• ९ मंसिर २०८१, आइतबार

एक गिलास दूध

blog

कीर्तिपुर माध्यमिक विद्यालय त्यसबेला बाघभैरव मन्दिरको परिसरमा थियो । परिसरमा पश्चिम मोहडाका केही भवनहरू छन् । प्रवेशद्वारबाट छिर्नासाथ बायाँ आउने घर त्यहीँ रेखदेख गर्नेहरू बस्छन् । त्यसपछि देवघर हो, जहाँ इन्द्रायणी देवीको मूर्ति विराजमान छ । कीर्तिपुरको प्रसिद्ध इन्द्रायणी जात्रामा यही देवीलाई खटमा राखेर घुमाइन्छ । यसपछिको दुईतल्ले भवनमा दुई कोठा मात्रै छ । यसपछि मन्दिर परिसरबाट पश्चिमतिर निस्किँदाको सानो बाटो आउँछ । बाटोपछि भजन फल्चा आउँछ जहाँ बिहान र बेलुका स्थानीय मान्छेहरू नियमित रूपमा भजन गाउने गर्दछन् । त्यसमाथिको कोठामा कक्षा एकका विद्यार्थीहरूलाई पढाइन्छ । अघिल्लो भवनको भुइँतल्लामा भएको भ-याङले कक्षा २ सञ्चालित माथिल्लो कोठा मात्रै होइन, भजन फल्चामाथिको कक्षा कोठामा पनि पुगिन्छ । भजनफल्चा माथिको कोठामा कक्षा एक सञ्चालित छ । कक्षा एक त भुइँ तल्ला पनि हो तर त्यहाँ अलि कमजोर विद्यार्थीहरूलाई राखिने भएकाले ‘बागु क्लास’ अर्थात् ‘आधा क्लास’ भनेर खुबै हेपिन्थ्यो । भुइँ तल्लामा पढ्दापढ्दै अलि सुध्रिएकालाई अपगे्रड गरेर पुनः एक कक्षामा नै राख्नुप-यो भने भजन फल्चामाथिको कक्षामा राखिन्थ्यो । 

मेरो कक्षा भनेको भुइँतल्ला हो । एउटै भुइँ तल्लाको कक्षा १ मा मैले तीन शैक्षिक वर्ष बिताएँ । यसको अर्थ हो, त्यो बेला म निकै कमजोर, बेकार र हेपिएको विद्यार्थी थिएँ । भुइँ तल्लाको यो कोठामा सद्दे सुकुल ओछ्याएको कहिल्यै थाहा थिएन । अन्य कोठाहरूमा प्रयोग भएर धेरै बिग्रिसकेको र प्वाल परेका सुकुलहरू हाम्रो भागमा पर्दथ्यो । कक्षा कोठा प्रायः कोचाकोच नै हुन्थ्यो र प्वाल परेको ठाउँमा बस्नुको सोझो अर्थ हो, चिसो भुइँमा बस्नु । बसिन्थ्यो पनि । दक्षिण मोहडाको भवन (हाल भत्काइसकिएकोे) मा कक्षा तीनदेखि छ सम्म सञ्चालन हुन्थ्यो । चार कक्षादेखि मात्र बेन्चको व्यवस्था रहेछ । त्योभन्दा माथिल्ला कक्षाहरू बाहिरी गाउँस्थित विद्यालयकै अर्को ठाउँमा हुन्थ्यो । 

भुइँतल्लाको मेरो दोस्रो वर्ष (वि.सं. २०३५) मा एउटा अचम्म खालको गाइँगुइँ सुनियो तर केही बुझिनँ । तत्कालीन राजारानी वा युवराजको जन्मदिन अथवा प्रजातन्त्र वा संविधान दिवस, केको सन्दर्भमा हो कुन्नि, भोलिपल्टको दिनमा हामी साना साना विद्यार्थीहरूलाई दूध खुवाउने कार्यक्रम बनेको रहेछ । यो दूधको सूचनाले हल्लीखल्ली मच्चायो, सबै खुसी । 

