अविनाश चौधरी
धनगढी, फागुन २३ गते। रङको पर्व होली कैलालीमा एक आपसमा खुशीयाली साटासाट गरेर धुमधामसँग मनाइएको छ।
मङ्गलबार एक अर्कालाई अबिर, रङ लगाएर उल्लासपूर्वक होली पर्व मनाइएको हो। बालबालिकादेखि युवायुवती, तन्नेरीलगायतले एक आपसमा खुशीयाली साटासाट गरेर उल्लासपूर्वक होली पर्व मनाएका छन्।
होलीको अवसरमा धनगढीस्थित उद्यानमा होली उत्सवको आयोजना गरिएको थियो। सो उत्सवमा सयौं युवायुवती रमाउँदे होली पर्व मनाएका छन्। उत्सवको क्रममा केहीबेर स्थिति असहज भए पनि प्रहरीले साम्य पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो।
होलीलाई लक्षित गरेर जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उहाँले बताउनुभयो। यसैगरी, जिल्लाभरी २८ वटा चेकपोष्टमार्फत चेकजाँच गरिएको छ। सो क्रममा सवारी डकुमेन्ट नबोकेर सवारी साधन चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको चन्दले बताउनुभयो। ‘कतिपयलाई ट्राफिक नियम अनुसार जरिवाना गरेर छोडिएको छ’, उहाँले भन्नुभयो।
शास्त्रानुसार असत्यमाथि सत्यको जित भएको खुशीयालीमा एक अर्कालाई रङ, अबिर दलेर खुशीयाली साटासाट गर्दै होली पर्व मनाउने चलन रहेको बताइन्छ। होलीलाई सद्भावको पर्वको रुपमा पनि मनाउने गरिन्छ।
यसैबीच, एक महिना आठ दिनसम्म होरी पर्व मनाउने राना थारु समुदायमा मङ्गलबारबाट ‘मरी होरी’ सुरु भएको छ। चीर दहनपछि ‘मरी होरी’ सुरु हुने गरेको सो समुदायका अगुवाले बताउने गरेका छन्। योभन्दा अगाडि राना समुदायले ‘जिन्दा होरी’ मनाउँदै आएको थियो। जिन्दा होरीको बेला राति होरी नाच नाचेर रमाउने गरेको राना थारु समुदायका बुद्धिजीवी नारायण रानाको भनाइ छ। ‘चीर दहनपछि मरी होरी सुरु हुन्छ र दिउँसो होरी नाच नाचिन्छ’, उहाँले भन्नुभयो।
कैलाली, कञ्चनपुरमा बसोवास गर्दै आएको राना थारु समुदायको होरी पर्व सबैभन्दा ठूलो पर्व हो। अरुको होली सोमबारबाट सकिए पनि राना थारुको होरी पर्व एक सातापछिमात्रै सकिनेछ। यसैगरी, राना थारुको होरी अरुको होलीभन्दा एक महिना अगाडिबाट सुरु हुने गर्दछ।