निर्वाचन लोकतन्त्रको विशेष पर्व र नागरिकले एकसाथ मनाउने उत्सव हो । जहाँ नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर देशको भाग्य र भविष्य फैसला गर्छन् । निर्वाचनपछिको परिणामले कसैलाई सत्ताको बागडोर सुम्पिन्छ भने कसैलाई प्रतिपक्षको जिम्मेवारी । पछिल्लो समय नेपाली राजनीतिमा एउटा घातक प्रवृत्ति मौलाएको छ ‘आफ्नो पक्षमा आएको मतलाई क्रान्तिकारी र विवेकपूर्ण देख्ने तर प्रतिकूल मतलाई नकारात्मक वा भ्रमित ठान्ने ।’ यो प्रवृत्ति केवल राजनीतिक अहङ्कार मात्र होइन, बरु सिधा रूपमा जनमतको अपमान र लोकतान्त्रिक मूल्यको परिहास हो ।
चुनावमार्फत नागरिकले आफ्नो अधिकार प्रयोग गर्दै राज्य सञ्चालनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्छन् । यसरी प्राप्त हुने परिणामलाई जनमत भनिन्छ । जनमत कुनै दल, नेता वा समूहको निजी सम्पत्ति होइन; यो सम्पूर्ण नागरिकको सामूहिक अभिव्यक्ति हो । चुनावपछि प्राप्त परिणामप्रति देखाइने राजनीतिक दलहरूको व्यवहार लोकतन्त्रको संस्कार र परिपक्वताको महत्वपूर्ण सूचक मानिन्छ ।
चुनाव परिणाम सार्वजनिक भएपछि राजनीतिक दलहरू प्रायः दुई प्रकारका प्रतिक्रिया दिँदै आएका देखिन्छन् । आफ्नो पक्षमा आएको मतलाई सकारात्मक, प्रगतिशील र जनताको सही निर्णय भनेर व्याख्या गरिन्छ तर आफ्नो प्रतिकूल आएको मतलाई नकारात्मक, भ्रमित वा गलत भनेर टिप्पणी गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाने व्यवहार होइन । जनताको निर्णयलाई आफ्नो अनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अवमूल्यन गर्ने प्रवृत्तिले अन्ततः जनमतको गरिमा नै कमजोर बनाउँछ । जनमतलाई लिएर जय पराजय दुवै भोगेका दलहरूले अपमान गरेका छन् । क्षेत्र भूगोल र आफूले पाएको मतलाई अवमूल्यन गर्ने प्रयास गरेका छन् । जुन नितान्त गैरजिम्मेवारपन हो ।
लोकतन्त्रमा मत दिने नागरिक समान अधिकार भएका स्वाधीन व्यक्ति हुन् । उनीहरूले आफ्नो अनुभव, अपेक्षा, विचार र विश्वासका आधारमा निर्णय गर्छन् । कुनै पार्टी वा उम्मेदवारको पक्षमा गएको मतलाई मात्र सही र अर्को पक्षमा गएको मतलाई गलत भन्नु मूलतः जनताको स्वतन्त्र निर्णयको अवमूल्यन हो । यस्तो टिप्पणीले दीर्घकालीन रूपमा नागरिकमा निराशा, असन्तोष र अविश्वास पैदा गर्न सक्छ । जब नागरिकलाई आफ्नै निर्णयको सम्मान हुँदैन भन्ने अनुभूति हुन्छ, तब लोकतन्त्रप्रतिको भरोसा पनि कमजोर हुँदै जान्छ । लोकतन्त्रमा धेरै मत ल्याउनेले सरकार चलाउँछ र थोरै मत ल्याउनेले खबरदारी गर्छ । थोरै मत पाउनुको अर्थ त्यो विचार वा दल पूर्णतः खारेज भएको होइन, बरु सुधारका लागि जनताले दिएको अवसर हो । प्रत्येक मतमा एक नागरिकको आशा, भरोसा र सपना जोडिएको हुन्छ । मतको सङ्ख्या जतिसुकै भए पनि त्यसको गरिमा र वजन बराबर हुन्छ ।
अनुकूलतामा मात्रै सचेत जनता