सबैलाई दूध खुवाउने तर कति खुवाउने ? हामीलाई उत्सुकता जाग्यो । पेटभरि खान पाउने हो कि ? दूध खानका लागि सबैले आआफ्नै गिलास लिएर आउनुपर्ने उर्दी पनि जारी भएको थियो । कति दूध खान पाउने भन्ने कुरा आफूले लिएर गएको गिलास कत्रो छ भन्ने कुरामा भरपर्दो रहेछ । गिलास नै लिएर आउनुपर्छ, अरू भाँडा लिएर आयो भने दूध नखुवाउने पनि भन्यो । 

ठूलो गिलासको व्यवस्था गरिदिन घरघरमा टेन्सन भयो होला । सिसाको गिलास दिएर पठायो भने फुटालेर आउलान भन्ने चिन्ता, स्टिलको गिलास चाहियो । सानो स्टिलको गिलासमा थोरै मात्र दूध अट्ने । ठूलो स्टिलको गिलास हामीकहाँ थिएन । तर कहीँबाट ठूलो स्टिल गिलासको व्यवस्था भने भयो । 

त्यो रात निद्रा लागेन । एक गिलास दूध खान पाउने कार्यक्रमले ठूलै उत्साह जगाइदिएको थियो । दूधको स्वाद मुखमा मज्जाले नाच्न आइरहेको थियो ।  दूधको स्वाद थाहा नपाएको कहाँ हो र ? पानी मिसाएको पातलो दूध मात्रै होइन, बाक्लो दूध पनि खाएको अनुभव छ । बाक्लो दूध नै खुवाउने भनिएको हो । सपनामा पनि एक गिलास दूध खाएकै पो देखेँ कि ? यकिन भएन त भएन तर यति सम्झना छ, बिहान निद्रा खुल्न पाएको थिएन, स्कुल जान हतार भयो ।

स्कुल बिहान १० बजेदेखि लाग्ने भए पनि नौ बज्नुअघि नै पुगिसक्नु पर्दथ्यो । नत्र बस्ने ठाउँ पाइदैनथ्यौँ । ठाउँ लिन किताब वा कापी जे छ त्यो एउटा हाल्दिए पुग्ने । किताब त भन्नु मात्रै हो, अक्षरहरू छापिएको जुनसुकै किताब बोकेर गए पनि हुन्थ्यो । लेखिसकेर भरिएको कपीको केही पन्ना खाली छ भने त्यो पनि चल्थ्यो । तर दूध खाने दिनमा किताब कपी लानु नपर्ने रहेछ । गिलास मात्रै बोकेर कक्षा कोठामा पुग्यौँ । अरू दिनमा भए बाहिर खेल्न जान्थ्यौँ तर त्यो दिन नौ बज्नुअगावै दूध खान पाउने कार्यक्रमका लागि कक्षा कोठामा कोचिएर बस्यौँ । अरू दिनमा भन्दा बढी विद्यार्थीहरूको उपस्थिति थियो । अरू बेला पढ्न नआउने वा अरू नै स्कुलका विद्यार्थीहरू पनि त्यो दिन आएको हो कि जस्तो लाग्छ । 

कति बेला हो कुन्नि, दूध खुवाउने यहाँ होइन बाहिरी गाउँको स्कुलमा भन्ने खबर आयो । त्यो बेला अरू बच्चाहरूलाई कता लाँदैछन् भन्ने थाहा नभए पनि मलाई राम्रैसँग थाहा थियो किनभने त्यो हाम्रै टोल हो । 

बाघभैरव मन्दिर परिसरदेखि हामी सबैलाई लहरै राखेर हिँडाइयो । मन्दिर परिसरको दक्षिणस्थित मूलढोकाबाट निकालेर हामीलाई देवपोखरीको पश्चिम किनाराको बाटोबाट हिँडाएर पोखरीको दक्षिण–पश्चिम कुनाबाट तल झर्ने बाटोमा हिँडाइयो । ढुङ्गाले छापेको पालिफल टोलको त्यो ओरालो झारे । यो उकालो–ओरालो मेरो दैनिक बाटो हो । ओरालोमा अरू बेला भए बेस्सरी कुदिन्थ्यो । दुई हात फैलाएर आ... गर्दै आवाज निकालेर कुद्नुको मज्जा बेग्लै नि । तर त्यो दिन निकै संयमित र आज्ञाकारी भइयो । त्यहाँबाट कुतुझोल टोल पुगिन्छ । त्यहाँबाट पनि सिधै खासीबजार पु¥याइयो । 

