विजयकुमार साह
ढल्केवर, फागुन २५ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित न्यू कृष्णा फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब ६० लाख रुपियाँ मूल्य बराबरको फर्निचरका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताउनुभयो ।
उहाँका अनुसार बुधबार राति ९ बजे महेश शर्माले सञ्चालन गर्दैआएको न्यू कृष्णा फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट टिनले छाएको टहरा पूर्णरुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेशिन, काठ, र तयारी फर्निचर जलेको छ । फनिर्चर उद्योगमा लागेको आगो इलाका प्रहरी कार्यालय ढल्केवरको वारुणयन्त्र, श्रीनाथ गणका नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासीको सहयोगमा निभाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।