• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपतिका आकाङ्क्षी पाँच, उम्मेदवार दुई

blog

काठमाडौँ, फागुन १४ गते । गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।

निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि ३ बजेभित्र दुई जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ। फागुन २५ गते हुने मतदानका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो।

आठ राजनीतिक दलको समर्थनमा ७८ वर्षीय पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको हो। नेम्वाङले उम्मेदवारी दर्ता गराउँदा नेकपा (एमाले)बाहेकको दलको प्रतिनिधित्व थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने राष्ट्रपति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिर्णीत छन्। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका दुवै जना प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पौडेल तनहुँ–१ बाट र ७० वर्षीय नेम्वाङ इलाम–२ बाट निर्वाचित हुनुहुन्छ।

नेपाली कांग्रेसका पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। पौडेललाई नेपाल समाजवादी पार्टीले पनि समर्थन गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जसपाका अशोक राई र जनमत पार्टीका अब्दुल खानको प्रस्ताव र लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका हितराज पाण्डेको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो। पौडेलले उम्मेदवारी दर्ता गराउनेक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ बानेश्वरस्थित ल्होत्से हल पुग्नुभएको थियो। 

नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएका नेम्वाङको प्रस्तावक र समर्थक बसेका सबैजना नेकपा (एमाले)बाट निर्वाचित सदस्य हुनुहुन्छ। नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ। त्यस्तै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा (पार्वती) र अमनकुमार मास्के नेम्वाङको समर्थक हुनुहुन्छ। 

दुवै उम्मेदवार पूर्वसभामुख

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख हुनुहुन्छ। २०५१ को मध्यावधि निर्वाचनपछिको प्रतिनिधि सभामा रामचन्द्र पौडेल सभामुखमा निर्वाचित हुनुभएको थियो। बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने पौडेल पहिलो सभामुख हुनुहुन्छ। नेकपा (एमाले)का चन्द्रप्रकाश (सीपी) मैनाली र उहाँबीच सभामुखमा प्रतिस्पर्धा भएको थियो। 

नेम्वाङ २०६२/६३ को आन्दोलनबाट पुनस्र्थापित प्रतिनिधि सभाबाट रूपान्तरित व्यवस्थापिका संसद्सम्म निरन्तर सभाध्यक्ष रहनुभयो। उहाँले २०६३ सालमा पुनस्र्थापित प्रतिनिधि सभामा सभामुख र अन्तरिम व्यवस्थापिका संसद् २०६४ मा सभामुखको जिम्मेवारी सम्हाल्नुभयो। यसैगरी २०६५ र २०७० मा संविधान सभा अध्यक्ष तथा व्यवस्थापिका संसद्को सभामुख हुनुभयो। संविधान जारी भएपछि रूपान्तरित व्यवस्थापिकाले सभामुख चयन नगरेसम्म उहाँले सभामुखको जिम्मेवारीसमेत लिनुभएको थियो। 

पाँच आकाङ्क्षी

राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउन पाँच जना आकाङ्क्षी पुग्नुभएको थियो। पाँचै जनाले मनोनयन दर्ता फाराम लगे पनि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भयो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेघराज आचार्य, राजीराय यादव र लक्ष्मी प्रसादले उम्मेदवारी दर्ता गराउने भन्दै मनोनयन फाराम लैजानुभएको थियो। तर प्रस्तावक र समर्थक नपाएपछि उहाँहरूको उम्मेदवारी दर्ता भएन। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन–२०७४ का अनुसार दुवै पदमा उम्मेदवारी दिन पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक हुन्छ। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दिँदा आवश्यक पर्ने प्रस्तावक र समर्थक भने ऐनबमोजिम आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा समाविष्ट ८८२ मतदातामध्येका व्यक्ति नै हुनुपर्छ। दुवै पदको मतदाता सङ्घीय संसद् वा प्रदेश सभाका सदस्य रहने व्यवस्था छ। 

प्रस्तावक र समर्थक नपाएकाले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेको आचार्यले बताउनुभयो। राजीराय यादव र लक्ष्मी प्रसादले पनि प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी दर्ता गराउन पाउनुभएन। निर्वाचन अधिकृतको कार्यालयकी प्रवक्ता अमृता भण्डारीले आचार्यको निवेदन रितपूर्वक नआएको र बाँकी दुई जनाले मनोनयन फारम लगे पनि दर्ता गराउन नआएको जानकारी दिनुभयो। 

दाबी विरोध आज

राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आइतबार दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ।