• १ चैत २०८२, आइतबार

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारले ग्रहण गर्ने

मन्त्रिपरिषद् निर्णय : गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

blog

गृहमन्त्री ओमप्रकाश अर्याल ।

काठमाडौँ, चैत १ गते । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यमा मनोनयनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका अर्यालले सो जानकारी गराउनुभयो ।

उहाँका अनुसार बैठकले जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंश छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । बैठकले जलवायु कार्यका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता अर्यालले भन्नुभयो, “भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ । साथै, मलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।”

यसैगरी मध्यपूर्वमा बढ्दो तनावका कारण प्रभावित नेपाली नागरिकको उद्धार तथा व्यवस्थापनका लागि विभिन्न देशका दूतावासमार्फत आवश्यक समन्वय गर्ने निर्णय पनि सरकारले गरेको छ ।