• १ चैत २०८२, आइतबार

पाथीभरा मन्दिरको सुन-चाँदी पगालेर एक ढिक्का गरिने

blog

इलामको रोङ गाउँपालिका ३ मा रहेको सानो पाथीभरा मन्दिरमा दाताले चढाएको सुन–चाँदी यकिन गरी जोखेर पगाल्ने काम गरीदै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), चैत १ गते । इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा अवस्थित सानो पाथीभरा मन्दिरमा दाताले चढाएको भेटी वापतको सुन–चाँदी पगालेर एक ढिक्का गर्ने काम भइरहेको छ । 

गाउँपालिकाले मन्दिरलाई पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन बनाएर २०७९ सालमा गाउँपालिकाको स्वामित्वमा ल्याएदेखि यता मन्दिरमा जम्मा भएको सुन–चाँदी  गाउँपालिकामा सरोकारवालाको रोवहरमा पगालेर एक ढिक्का गर्ने काम भइरहेको हो । 

गाउँपालिकाले २०७९ सालमा कार्यविधि बनाएर मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएर पाथीभरा विकास समिति गठन गरेको थियो । समितिले काम थाले यताको मन्दिरमा दाताले चढाएको सुन–चाँदी पालिकाका जनप्रतिनिधि, नापतौल विभाग, सुन–चाँदी व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रहरी, पाथीभरा बिकास समिति र सञ्चारकर्मीको रोवहरमा पगालेर एक ढिक्का गर्ने काम गरिरहेको छ । आज राती सम्ममा एक ढिक्का गरी जम्मा नगद, सुन र चाँदीको विवरण सार्वजनिक गर्ने पालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले दाताले चढाएको भेटीलाई पारदर्शी तरिकाले राख्नका लागि पगालेर एक ढिक्का गरी गाउँपालिकाको आम्दानीमा जम्मा गरिने जानकारी दिनुभयो । 

पालिकालले समितिलाई जिम्मा दिएपछि दैनिक रुपमा नगदको हिसाव राख्ने गरिएको पाथीभरा विकास समितिका कोषाध्यक्ष कृष्ण कुमारी भुजेलले जानकारी दिनुभयो । पालिकाले सुन तथा चाँदीको हिसाव भने दाताले चढाएको दिनको जम्मा गरी दैनिक रुपमा पोको पारेर मिति सहित सिल गरेर राख्ने व्यवस्था गरेको छ । जम्मा भएका सुन तथा चाँदीको सबै पक्ष बसेर रुजु गरी पगाल्ने काम गरी एक ढिक्का गरीएको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष स्याङबोले मन्दिरमा जम्मा भइ आएको सुन तथा चाँदी पगालेर एक ढिक्का गरीसकेपछि तत्कालका लागि गाउँपालिकाको आम्दानीमा बाध्ने र कार्यापालिकाले निर्णय गरी के गर्ने भन्ने टुङ्गोमा पुग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी पारदर्शी भएर चल्न खोजेका हौँ, हाम्रो कार्यकालमा सुन–चाँदी बिक्री गरीहाल्ने भन्ने छैन, कार्यपालिका बैठकले केहि निर्णय गर्छौं ।’

पालिकाले मन्दिरमा जम्मा हुने भेटीलाई व्यवस्थित गर्नका लागि दैनिक हिसाव राख्ने गरी सफ्टवेयर निर्माणको काम समेत गरिरहेको छ । 

२०७९ अघि पाथीभरा मन्दिरमा रहेको पुरानो समितिले काम गर्दा मन्दिरको भेटीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियार र जिल्ला प्रशासन कार्यालयले छानविन गर्दा अनियमितता भएको ठहर गरेपछि हिनामिना भएको रकम असुल उपर गर्न निर्देशन दिएको थियो । उक्त हिनामिना भएको रकम भने हाल सम्म पुरानो समितिले बुझाइ सकेको छैन । 

उक्त समयको जिन्सी समेत हालसम्म पालिकामा पुरानो समितिले बुझाएको छैन । मन्दिरमा स्वदेश तथा बिदेशका दर्शनार्थी विभिन्न भाकल पुरा हुने विश्वासका साथ आउने गरेका छन् ।