गोरखापत्र अनलाइन
काठमाडौं, चैत १ गते । प्रेस काउन्सिल नेपालले आफ्नो त्रैमासिक प्रकाशन संहितालाई थप पठनीय बनाउने विषयमा लेखक तथा स्तम्भकारहरुसँग छलफल गरेको छ ।
काउन्सिलको कार्यालयमा आइतबार आयोजित ‘सहिता जर्नलका लेखकहरुसँग लेखन एवम् आचारसंहिताबारे छलफल’ कार्यक्रममा संहितालाई अझ पठनीय र सिर्जनात्मक बनाउने विषयमा सुझाव माग गरेको हो ।
सो अवसरमा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले काउन्सिलको त्रैमासिक प्रकाशन संहितालाई प्रभावकारी र पठनीय बनाउने प्रयासमा काउन्सिल रहेकाले सुझावका लागि छलफल आयोजना गरिएको बताउनुभयो ।
प्रेसको विश्वसनीयता कायम गर्नुपर्ने विषयमा काउन्सिलको ध्यान केन्द्रित रहेको बताउँदै उहाँले संहितालाई विश्वसनीय र पठनीय बनाउने काममा संयुक्त प्रयासको खाँचो रहेको औल्याउनुभयो ।
काउन्सिल सञ्चालक समिति सदस्य निमा काफ्लेको अध्यक्षतामा भएको छलफलमा काउन्सिल सदस्य सन्तराम विडारी, नहकुल अर्यालले संहितालाई पठनीय बनाउन लेखक तथा पाठकको रचनात्मक सुझाव र प्रायसको खाँचो रहेको बताउनुभयो ।
छलफलमा लेखकहरु लक्ष्मीधर गुरागाइँ, लक्की चौधरी, सुनिल पौडेल, विमला तुम्खेवा, रुद्र खड्का, सीता न्यौपाने, यम विरही, पुकार तिमिल्सिना लगायतले सुझाव दिनुभएको थियो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालले सहजीकरण गर्नुभएको थियो ।