राजनीतिक दलहरूले आफूले जित्दा जनतालाई ‘महान र सचेत’ भन्दै प्रशंसाको पुल बाँध्ने गर्छन् । त्यही जनताले जब अर्को पक्षलाई रोज्छन्, तब तिनै नेताहरूले जनता अचेत भएको, प्रलोभनमा परेको वा गलत बाटो रोजेको आरोप लगाउन पछि पर्दैनन् । यो दोहोरो चरित्रले के प्रस्ट पार्छ भने नेताहरूले जनताको विवेकलाई होइन, केवल आफ्नो स्वार्थ र शक्तिलाई मात्र केन्द्रमा राखेका छन् । जनता कसैको ‘भोट बैङ्क’ होइनन्, उनीहरू सार्वभौम निर्णायक हुन् । जनताले आफ्नो निर्णय बदल्न, पुनर्विचार गर्न र कायम राख्न पाउने स्वतन्त्रतालाई जो कसैले पनि उल्याउनु राम्रो होइन ।
जनमतको दार्शनिक पक्ष
लोकतन्त्रमा मतको सङ्ख्याले प्राविधिक जित–हार त तय गर्ला तर मतको मूल्य कहिल्यै सानो वा ठुलो हुँदैन । ठुलो र फराकिलो जनमत पाउनेले आफूले पाएको अभिभारा (जनमत) लाई दम्भको रूपमा होइन, जिम्मेवारीको रूपमा लिनु पर्छ । थोरै मत ल्याउनेले जनमतलाई तिरस्कारको रूपमा होइन, आत्मसमीक्षा र सुधारको सन्देशका रूपमा बुझ्नु पर्छ । थोरै मत पाउनुको अर्थ त्यो विचार वा दल पूर्णतः गलत हुनु होइन । प्रत्येक एक मत पछाडि एक नागरिकको आशा, पीडा र सपना लुकेको हुन्छ । मत परिणामलाई ‘राम्रो’ र ‘नराम्रो’ भनी वर्गीकरण गर्नु नागरिकको हृदयमा चोट पु¥याउनु हो । हरेक सार्वभौम नागरिकको निर्णयको मत अमूल्य हुन्छ ।
निर्वाचन केवल सत्ता प्राप्तिको प्राविधिक माध्यम मात्र होइन, यो त समाजका विविध विचार र आकाङ्क्षाको समष्टिगत प्रतिविम्ब हो । हाम्रो राजनीतिक परिपाटीमा एउटा ठुलो खाडल छ, विजयी उम्मेदवारले आफूले पाएको मतलाई मात्र वैध ठान्ने र पराजित उम्मेदवारले पाएको मतलाई अर्थहीन मान्ने । यही मानसिकताका कारण निर्वाचित प्रतिनिधि आमजनताप्रति उत्तरदायी हुनुको साटो आफ्नै अहङ्कारको घेरामा खुम्चिने गरेका छन् । मैले जितेँ, अब म जे पनि गर्न पाउँछु भन्ने दम्भ र मैले हारेँ, अब मेरो कुनै जिम्मेवारी छैन भन्ने पलायनवाद यी दुवै प्रवृत्ति जनमतको अपमान हुन् । विजयीको गणित र पराजितको गरिमाले लोकतन्त्र बलियो बन्छ । निर्वाचनको दार्शनिक पक्ष पनि यही हो ।
जब दलहरूले जनमतको अपमान गर्छन्, त्यसले नागरिकमा राजनीतिप्रति नै वितृष्णा पैदा गर्छ । हामीले जतिसुकै सोचेर भोट हाले पनि नेताहरूले हाम्रै विवेकमाथि प्रश्न उठाउँछन् भन्ने भावना जागृत भएमा निर्वाचन र लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास धर्मराउन सक्छ । यसले समाजमा असहिष्णुता र धु्रवीकरण मात्र बढाउँछ, जुन समृद्ध राष्ट्रका लागि घातक सिद्ध हुन्छ ।
प्रत्येक मत नैतिक करार
निर्वाचनमा कुनै पनि उम्मेदवारलाई प्राप्त हुने मत केवल कागजको एउटा टुक्रा वा विद्युतीय मेसिनको अङ्क होइन । त्यो त मतदाता र उम्मेदवारबिचको एउटा नैतिक करार वा विजयी हुनेले पाएको मत कार्यान्वयनको म्यान्डेट हो । पराजित हुनेले पाएको मत निष्ठा र विश्वासको नासो हो । जब हामी पराजित उम्मेदवारको मतलाई कम मूल्याङ्कन गर्छौं, तब हामीले ती हजारौँ–लाखौँ नागरिकको आशा र विश्वासलाई पनि उपेक्षा गरिरहेका हुन्छौँ । पराजित उम्मेदवारले पाएको मतले पनि एउटा स्पष्ट सन्देश दिइरहेको हुन्छ । त्यो मत उक्त उम्मेदवारको नीति, उसको नैतिकता र उसले अघि सारेको विधिको