• ९ पुस २०८१, मङ्गलबार

ह्वाट्सएपको माध्यमबाट ठगी

blog

जनार्जन खत्री 

सर्लाही, फागुन १७ गते । सर्लाहीमा सामाजिक सञ्जालको माध्यमबाट मुद्रासम्बन्धी आपराधिक घटना बढ्दै गएको पाइएको छ। प्रहरीका अनुसार विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा मुद्रासम्बन्धी विभिन्न आपराधिक घटना बढ्न थालेको हो। मुद्रासम्बन्धी अपराध गरेको कसुरमा सर्लाही प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ। त्यस क्रममा केही नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो। उहाँका अनुसार भारतसँग सीमा जोडिएका विभिन्न नाकामा शृङ्खलाबद्ध रूपमा मुद्रासम्बन्धी ठगीका घटना हुँदै आएका छन्। 

सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत विभिन्न अफर पठाई मानिसलाई सम्पर्कमा ल्याएर त्यस्ता ठगी तथा मुद्रासम्बन्धी कसुरका आपराधिक षड्यन्त्र हुने गरेको पाइएको छ। एकको तीन अर्थात् तीन गुणा बढी पैसा दिन्छु भनी ह्वाट्सएपमा पैसाको फोटो तथा भिडियो पठाई लोभ लालचमा पारी आफ्नो अनुकूल तथा सुरक्षित स्थानमा बोलाएर योजनाबद्ध तरिकाले आपराधिक व्यक्तिले छापामार शैलीमा लुटपाट गर्ने गरेका पाइएको प्रहरीले जनाएको छ। 

जिल्लाका विभिन्न ठाउँमा पटकपटक एकै प्रकृतिका घटना दोहोरिँदै गएको भन्दै प्रहरीले त्यस्ता आपराधिक षड्यन्त्रबाट जोगिन नागरिकलाई सचेत गराएको छ। सर्लाही प्रहरीले मुद्रासम्बन्धी आपराधिक कसुरका केही प्रतिनिधिमूलक घटनासमेत सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको घटना विवरणअनुसार चार वर्षअघि  गोडैता नगरपालिका–३, मधुवनी गाउँमा तलमाथि सक्कली नेपाली रुपियाँ राखी बीचमा खाली कागज राखेर ठगी गरिएको थियो। त्यो ठगीमा संलग्न भारतको विहार सीतामढी ग्राम पञ्चायतका शत्रुधनकुमार भगतसहित दुई जनालाई त्यतिबेलै प्रहरीले पक्राउ गरेको थियो। 

त्यसको एक वर्षपछि मधुवनीबाटै पगला बाबा भन्ने भारतीय नागरिक मृत्युञ्जयकुमार सिंहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले एकको तीन दिन्छु भनी ४२ लाख ७५ हजार रुपियाँ ठगेका थिए। त्यसैगरी गत भदौ १७ गते गोडैता नगरपालिका–३ स्थित बगदहमा एक भारतीय गाडीलाई चेकजाँच गर्दा प्रहरीले नेपाली एक हजार दरको नोटको बीचमा सोही आकारको कागजको ६९ बन्डल फेला पारेको थियो। गएको पुस २९ गते सदरमुकाम मलङ्गवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट नक्कली एक हजार दरको एक लाख १५ हजार रुपियाँ नोट बरामद भएको थियो। 

आइतबार मात्रै मलङ्गवा नगरपालिका–९ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट विभिन्न आकारका नेपाली नोटहरूसँग मिल्ने लबरले बाँधेको कागजका ९९ बन्डल र पैसा आकारको कागज काट्ने मेसिनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ। प्रहरी उपरीक्षक सुवेदीले नागरिकको गुनासो र सूचनाका आधारमा शङ्कास्पद स्थानमा कडाइ गरी यस्ता अपराधका घटनामा संलग्न व्यक्तिको खोजी कार्यलाई तीव्र पारिएको बताउनुभयो।