• १३ मंसिर २०८१, बिहिबार

एमालेले तत्काल प्रदेश सरकार नछाड्ने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन १७ गते । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले)ले तत्काल सरकार नछाड्ने भएको छ। 

राष्ट्रपति निर्वाचन प्रकरणमा केन्द्रीय राजनीति पेचिलो बन्दै गए पनि प्रदेशमा दोस्रो ठूलो दल रहेको र नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा रहेको एमालेले सरकार तत्काल नछाड्ने भएको हो।

एमालेका तर्फबाट बागमती प्रदेश सरकारमा चार जना मन्त्री छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार बागमती प्रदेश सरकारबाट राजीनामासहित अलग हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रदेशको सत्ता समीकरण प्रभावित हुने आकलन गरिएको थियो। 

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले भने अहिले सरकार छोड्ने मनस्थितिमा आफूहरू नरहेको जानकारी दिनुभयो। सङ्घीय सरकारबाट एमाले मन्त्रीहरूले राजीनामासहित सरकारलाई दिएको समर्थन फिर्ता लिइएको र यस प्रदेशमा के हुन्छ भन्ने जिज्ञासामा तत्काल सरकार छाड्ने योजना नभएको उहाँले बताउनुभयो।

राप्रपाका तीन मन्त्रीले राजीनामासहित सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारका लागि आवश्यक बहुमत कायमै छ। राप्रपाका मन्त्रीहरू उद्धव थापा, डम्बरबहादुर तामाङ र राजु विष्टले पार्टीको केन्द्रीय नीतिअनुसार प्रदेश सरकारबाट राजीनामा दिनुभएको थियो। 

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ प्रदेश सभा सदस्य भए बहुमत पुग्नेछ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल गत पुसमा मुख्यमन्त्री बन्दा प्रदेश सभामा रहेका सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थन पाउनुभएको थियो।

सभामुखसहित १३ जना प्रदेश सभा सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिने निर्णयपछि पनि दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आवश्यक बहुमत मुख्यमन्त्री जम्कट्टेलसँग रहेको छ। 

उता राप्रपाले लिएको मन्त्रालयले राप्रपाका मन्त्रीहरूको राजीनामापछि मुख्यमन्त्री जम्कट्टेलले आफैँसँग राख्नुभएको छ। मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रपति निर्वाचनपछि मात्र रिक्त मन्त्रालयमा मन्त्रीहरू थप गर्नुहुने भएको छ।