नवराज नेपाली
बागलुङ (गलकोट), चैत २ गते । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका ६८ वर्षीय शेरबहादुर गुरुङ फुर्सद मिल्यो कि डोको बुन्न बस्नुहुन्छ। डोको बुन्ने सिप उहाँका लागि अहिले पनि राम्रो आम्दानीको स्रोत बनेको छ।
युवा अवस्थामै डोको बुन्न सिक्नुभएका गुरुङले त्यही सिपलाई जीवनयापनको आधार बनाउँदै आउनुभएको छ। उहाँ भन्नुहुन्छ, “बिहे गरेपछि बा–आमाबाट छुट्टिएँ। हातमा कुनै सिप थिएन। गाउँकै एक जनाबाट डोको बुन्न सिकेँ, त्यही सिप अहिले परिवार पाल्ने आधार बनेको छ।”
युवा अवस्थासम्म उहाँ सिकर्मी र डकर्मीको काम पनि गर्नुहुन्थ्यो। गाउँघरमा घरगोठ बनाउन जाने र कामबाट फर्किएपछि चोयाको डोको बुन्ने गर्नुहुन्थ्यो।
उहाँले सम्झनुभयो, “दिनभर बाहिरको काम गर्थें, साँझ फर्किएपछि डोको बुन्थें। यही गरेर अहिलेसम्म जीवन चलिरहेको छ।”
गुरुङले वर्षमा करिब १५० वटा डोको बिक्री गर्ने बताउनुभयो। “डोको राम्रै बिक्री भइरहेको छ, गाउँमै बिक्री हुन्छ,” उहाँले भन्नुभयो। “डोकोको मूल्य प्रयोगअनुसार फरक हुन्छ। मल बोक्ने डोको तीन सय, घाँस काट्ने चार सय र पस्र्यौला सोर्न प्रयोग हुने डोको पाँच सय रुपैयाँसम्म पर्छ।”
डोको बिक्री मात्र होइन, गुरुङले राँगो र भैँसी पनि पाल्नुभएको छ। पशुपालन पनि उहाँको अर्को आम्दानीको स्रोत बनेको छ। “अहिले मेरा दुई वटा राँगो र तीन वटा भैँसी छन्,” गुरुङले भन्नुभयो, “यसबाट पनि राम्रो आम्दानी भइरहेको छ।”
उहाँका अनुसार गाउँघरमा राँगो लगेर गाईभैँसीलाई बिउ लगाउँदा घर वरिपरि भए चार सय रुपैयाँ र टाढा भए पाँच सय रुपियाँसम्म पाइन्छ। त्यसबाहेक एक माना घिउ पनि ल्याउने चलन छ।
गुरुङका अनुसार डोको बुन्ने जस्ता गाउँघरका परम्परागत सिप सिक्न नयाँ पुस्ताले खासै रुचि देखाउँदैन। “यस्ता परम्परागत सिप पनि राम्रो आम्दानीको स्रोत हुन सक्छन्,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताले सिके राम्रो हुन्थ्यो।”
गुरुङको संयुक्त परिवार छ। उहाँसहित श्रीमती, छोरा, बुहारी र नातिनातिनासहित करिब १० जना सँगै बस्नुहुन्छ। परिवारका केही सदस्य पोखरा र काठमाडौँमा बसोबास गर्छन् भने दुई जना छोरा विदेशमा छन्।
गुरुङको मेहनतबारे वडा अध्यक्ष कृष्णबहादुर भुजेलले उहाँको परिवार गाउँमै रहेर इमान्दारीका साथ परिश्रम गर्ने उदाहरणीय परिवार भएको बताउनुभयो।
“उहाँहरू असाध्यै मेहनती हुनुहुन्छ,” भुजेलले भन्नुभयो, “डोको बुन्ने, राँगो–भैँसी पाल्ने र कृषि गर्ने काम गर्दै आफ्नो मेहनत र सिपकै भरमा ठुलो परिवार राम्रोसँग चलाइरहनुभएको छ।”