• १३ साउन २०८१, आइतबार

एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : अध्यक्ष ओली

blog

पत्रकारसँग कुरा गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, फागुन २५ गते।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो। कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम आएका छैनौं।’’

अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताउनुभएको हो। उहाँले आगामी राष्ट्रपतिबाट देशको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नुपर्छ।’’ 

अध्यक्ष ओलीले सङ्कीर्ण स्वार्थ बोकेकाले राष्ट्रपतिको विरोध गरेको भए पनि यसअघिका राष्ट्रपतिले राम्रो काम गरेको उल्लेख गर्नुभएको छ। पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गर्नुभएको हो।