त्यो बेलासम्म कीर्तिपुरको केन्द्र भन्नु खासीबजार नै थियो । खासीबजारमा प्रहरी चौकी एउटा छ । कीर्तिपुरमा रहेको सबैभन्दा ठूलो सरकारी कार्यालय भन्नु यही प्रहरी चौकी थियो । चौकीअगाडि खुल्ला स्थल जहाँ मान्छेहरू भेटघाट गर्ने, घाम ताप्ने आदि गर्थे । यहाँ केही ससाना मन्दिर र देवताका मूर्तिहरू पनि छन् । ‘खाःसि पोखरी’ त भइहाल्यो । पोखरीको दक्षिण ठूलो चौडाको बाटो छ । बाटोको दक्षिण किनारमा त्यस्तै दस बाह्र घरहरू होलान् । यी घरहरूको लहरलाई काटेर धलपा जाने सानो बाटो सुरु हुन्छ र फेरि घरहरूको लहर सुरु हुन्छ । बाटोको बायाँ पोखरीको छेउमा पादु टोल जाने सानो बाटो र त्यसपछि साझा भवन ठडिएको छ । भवनको आडैमा ‘मूगलछेँ’ जाने बाटो आउँछ । बाटोको यो नक्सालाई शब्दबाट यरी भनुँ, माथि ‘म्वाःनः टोल’ बाट ‘कुसितंचा’ भन्ने खुड्किलाहरू भई झर्दा दायाँतिर ‘खिखांमुगः’ भनिने सार्वजनिक र खुला शौच गर्ने ठाउँ आउँछ । त्यता नलागी सिधै झर्दा अर्को खुड्किला सुरु हुन्छ । खिखांमुगःको फोहर बगाएर ल्याउने भएर होला, यो खुड्किलाहरूको नाम ‘खिखांमुगःतं’ रहेछ । हामी ससानो छँदा हामीलाई यतै शौच गराइन्थ्यो । ‘खिखांमुगःतं’ अर्थात् ढुङ्गाका फराकिला  खुडकिलाहरूपछि चौबाटो आउँछ । दायाँतिर लाग्दा पादुटोल पुगिन्छ भने बायाँतिर मुगलछेँ । हाम्रो घर मुगलछेँमा नै हो । मुगलछेँलाई बाहिगां पनि भनिन्छ र मलाई मामाघरमा ‘बाहिगां बौचा’ अर्थात् बाहिरी गाउँको बाबु भनेर बोलाइन्थ्यो । यो चौबाटोबाट सिधै दक्षिण लाग्योे खासीबजार जोडिन्छ । अझ अगाडि बढ्यो भने अघि उल्लेख गरेको बाटो हुँदै ‘धलपा’ पुगिने हो । खासी बजार जाडिने बाटोको बायाँ राँगो राख्ने टहरा छ । कीर्तिपुरमा त्यति बेला राँगाको मासु यहीँबाट आपूर्ति हुन्थ्यो । त्यसपछि तीनवटा घर आउँछ अनि सानो बारी । यो बारी हाम्रै हो । बारिपछि पुनः घर आउँछ । पहिलो घरको भुइँ तल्लामा बहाल लिई ‘डे«स टेलर्स’ नामको साइनबोर्ड झुन्ड्याएर बाबाले एउटा टेलरिङ चलाउनुभएको थियो । यही भएर खासी बजार मेरो आफ्नै ठाउँ हो । हामीलाई बाटोमा लहरै हिँडाइरहेको दृश्य बाटोमा आउनेहरू टक्क उभिएर हेरिरहेका थिए । घरघरका झ्यालहरू पनि खाली थिएन, हामीलाई नै बडो उत्सुकतापूर्व हेरिरहेका आँखाहरू थियो । टेलरिङ पसलबाट बुबा,  आमा र अरूले पनि हेरिरहेका थिए । मलाई सम्झना छ, बुबाले मलाई नदेखिउनु भन्ने चाहेको, लाजले हो अथवा जानु पर्दैन भनेर रोकिदिनु हुन्छ कि भन्ने डरले त्यो चाहिँ बिर्सें । 

