हरिकृष्ण र मलाई देख्नेबित्तिकै अमिरधनले भने, ‘कता हिँडेका हौ केटा हो ?’
मैले भनेँ, ‘काम खोज्न । खानै नपाएर मरिने भइयो यो कोरोना कहरमा ।’ उनले भने, ‘नागरिकता छैन तिमीहरूको ? अफिसै नगई महिना मर्नेबित्तिकै सरकारी भत्ता आउँछ नि । के गर्ने तिमीहरू यो अवस्थामा ब्ल्याक गर्न जान्दैनौँ । म त कोरोनाकै निहुँमा कृत्रिम अभाव देखाएर तेब्बर मोलमा सामान बेच्ने गर्छु । ठिकै छ । चलेकै छ ।’
मेरो मनमा आक्रोशको हुन्डरी चल्दै थियो, ‘कति परपीडक सोच होला ! कोरोना महामारीले दुनियाँ तहसनहस भएको छ । हाम्रो देश तथा समाज तहसनहस भएको छ । मान्छे भोकले मर्दै छन् । कति मान्छेको खुसी लुटिएको छ । अमिर भएर के गर्नु ! अलिकति मान्छे जस्तो व्यवहार नदेखाएपछि !’
हरिकृष्णले थपे, ‘आच्या अमिरधन बाजे, पापधर्मको पनि ख्याल राख्नुपर्छ नि !’
अमिरधनले भने, ‘तिमी किन जान्ने हुन्छौ ! सम्पत्ति भएपछि धर्म त्यत्तिकै किन्न पाइन्छ । मेरा लागि त कोरोना सम्पत्ति कमाउने अवसर हो ।’
केही दिनपछि उनी, उनकी श्रीमती र छोराछोरी एकैसाथ बिरामी भएको सुनेँ । मैले चिन्तित हुँदै म्यासेन्जरबाटै आरोग्यको कामना गरेँ ।
दुई चार दिनपछि हरिकृष्णलाई बाटैमा भेटेँ । मैले सोधेँ, ‘कहाँ गएर आयौ हरिकृष्ण ?’
हरिकृष्णले निन्याउरो अनुहार लाएर भने, ‘के गर्ने कोरोनाले कसैलाई छाड्ने भएन । छिमेकी भनेको मर्दाको मलामी बिहेको जन्ती भन्छन् । कोरोनाले अमिरधनलाई पनि लग्यो नि साथी !’
सिर्जनाकुञ्ज, खोटाङ ।