काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताले भेटवार्ता गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेता प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुग्नुभएको हो ।
भेटमा नयाँ सरकार गठन, राजनीतिक समीकरण र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । उक्त भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगै कांग्रेस उपसभापति पुष्पा भुसालसमेत सहभागी हुनुहुन्थ्यो ।
गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गर्नुभएको थियो ।