खासीबजारपछि ‘कुनचोक’ भन्ने सानो ठाउँ आउँछ । चिलंचोबाट झरेको बाटोसम्म मात्रै हो यसको भूगोल । खासीबजारको बाटो सिधै अगाडि बढ्यो भने नयाँ बजार आउँछ । कीर्तिपुरको चक्रपथ भन्नु यही बाटो हो । चिलंचोबाट झरेको बाटोले चक्रपथलाई काटेर केही मिटर मात्रै अगाडि बढेपछि कीर्तिपुर माध्यमिक विद्यालयको प्रवेशद्वारमा पुगिन्छ । 

हाम्रो विद्यालयको प्रवेशद्वारभित्र हामी हुलियौँ । विद्यालयको खुल्ला प्राङ्गणको पश्चिम र उत्तर मोहडामा दुई तल्ले भवन छ । ठूलो कक्षा र आफूभन्दा ठूलाहरू पढ्ने ठाउँ भएर होला हामीलाई यो ठाउँ विशिष्ट नै लाग्थ्यो । हामीलाई कहाँ राख्ने भन्ने सम्बन्धमा त्यहाँ अलि अलमल भएको रहेछ । त्यहाँ भलिबल  खेल्ने चाँजोपाँजो भइरहेको थियो । अर्को कुनामा हाइजम्प, लमजम्प हुँदै होला । थुप्रै गतिविधि भइरहेको थियो । केहीबेर बाहिरै राखे । घाम थियो । जाडो महिना भएकाले होला, घाम प्यारो नै थियो । पछि हामीलाई एउटा कोठामा लगेर थुने । 

कोठामा लगेको दूध खुवाउन भनेर हो । तर त्यहाँ एक थोपा दूध देखेको होइन । ल्याउँछ होला भन्ठानेको, धेरै बेरसम्म पनि ल्याएकै होइन । हामी अबोध बालबालिका के जानौँ ? दाइहरू केही जान्नुहुन्थ्यो । बेलाबेलामा हामीलाई हेर्न आउनुहुन्थ्यो । हामीले झ्यालबाट देख्यौँ, एक जना सर दूधकै बारेमा कुरा गरिरहेको । कान ठाडो भइहाल्यो । दूध बोकेर ल्याउन सक्ने हट्टाकट्टा मान्छेको खोजी भइरहेको थियो । कसलाई लगे, थाहा छैन, दाइ उमेरको कसैलाई लगे होलान् । हामी पर्खेरै बस्यौँ । 

अरू बेला भए हाम्रो हाफ टाइमको घन्टी बजिसक्थ्यो । हाफ टाइम भनेको खाजा खाने समय हो । यति बेला सबै विद्यार्थी घरघरमा जाने र खाजा खाएर फेरि स्कुल आउने हो । सायद हामीलाई भोक लागिसकेको थियो । जिउ पनि गलिसकेको थियो । तर हाम्रो ध्याउन्न एक गिलास दूधमा थियो । हामीलाई खुवाउने भनेको दूध ल्याइपु¥याएको वा ल्याएकै थिएन, थाहा त भएन तर हाम्रो हातमा खाली गिलास मात्रै थियो । गिलास मुखमा राखेर जे बोले पनि अलि ठूलो स्वर आउने भएर केही न केही आवाज निकालेर रमाइरहेका थियौँ । हामीबाट धेरै आवाज आयो भने बाहिर व्यबधान हुँदो हो, बेलाबेलामा ठूलो उमेरको विद्यार्थीलाई पठाएर थर्काउन लगाउँथे । हामी चुपचाप बस्थ्यौँ । 

