• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिक दाउपेच चलचित्र ‘छक्का पञ्जा–४’

blog

काठमाडौँ, फागुन २४ गते । पछिल्लो समय नेपाली चलचित्र उद्योगले निकै राम्रा चलचित्र दर्शकमाझ पस्कन थालेको छ । प्राविधिक हिसाबले नेपाली चलचित्रको स्तरमा निकै सुधार आएको अनुभव गर्न सकिन्छ तर चलचित्रको कथावस्तुमा भने अझै पनि आशा गरिएको जस्तो सुधार देखिँदैन । हालै प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–४’प्रति दर्शकको निकै ठूलो आशा थियो । दर्शकको आशा निराशामा बदलिएको छ । छक्का पञ्जाको तीनवटै सिक्वेल हेरेका दर्शकले ‘छक्का पञ्जा–४’ मा अझै सुधारको अपेक्षा गरेका थिए तर दर्शकले चलचित्रमा सोचेजस्तो सुधार पाएनन् । 

चलचित्र ‘छक्का पञ्जा–४’ को कथा द्विग्विजय (दीपकराज गिरी)को वरपर घुमेको छ । उनका बुवा निर्भय सिंह (नीर शाह) निष्पक्ष पार्टीका अध्यक्ष हुन्छन् । मिटरब्याजीका रूपले परिचित द्विग्विजय टोले गुन्डाका रूपमा परिचित हुन्छन् । उनलाई राजनीतिसँग खासै रुचि हुँदैन । सङ्घीय संसद्को चुनावको नजिकिँदै गर्दा निर्भय अचानक बिमारी हुन्छन् । उनी बोल्न सक्दैनन् र उनको शरीर पनि चल्दैन । केवल उनी साङ्केतिक भाषामा मात्र कुरा गर्न सक्छन् । यस्तो अवस्थामा चुनाव नजिकिँदै गर्दा टिकट कसलाई दिने भन्ने कुराको द्विविधा पर्छ ? फेरि यसको अधिकार निर्भयसँग मात्र हुन्छ । यता पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन् तर निर्भयले कसैमा पनि त्यस्तो क्षमता नदेखेपछि उनको सङ्केत आफ्नो छोरा द्विग्विजयतर्फ जान्छ । त्यसपछि द्विग्विजयको गुण्डे यात्रामा बिराम लाग्छ र सुरु हुन्छ राजनीतिक यात्रा । द्विग्विजयलाई चुनाव जसरी पनि जित्नु छ तर उनलाई राजनीतिको ‘र’ पनि थाहा छैन । द्विग्विजय सांसदको चुनाव लड्न गाउँ जान्छन् । त्यहाँ उनलाई चुनाव जिताउन उनको बाल्यकालका साथी बुद्धि (बुद्धि तामाङ) र सञ्जेल (केदार घिमिरे)ले साथ दिन्छन् । 

द्विग्विजय सांसद भएपछि झन् धेरै चर्चामा आउँछन् । भ्रष्ट कर्मचारी र समयमा काम नगर्नेहरूलाई पुरानै गुण्डे शैलीको कुटपिट गर्ने तरिकाले उनी चर्चामा हुन्छन् । चलचित्रमा रुक्मिणी सिंह (दीपाश्री निरौला) द्विग्विजयको असल श्रीमतीका रूपमा देखिएकी छिन् । उनी आफ्नो श्रीमान्भित्र केही अवगुण देख्दिनन् केवल गुण्डागर्दीबाहेक । उनी सधैँ भन्ने गर्छिन्, “उहाँ सबै कुरामा गुणवान् छ खाली एउटै गुण्डागर्दी त नराम्रो हो नि, त्यो पनि बिस्तारै हटिहाल्छ ।” 

एलिसा (वेनिशा हमाल) युट्युवर पत्रकारको भूमिकामा देखिएकी छिन् । जो सजिलै  दिग्विजयको पक्षमा उभिन्छिन् । उनी पैसा पाइन्छ भनेर दिग्विजयलाई राजनीतिमा जमाउन बेजोड तरिकाले लागि पर्छिन् तर एकदिन उनी नै द्विग्विजयसँग बदला लिन जस्तो सुकै कदम उठाउन पनि पछि पर्दिनन् । दीपक–दीपाका छोरा पात्र राज आचार्य पनि चलचित्रमा देखिएका छन् । यस्तै चलचित्र डीआईजी सुरेन्द्र राई (शिशिर वाङ्देल)को श्रीमतीको भूमिकामा लुनिभा तुलाधर र मलिना जोशीलाई दुई सौतेनी महिलाका रूपमा चित्रण गरिएको छ ।

चलचित्रका मुख्य पात्र दिग्विजयको भूमिका खासै नयाँ होइन । अघिल्ला सिरिजमा जस्तो यसमा पनि उनले आफूले चाहेको कुरा पाउन खासै मेहनत गर्नु पर्दैन । यसमा पनि उनी राजा नै हुन् । उनलाई सांसददेखि मन्त्री बन्न खासै ठूलो सङ्घर्ष गर्नु पर्दैन । अघिल्लाभन्दा यसमा उनको अभिनय केही फितलो हो कि जस्तो भान हुन्छ । चलचित्रले कथा राम्रो उठाउन खोजे पनि त्यसमा देखिने प्रस्तुति कथाअनुसार उठ्न सकेका छैनन् । युट्युवर एलिसाको भूमिकालाई चलचित्रमा खासै गहन रूपमा उठाइएको छैन । उनले गरेको युट्युवरको भूमिकालाई गलत रूपमा प्रस्तुत गर्न खोजिएको छ । सबै पत्रकार एकै दर्जाका हुँदैनन् भन्ने कुरा चलचित्रका निर्देशक हेमराज बीसीलाई थाहा छैन कि जस्तो लाग्यो । 

त्यस्तै चलचित्रमा लुनिभा र मलिनाको भूमिका केवल दुई सौतेनीबीचको झगडा देखाउन मात्र राखिएको हो कि जस्तो लाग्छ । दिग्विजयका छोरा हरेकृष्ण (राज आचार्य)लाई चलचित्रमा खासै स्पेस दिइएको पाइँदैन । उनको चरित्रबाट दर्शक खासै आकर्षित हुँदैनन् । यस पटक चलचित्रमा राजासँग साथीहरूको साथित्व अलि धेरै नै कम भएको हो कि भन्ने पनि भान हुन्छ । समग्रमा यस पटक दीपक–दीपाको चलचित्रमा धेरै कमजोरी देखिन्छन् । चलचित्रको कथा नै भद्रगोल किसिमको हुनु यसको ठूलो कमजोरी हो तर पनि मनोरञ्जनात्मक हिसाबले हेर्ने हो भने एक पटक चलचित्र हेरेर पैसा खेर गएको आभाष भने दर्शकमा पक्कै पर्दैन ।