बनाउँछन् ।” यसको अर्थ हो, सही र गलत छुट्याउने विवेक महान् मानिससँग हुन्छ । उनीहरूको सङ्गतले मानिसले धेरै सिक्छन् । हाम्रा ऋषिमुनि र प्राचीन ग्रन्थहरूले त्यसलाई सत्सङ्ग भनेका छन् । सही मानिस र सही विचारको अनुसरण र अनुकरण मात्र जीवनोपयोगी हुन्छ ।

सत्य कठोर हुन्छ । जसरी लाखौँ मानिस चिच्याए पनि पित्तल सुन ठहरिँदैन, फोहोरलाई सफा भन्न सकिँदैन, दुष्टलाई शिष्ट मान्न मिल्दैन, त्यसैगरी जे सत्य हो, त्यो सत्य रहन्छ । सत्य बोल्न कुनै बहाना, छलछाम वा दुःख गर्नै पर्दैन, सत्य मात्र बोले पुग्छ । सत्य मार्गमा हिँडे पुग्छ । अनन्त चाहना, असीमित इच्छा र प्रचुर लोभका कारण मानिस दुःखी बन्छ । अरूसँग तुलना गरेर कुण्ठित हुने, विगतका कुरा र भविष्यको चिन्तामा ग्रस्त बन्ने, आफूले प्राप्त गरिरहेको खुसीमा रमाउनुको सट्टा आत्मालाई दुःखी बनाएर मानव जीवनलाई नै बोझ ठान्नेहरू यदाकदा गलत निर्णय गरेर अविराम सङ्कटमा घेरिएका उदाहरण छन् । यसको दुष्प्रभाव व्यक्ति र परिवारमै पर्ने गर्छ ।

विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण पद्धतिमा सुधार नगर्ने हो भने सत्यको अन्वेषण, राष्ट्रप्रतिको गौरव, इतिहासको सम्मान र सभ्यता संस्कृतिप्रतिको चेतना हराउँदै जान सक्छ । धन कमाउने र पेट पाल्ने कुरामा मात्र शिक्षालाई सीमित गर्ने हो भने राष्ट्रबारे चिन्तन गर्ने जनशक्ति उत्पादन हुन सक्दैन । राजनीति, कूटनीति, न्यायपालिका, कर्मचारीतन्त्र, शैक्षिक क्षेत्र सबैलाई उच्चकोटीको मस्तिष्क आवश्यक हुन्छ । जागिरे मनोवृत्ति मात्र प्रोत्साहित भएमा हामी समुन्नत हुन सक्दैनौँ । राष्ट्र आर्थिक र बौद्धिक दुवै दृष्टिले मरुभूमि बन्न सक्छ ।

सत्य बोल्ने, सत्यको बाटो मात्र हिँड्ने र सत्य कठोर हुन्छ भन्ने बुझेर सामना गर्ने शक्ति भएका व्यक्तिहरूको बाहुल्य भएमा राष्ट्रले स्वतः उन्नयनको बाटो लिन्छ । सत्य ढाकछोप गर्दा न सुशासन हुन्छ, न कानुनी राज्यको धारणा बलियो हुन्छ । श्रीमद्भागवत (गीता)मा भगवान् कृष्णले भन्नुभएको छ, “सङ्कीर्ण सोचका कारण मानिस खुम्चिन्छ, विस्तीर्ण हुन सक्दैन । उन्मुक्त, सत्य र उदार विचारले मात्र मानिसका समस्याको समाधान हुन्छ ।” “राष्ट्र सर्वाेपरि हुन्छ” भन्ने गीताको पवित्र वचन नै हरेक राष्ट्रको मूलनीतिको आधार बन्ने गरेको पाइन्छ । सत्य कठोर भएकै कारण राष्ट्रका संयन्त्रका निम्ति राष्ट्रको भाग्य, भविष्य र उत्थान सर्वाधिक चासोको विषय बन्ने कुरा सबैले स्वीकारिरहेका छन् । त्यसकारणले कुनै व्यक्ति, समूह र शक्तिले सत्यलाई असत्य बनाउन सक्दैन ।

लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।