डरले थरथर काम्थ्यौँ । हल्ला गर्नेलाई पिट्ने र केके गरी सास्ती दिने त दिनदिनै हेरिरहेकै कुरा हो । एक गिलास दूध खान भनेर बिहानैदेखि गएको, पिटाइ खाएर फर्कनु त भएन नि । हल्ला गरेको भनेर दण्डस्वरूप दूध नदिन पनि सक्ने आशङ्काले ज्ञानी भएर चुप लागेर बस्थ्यौँ । खचाखच भरिएको र झ्याल पनि थुनिएकाले अँध्यारो त थियो नै साथसाथै हावा पनि नचल्दा गर्मी हुन्थ्यो । ठूलाले थर्काउन आउँदा डरले सन्त्रासमय वातावरण हुन्थ्यो तर एक क्षणका लागि । हामी त केटाकेटी न प¥यौँ, त्यत्तिकै चुप लागेर कहाँ बस्न सकिन्छ र ? बिस्तारै चलमलाउन थाल्छौँ र कानेखुसी हुन थाल्छ । त्यही कानेखुसी फेरि बढ्दै ठूलो आवाज हुन्थ्यो । खाली गिलासमा मुख निकालेर ढ्वाङ फुकेजस्तै बोलेर रमाउने उपक्रम फेरि सुरु हुन्थ्यो । फेरि गाली खान्थ्यौँे । यो क्रम चल्दै रहन्थ्यो ।  

दूध किन नल्याइएको होला ? केटाकेटीहरू भोक लाग्यो भनेर रुने गर्छन् । तर हामी रुने अवस्थामा थिएनौँ । खेल्न पाएपछि भोक लाग्दैन । तर हामीलाई खेल्न दिइएको थिएन । एक गिलास दूधका लागि हामी रोएनौँ । खेलेर रमाएनौँ । घडीले कति बजायो कुन्नि, त्यो हामीलाई थाहा हुने कुरा भएन तर सम्झेअनुसार घाम पश्चिममा डुब्ने बेला भइसकेको थियो अर्थात् त्यस्तै चार पाँच बजिसकेको होला । 

स्थिति अब अलि अति नै भइसकेको थियो । 

झ्यालबाट यस्सो बाहिर हेर्न पाएको, मेरो आँखाले अलि पर हाम्रो टेलरिङमा काम गर्ने दाइलाई देखेँ । यताउति कसैलाई खोज्दै हुनुहुन्थ्यो । उहाँलाई दाइले देख्नुभयो होला र नजिक पुग्नु भएको पनि देखेँ । दुई जना केही कुरा गरेको मैले टाढाबाट हेरिरहेँ । दुवै जना हामीलाई राखेको ठाउँतिर आउनुभयो ।   

मलाई लिन आएको रहेछ ।  

ऊ बेला स्कुलमा हुने सानोतिनो गतिविधि पनि स्कुलबाहिर घरघरमा खबर पुगिसक्थ्यो । सबैको चासो हुन्थ्यो । त्यतिबेलासम्म पनि नफर्केको हुनाले बाबालाई के लाग्यो कुन्नि, छोरालाई लिन पठाएको रहेछ । 

दूध नखाई जाने ? मनमा कस्तो कस्तो भयो । साह्रै नरमाइलो लाग्यो । दूूध खान नपाउने भएँ ? त्यहीँ डाको छाडेर क्वाँक्वाँ रोउँजस्तो पनि लाग्यो । अरू कोही केटाकेटीलाई लिन पठाएको छैन । मलाई मात्र किन लिन पठाउनुपर्ने ? मेरो स्वतन्त्रता हनन भएको अनुभव पनि भयो । बुबाको कुरामा नाइँनास्ती गर्नु पनि भएन । खुसीमा अनेक कुरा किनिदिने बुबाले रिसाएको बेला के गर्नुहुन्छ मलाई राम्रैसँग थाहा थियो । लिन आएकोले भन्यो, ‘तिम्रो बुबाले भनेको, घरमा एक गिलास मात्रै होइन, दुई गिलास नै खुवाउने रे ।’

घरमा दूध बरोबर खाएकै हो । राम्रो आम्दानी भएको बेला अन्डा उसिनेर पनि खुवाउनुहुन्थ्यो । त्यस्तो फर्माइस गर्न पाउँदा बाबा खुबै रमाउनु हुन्थ्यो । तर बाल मस्तिष्क न प¥यो, स्कुलको दूध अरूले खान पाउने भए भनेर अलि इष्र्या र डाह पनि लाग्यो । म र दाइ स्कुलबाट निस्क्यौँ । 

घरमा दुई गिलास दूध खुवाउने भनेको तर त्यो दिन होइन, अरू नै कुनै दिन खुवाउने पो भन्नुभयो । त्यो दिनको दूध, खास्साको दूध भइदियो ।