• २ चैत २०८२, सोमबार

ट्याक्टर दुर्घटनामा एक मृत्यु, तीन घाइते

blog

अमरराज नहर्की
तनहुँ, चैत २ गते ।
तनहुँको भिमाद नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुचाखानीबाट निर्माण सामग्री लिएर ठकुरीथर जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर सडकको नालीमा पल्टिँदा घाइते भएका कामदारको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–१ घर भएका ४५ वर्षीय लङ्डु थारु (माइला) को आइतबार साँझ मृत्यु भएको हो । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।  मृतकको शव पोष्टमार्टमपश्चात उहाँका छोरा यामलाल थारुले बुझिसकेका छन् ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका थिए । घाइते हुनेहरूमा म्याग्दे गाउँपालिका–५ का ३२ वर्षीय चालक अनिल कुमाल, ५० वर्षीय नारायण पुन र ५१ वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । घाइतेमध्ये अनिल र नारायणलाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो भने दुर्गाबहादुरको स्थानीय मेडिकलमा उपचार भएको थियो ।  प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो ।