• ६ वैशाख २०८३, आइतबार

मातृभूमिप्रतिको दायित्व

blog

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।

  जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।।  

– वाल्मीकि रामायण

रोजगारी, अध्ययन, व्यापारलगायत विविध कार्यका लागि नेपाली विश्वभर छरिएर बसेका छन् । जहाँ बसे पनि नेपालीका लागि मातृभूमि नेपाल प्राणभन्दा प्यारो छ । कहिल्यै पराधीन नभएर स्वतन्त्र रूपले पहिचान बनाएको यो मुलुक सुन्दर छ । हिमाल, पहाड र तराइले बनेको नेपाल विभिन्न जातजाति, धर्म, संस्कृति, परम्पराले धनी छ । प्राकृतिक स्रोतको पनि कमी छैन । अहिलेसम्म मुलुक बनाउन सक्ने कुशल व्यवस्थापकको कमीले जनअपेक्षित विकास र समृद्धि हासिल गर्न नसकिएको हो । यो कमी पनि अब पूरा हुँदै छ । मुलुक हाँक्ने जिम्मेवारी अब युवाको काँधमा आएको छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेको छ । सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मुलुकको इतिहासमै कान्छो प्रधानमन्त्री बन्नुहुने भएको छ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो मतान्तरले हराएर झापा निर्वाचन क्षेत्र नं. ५ बाट सांसद निर्वाचित शाह युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्छ । उहाँलाई हेरेरै यो निर्वाचनमा रास्वपाले अकल्पनीय सफलता हात पारेको हो । यो सफलतालाई इमानदारीपूर्वक मुलुक र मुलुकवासीको हित, कल्याण, सुख, शान्ति र समृद्धिका लागि प्रयोग गर्न सकियो भने छिट्टै मुलुकले बेरोजगारी र गरिबीबाट मुक्ति पाउने छ ।  

विश्वभर छरिएर काम गर्दै आएका गैरआवासीय नेपालीले अब बन्ने नयाँ सरकारसँग ठुलो अपेक्षासँगै नेपालमा ठुला लगानीको अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा सहभागी गैरआवासीय नेपालीले नयाँ बन्ने सरकारले सङ्घका अपेक्षा पूरा गर्दै नेपालमा भरपूर लगानीको अवसर प्राप्त हुने आशा गरेका हुन् । नेपालमा राजनीतिक अस्थिरताका कारण अहिलेसम्म कुनै पनि सरकारले पाँच वर्ष पूरा शासन गर्न पाएको छैन । यस्तो अवस्थामा ऐन, नियम र सरकार बारम्बार परिवर्तन हुँदा त्यसको असर लगानी र आर्थिक क्षेत्रमा परेको सर्वविदितै छ । रास्वपाको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष चल्न सक्ने गरी झन्डै दुई तिहाइ बहुमतसाथ आउनुले पनि विदेशमा रहेका नेपालीका लागि खुसीको विषय रहेको सम्मेलनमा सहभागी गैरआवासीय नेपालीले बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई नेपालको विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको प्रस्ट्याउनुभएको छ । उहाँले भन्नुभयो, “प्रवासमा रहेका नेपाली सांस्कृतिक दूत र जीवन्त सम्पर्क सूत्र हुन्, उनीहरूको अनुभव, सिप, अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल र पुँजी नेपालको औद्योगिक विकास, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण स्रोत हुन् भन्नेमा सरकार प्रस्ट छ ।” विदेशमा रहेका नेपालीको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा भित्र्याउन सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले नीतिगत र कार्यगत सुधारका धेरै काम गरेको छ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीलक्षित विभिन्न नयाँ कानुन निर्माण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयमा श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा स्थापना गरिएको छ । 

सरकारले पछिल्लो समय पश्चिम एसियालगायत विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वयुक्त अवस्थाप्रति सजग रहेर विदेशस्थित नेपाली नागरिकको सुरक्षाप्रति उपयुक्त कदम चालेको छ । नेपाल सरकारसहित सबै क्षेत्र मिलेर देश बनाउने सङ्कल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने छ । नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउने बौद्धिक, आर्थिक, शारीरिक र मानसिक क्षमता छ । नेपाल तपोभूमि, देवभूमि र सुन्दर भूमि हो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले सहकार्य गर्ने हो भने नेपाललाई संसारको सबैभन्दा समृद्ध, सबैभन्दा सभ्य, शान्त र सुन्दर देश बनाउन सकिन्छ । अहिले विदेशमा रहेका नेपालीले नेपालको कुल गार्हस्थ उत्पादनबराबरकै विप्रेषण पठाइरहेका छन् । त्यो रकम राष्ट्रनिर्माणमा लगानी हुन सकेमा मुलुकको अर्थतन्त्रलाई ठुलो आकार दिन लामो समय लाग्ने छैन । त्यसका लागि सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन छिटो बनाउनु पर्छ । नेपालमा लगानीको वातावरण बनाउन र कानुनी अड्चन तत्काल फुकाउनु पर्छ । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण सामूहिक लगानीमार्फत ठुला आयोजनामा लगाउन सकेमा रोजगारीका अवसर स्वदेशमै सिर्जना गर्न सकिने छ । नेपालमा जलविद्युत्, पर्यटन, प्रविधिमा ठुलो सम्भावना छ । विदेशमा रहेका ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्न ढिला गर्नु हुन्न ।