शासनप्रतिको प्रतिबद्धतामाथिको विश्वास हो । विजेताले शासन गर्ने वैधानिकता पाए पनि, पराजित उम्मेदवारले पाएको मतले समाजमा अझै पनि यो विचार र निष्ठाको आवश्यकता छ भन्ने तथ्यलाई जीवित राख्छ । विजेताले ती मतहरूलाई सम्मान गर्न सकेन भने, उसले समाजको एउटा ठुलो हिस्साको भावनालाई प्रतिनिधित्व गर्न सक्दैन । नीति, नैतिकता र विधिको कसीमा हरेक नागरिकले आफूले विश्वास गरेको पार्टी र उम्मेदवारलाई मत प्रदान गरेको हुन्छ ।
नयाँ शक्तिको उदय
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशातीत सफलता हासिल गर्दै देशको सबैभन्दा ठुलो दल बनेको छ । प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ पनि उल्लेख्य मत (करिब ५१ लाख ८३ हजार भन्दा बढी) प्राप्त गरी रास्वपा दुई तिहाइको नजिक छ । यसको विपरीत दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस दोस्रो (१७ लाख ५९ हजार केही बढी) नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएका छन् । नेकपाको पनि स्थिति सबल रहेन ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट असमयमा राजिनामा दिएर हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टी उदीयमान देखिएको छ । वैकल्पिक शक्तिको नयाँ दाबीसहित आएको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका लागि पनि चुनावले नतिजा ल्याउन सकेन । प्रायः पुराना र शीर्ष नेताहरूले आफ्नै सुरक्षित मानिएका क्षेत्रमा पराजय भोगेका छन् । बालेन्द्र (बालेन) शाह र रवि लामिछाने जस्ता व्यक्तिको प्रभावले गर्दा स्वतन्त्र र युवा उम्मेदवारले ठुला सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि बलियो पकड बनाएका छन् । काठमाडौँ, ललितपुर र तराईका प्रमुख क्षेत्रमा रास्वपा र युवा उम्मेदवारको वर्चस्व देखियो, जसले परिवर्तनको तीव्र भोकलाई उजागर गरेको छ ।
मतदाताले यसपटक ‘नो नट अगेन’ को नारालाई मतदान केन्द्रसम्म पु¥याएका छन् । पुराना दलहरूको कार्यशैली, भ्रष्टाचार र स्थिर सरकारको अभावप्रति जनताले ब्यालेटमार्फत मौन विद्रोह गरेका हुन् । मधेशकेन्द्रित दल र पहाडका कम्युनिस्ट किल्लामा समेत नयाँ शक्तिको लहर देखिनुले क्षेत्रीय र वैचारिक राजनीतिभन्दा माथि डेलिभरीको राजनीतिले प्राथमिकता पाएको देखिन्छ ।
निष्कर्ष
अन्ततः जनमत लोकतन्त्रको त्यस्तो ऐना हो, जहाँ नागरिकले आवधिक रूपमा दलहरूको नीति र निष्ठाको परीक्षण गर्छन् । २०८२ को निर्वाचन परिणामले परम्परागत राजनीतिक केन्द्र भञ्जन गर्दै परिवर्तनको पक्षमा दिएको सन्देशलाई विजयीले दम्भ र पराजितले आरोपका रूपमा नलिई, जनअपेक्षा सम्बोधन गर्ने साझा अवसरका रूपमा लिनु पर्छ । मतको गणित जस्तोसुकै भए पनि प्रत्येक मतभित्र लुकेको नागरिकको विश्वास र नैतिक करारलाई सम्मान गर्नु नै लोकतन्त्रको वास्तविक गरिमा र सुसंस्कृत राजनीतिक आधार हो । जनमतले दलहरूको फेरि परीक्षा लिएको छ । सो परीक्षा पुनः अर्को निर्वाचनमा परीक्षित हुने छ । जनमतले जहिल्यै राम्रो काम गर्ने अवसरका लागि ढोका थुन्दैन ।