• ६ जेठ २०८१, आइतबार

सङ्कटालाई यूक्यान र निलडेभिडको साथ

blog

सम्झौता कार्यक्रममा सहभागीहरु । तस्बिर : गोरखापत्र

काठमाडौँ, फागुन २० गते । शहीद स्मारक ‘ए’ डिभिजन फुटबल क्लब सङ्कटाले प्रायोजकको रूपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।

सङ्कटाले शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले हस्ताक्षर गर्नुभयो ।

सङ्कटाले यूक्यानसँग आधिकारिक खेल सामाग्री प्रायोजकको रूपमा सम्झौता गरेको हो । सो सम्झौता अनुसार यूक्यानले सङ्कटालाई वार्षिक रूपमा ६ देखि ७ लाख रुपियाँ बराबरको खेल सामाग्री प्रदान गर्नेछ । 

यसैगरी अध्यक्ष तुलाधर र निलडेभिड एकेडेमीका अनुराग कँडेलबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सङ्कटाले निलडेभिड एकेडेमीलाई स्टायलिङ पार्टनरको रूपमा सम्झौता गरेको हो ।

सो सम्झौता अनुसार एकेडेमीले सङ्कटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । यसैगरी सङ्कटाको जर्सीमा निलडेभिड एकेडेमीको लोगो अङ्कित हुनेछ ।

प्रायोजन सम्झौतामा अध्यक्ष तुलाधरले यस सत्रमा सङ्कटाले आफ्नो पुरानो गौरव फर्काउन र लिग उपाधि जित्ने लक्ष्यसहित तयार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कटाले यस सत्रको लिगका लागि दुई करोड ४० लाख बजेट छुट्याएको छ ।

यसपटक सङ्कटाले गत सत्रमा मच्छिन्द्र फुटबल क्लबलाई लिग उपाधि जित्न महत्त्वपूर्ण योगदान दिने सुनिल बल, मनिष डाँगीसहित आयुष घलानजस्ता घरेलु फुटबलका शीर्ष नामहरूलाई पनि टिममा भित्र्याएको छ । अध्यक्ष तुलाधरले अन्य खेलाडी भित्र्याउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । 

यस लिगका लागि प्रशिक्षण सल्यान खड्गी पनि सङ्कटामा फर्किनुभएको छ । सङ्कटा तीन पटक सहिद स्मारक ए डिभिजन लिग जितिसकेको क्लब हो । सङ्कटाले २०३६, २०४० र २०४२ मा शअिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो । सङ्कटाले आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ । 

सङ्कटा टोली 

टेकेन्द्र सिंह थापा (गोलरक्षक), निशान राना (गोलरक्षक), विष्णुकुमार केसी (गोलरक्षक), सन्दीप आले, एन्द्र थियरी वियिक वियिक, दीपक घिसिङ, रवि सिलवाल, निशान खड्का, ललित चौलागाईँ, सुनिल श्रेष्ठ, सुनिल बल, जुनियर, गणेश हमाल, दीपेन्द्र विके, अनिस महर्जन, कुलदीप कार्की, रासन पहारी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरजज्यू ठकुरी, नेल्सन र सरोज दाहाल ।