• १ चैत २०८२, आइतबार

ईनिशा हत्याका दोषीलाई कानुनी दायरामा ल्याइनेछ : गृहमन्त्री अर्याल

blog

लक्ष्मण दर्नाल

काठमाडौँ, चैत १ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले बलात्कारपछि हत्या भएकी सुर्खेतकी ईनिशा विकको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याने बताउनुभएको छ । आइतबार गृहमन्त्रालयमा नेपाल दलित मुक्ति मोर्चाको ज्ञापन पत्र बुझ्दै उहाँले कुनै प्रकारका आपराधिक घटना र गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागिको पनि बताउनुभयो । 

गृहमन्त्री अर्यालले दण्डहीनताको अन्त्यका लागि पनि अपराधिक गतिविधिमा लाग्ने दोषीलाई कानुनी दायरमा ल्याउनुको विकल्प नभएको बताउनुभयो । मोर्चाले बालिका ईनिशा वि.क हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भन्दै ज्ञापन पत्र बुझाएको छ । 

माइतीघर मण्डलामा विरोध प्रर्दशनपछि मोर्चामा आवद्ध दलित आन्दोलनका नेताहरु गृममन्त्री अर्याललाई ज्ञापन पत्र बुझाउनु जानु भएको थियो । घटना लगत्तै काठमाडौँ, पोखरा, सुर्खेत, बुटवल, नेपालगञ्ज जस्ता सहरहरुमा दलित संघसंस्थाले न्यायका लागि दैनिक आन्दोलन गरिरहेका छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ स्थायी घर भई हाल विरेन्द्रनगर-१ मा बसेर स्थानीय उषा बालबाटिका स्कुलमा ११ मा अध्ययनरत १६ वर्षीय वि.कको फागुन २३ गते बलात्कारपछि हत्या भएको भन्दै पीडित परिवारले उजुरी दिएको छ। 

विकलाई विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो । मोर्चाका अध्यक्ष दलजीत श्रीपाइलीले भन्नुभयो “समग्र घटनाको प्रकृति हेर्दा बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिन्छ । दोषीलाई कारबाहीको माग गर्दछौं ।” 

जिल्ला प्रहरीले कार्यालय सुर्खेतले अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता एवं डिइसपी मोहनजंग बुढथापाले भन्नुभयो, “पक्राउ परेका चार जनाको बयान लिने काम भइरहेको छ । पोष्टमार्टमको रिर्पोटको थप अनुसधान गर्न भिसेराको लागि काठमाडौँ पठाएको छ । अनुसन्धान प्रमाण संकलनको काम भइरहेको छ ।”    

विकको लाश फागुन २३ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।