• ८ मंसिर २०८१, शनिबार

होलीको रमाइलो

blog

भाइबहिनीहरू, फागु पर्व अर्थात् होली फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबारस्थित वसन्तपुरमा विधिवत् रूपमा चीर गाडेपछि सुरु भएको मानिन्छ । होली पर्व सांस्कृतिक महोत्सवका रूपमा मनाइने र शिशिर ऋतुको समाप्तिपछि वसन्त ऋतुको आगमनमा मानिसको मनभित्र उकुसमुकुस भएर रहेका कुरालाई बाहिर उजागर गराएर शीतलता अनुभव गर्ने मनोकाङ्क्षाका रूपमा पनि लिने गरिन्छ । 

यसरी वसन्त ऋतुको शुभारम्भसँगै प्रकृतिको सौन्दर्य र छटाबाट रङ्गीनमय बनेको होली पर्व सांस्कृतिक परम्पराअनुरूप फागुनपूर्व महाशिवरात्रि र फागुनपछि चैत्र नवरात्रि पर्ने हुँदा होली पर्वले शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउन थप ऊर्जा मिलेको छ । धार्मिक र सामाजिक पक्षलाई हेर्ने हो भने असत्यमाथि सत्यको विजय भएको खुसियालीमा मनाइने होली पर्वकै अवसरमा भगवान् विष्णुले पनि सत्ययुगमा मत्स्यावतार रूप धारण गरेको पौराणिक शास्त्रमा उल्लेख छ ।

तर यो होली पर्व किन र कसरी मनाउन थालियो भन्ने सन्दर्भमा विभिन्न पौराणिक रोचक प्रसङ्गहरू रहेको पाइन्छ । सत्ययुगमा हिरण्यकशिपु र उनका छोरा विष्णुभक्त प्रह्लाद शिवजीबाट आगोको रापले डढाउन नसक्ने वरदान पाएकी प्रह्लादकी फुपू होलिकाको आगोमा जलेर खरानी भएको र प्रह्लाद चाहिँ जिउँदै रहेको रोचक प्रसङ्गसँगै होली खेल्ने परम्परा चलेको कथन छ । 

होली पर्वका बेला जनकपुरमा रहेको मिथिलाधाम क्षेत्र राम जानकी मन्दिरमा फागुन शुक्ल सप्तमीका दिन राम र सीताका बीच होली खेलेको सम्झना गर्दै भव्य रूपमा होली पर्व मनाइन्छ । त्यस्तै उपत्यकाको भक्तपुरमा चाँगुनारायणको राधा र वंशगोपाल कृष्णको रथयात्रा गरेर खुसियालीका साथ उत्सवका रूपमा यो पर्व मनाउने गरिएको पाइन्छ । काठमाडौँमा भने होलीको मध्यरातमा गुरुमापा राक्षसीलाई भोज खुवाउने चलन यथावत् रहेको छ । ललितपुरमा मनाइने होली पर्वले भने आफ्नो छुट्टै मौलिक पहिचान झल्काएको देखिन्छ । यसरी नेपालको सांस्कृतिक महìव बोकेको होली अर्थात् फागु पर्व उपत्यकाको वसन्तपुरमा बेलुका गाडिएको चीरलाई विधिवत् रूपमा पूर्णिमाको दिन टुँडिखेलमा लगेर जलाएपछि फागु पर्व सकिन्छ ।