• २ जेठ २०८१, बुधबार

पानी नपर्दा सुक्खापन बढ्यो

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन १८ गते । सर्लाहीसहित मधेशका जिल्लामा पानी पर्न नसक्दा सुक्खापन बढ्दै गएको छ। यस क्षेत्रमा गत भदौदेखि पानी पर्न सकेको छैन। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्। 

विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी चुरेभेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारीमा हरियाली देखिए पनि उत्तरी भेगमा खेतीबारीका फाँट बाँझो छन्। हिउँदे वर्षा भए मधेशका किसानले बाँझो रहेका खेतबारी खनजोत गर्ने तयारी गरेका छन्। लालबन्दी नगरपालिका–१३, पत्थरकोटका स्थानीय पदमबहादुर थिङले यो वर्षको हिउँद पानी नपरी बित्दा किसान मारमा परेका बताउनुभयो। 

उहाँले फागुनमध्य भइसक्दा पनि एक झर हिउँदे वर्षा हुन नसक्दा खेतबारी बाझैँ राख्नुपरेको गुनासो गर्नुभयो। किसानले पानी परेपछि मकै रोप्नका लागि बारीमा मल छर्ने काम धमाधम गरिरहेका छन्। केही दिनदेखि मौसम धाम्मधुम्म भइरहँदा किसानको आँखा आकाशतिरै छ। यस्तै स्थानीय प्रशासनले खडेरी बढ्दै जाँदा आगलागीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। 

जिल्लामा जताततै खरका छानो भएका फुसका घर अत्यधिक रहेकाले यो समयमा ती घरहरूमा आगलागीको उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सचेत गराएको हो। पानी पर्न नसक्दा यहाँको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य कच्ची भित्री सडकमा अत्यधिक मात्रामा धुलो उड्दा जनजीवन प्रभावित बनिरहेको छ।