• १२ पुस २०८१, शुक्रबार

पुस्तक प्रदर्शनीमा जाँदा

blog

तेस्रो त्रैमासिक परीक्षा सकिएयो । परीक्षापछि पुस १३ देखि माघ १ गतेसम्म जाडो बिदा भयो । जाडो बिदामा के के गर्ने भनेर मैले योजना बनाएँ । 

त्यहीअनुसार गृहकार्य र योजना तयार गरेँ । एक दिन बाबा, आमा र दादाहरूसँग त्रिभुवन विश्वविद्यालयमा घुम्न गएँ । त्यहाँ क्रिकेट र ब्याडमिन्टन खेलेर रमाइलो गरियो । 

मुना मासिकमा मेरा दुई लेख प्रकाशित भएको थियो । एउटाको शीर्षक ‘मलाई मनपर्ने फिल्म लगान’ र अर्काको ‘मैले बुझेको मुनामदन’ थियो । म तिनै लेखको पारिश्रमिक लिन मुनाको कार्यालयमा गएँ । एउटा लेखको पारिश्रमिक पाउने समय अवधि कटेका कारण एउटाको मात्र पाएँ । एउटा लेखको आठ सय पाइने रहेछ । लेखको पैसा पाउँदा खुसीको सीमा नै रहेन । पहिलो पटक पाएको त्यो पैसाबाट मैले एक÷एक सय बाबा, आमा र हजुरबुवालाई दिने र बाँकी पाँच सयको पुस्तक किन्ने योजना बनाएँ । 

विद्यार्थीहरूको जाडो बिदालाई हेरेर साझा प्रकाशनले पुस १७ देखि ३० गतेसम्म पुस्तक प्रदर्शनी राखेको रहेछ । यसको जानकारी पाएपछि म पुस २९ गते बाबा, हजुरबुवा र दादासँग प्रदर्शनीमा गएँ । विभिन्न विधाका धेरै पुस्तक एकै ठाउँमा पाइने र मूल्य पनि सस्तो हुने हुँदा मलाई पुस्तक प्रदर्शनी मनपर्छ । मजस्ता विद्यार्थीलाई सस्तोमा पुस्तक किन्न र सङ्ग्रह गर्न यो अवसर पनि भयो । 

प्रदर्शनी साझाको कार्यालय रहेको स्थान पुल्चोकमा रहेछ । त्यहाँ जाँदा निकै रमाइलो र  नयाँ अनुभव पनि भयो । त्यहाँ रहेका पुस्तकहरू हामीले दोहो-याएर हे-यौँ । त्यहाँ कथा, कविता, उपन्यास, खण्डकाव्य, महाकाव्य, शव्दकोश, जीवनी, इतिहास, राजनीतिशास्त्र, दर्शन, समाजशास्त्रजस्ता पुस्तकहरू थिए । त्यहाँ मैले मुनामा प्रकाशित लेखबापत पाएको पैसाले केही पुस्तक किनेँ । जसमा एसियाली बाल कथा भाग–२, मावलीको यात्रा, नेपाली बाल शव्दकोश, मुनामदन, नेपाली कथा भाग–३, नेपाली दन्त्यकथा, नेपाली भाषा शिक्षण आदि थिए । बाबा र हजुरबुवाले पनि आफ्नो रुचिअनुसारका पुस्तकहरू किन्नुभयो । मलाई यस पुस्तक प्रदर्शनीमा जाँदा ज्ञानको पाठशाला र पुस्तकालयमा गएजस्तो लाग्यो । धेरै कुरा सिक्न र बुझ्न पाएँ । त्यसपछि म माघेसङ्क्रान्तिमा मामा घर गएँ । बाँकी गृहकार्य गर्दै किनेका पुस्तकहरू पढ्न थाले ।